‘मनोबल कमजोर नबनाए कोरोनालाई जित्न सकिन्छ’

 चैत २८, २०७६ शुक्रबार १५:५२:३५ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ – ‘हामीे पूरा परिवार नै कोरोना भाइरससँग लडिरहेका छौँ । सुक्खा खोकी त अहिले पनि लागिरहेको छ । तर अब हामीले कोरोनालाई जितिसक्यौँ,’ अनिल सेढाईंले बिहीबार बेलायतबाट इमोमा कुरा गर्दै भन्नुभयो । उहाँ अहिले कोराना सङ्क्रमणबाट निको हुँदै जानुभएको छ । 

चितवनको राप्ती नगरपालिका वडा नम्बर २ घर भएर बेलायतमा बस्दै आउनुभएका ४५ वर्षीय अनिल, उहाँकी ३२ वर्षीया श्रीमती मीरा सेढाईं र ३० वर्षीय भाइ होमराज सेढाईं तीनै जना कोरोनासँगको लडाइँ जित्न सफल हुनुभएको छ ।

अहिले उहाँहरु सामान्य अवस्थामा फर्किएपनि खोकी भने तीनै जनालाई लागिरहेको छ । कोरोना सङ्क्रमित भएपछि होमराज ५ दिन अस्पताल बसेर घर फर्किनुभएको छ भने मीरा ८ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उच्च मनोबल चाहिन्छ  

कोरोना महामारीले  विश्वभरका मानिस त्रसित छन् । सामान्य रुघाखोकी लाग्दा पनि कोरोनाको आशङ्कामा आत्तिने धेरै छन् । यस्तो अवस्थामा रोग लागेर नभइ त्रासले धेरैजसो मानिस मानसिक समस्यामा परिरहेका छन् । कोरोना महामारी जित्नुभएका अनिल आत्मबलले कोरानालाई जित्नसकिने बताउनुहुन्छ । 

परिवारका तीनै जनाले युद्ध जितेकोजस्तो महसुस गरेको भन्दै उहाँले मनोबल कमजोर नपारी सुरक्षित रुपमा बसे कोरोना रोगबाट बच्न सकिने बताउनुभयो । 
कारोना लाग्यो अब मरिन्छ भन्दै मनोबल कमजोर बनाएको भए कोरोनासँगको लडाइँ जित्न न अनिलले सक्नुहुन्थ्यो न त उहाँकी  श्रीमती र भाइले ।

अनिलले नेपालमा रहेका देशबासीलाई आत्मबल कमजोर नपार्न बेलायतबाटै आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘श्रीमती र भाइ अस्पतालको बेडमा थिए । म घरमै थिएँ । तर हामीले हार खाएनौँ र त अहिले निको भएका छौँ । तपाईं पनि कोरानासँगको लडाइँ जित्न चाहनुहुन्छ भने मनोबल बढाउनुस् ।’

कसरी सर्यो ?  

कोरोना कहाँबाट कसरी सर्यो भन्नेमा अनिल अन्योलमा हुनुहुन्छ । करिब १३ वर्षदेखि बेलायत बस्दै आउनुभएका उहाँको परिवारले होटल व्यावसाय गरिरहेको छ । बेलायतमा रहेको कर्नवालमा उहाँको रेस्टुरेन्ट छ । 

बेलायत सरकारले आफ्ना नागरिकलाई कोरोनाबाट सुरक्षित राख्न मार्च १९ तारिखदेखि ‘लकडाउन’ गर्यो । अनिलले त्योभन्दा ४ दिनअघिदेखि नै रेस्टुरेन्ट बन्द गर्नुभएको थियो । रेस्टुरेन्ट बन्द गरेको दुई दिनमै अनिललाई ज्वरो आउन थाल्यो । सुरुमा बेस्सरी टाउको दुख्न थाल्यो । दुई हप्तासम्म उहाँले सिटामोल खानुभयो । 

अनिललाई ज्वरो आएको ६ दिनपछि उहाँका भाइ होमराज बिरामी पर्नुभयो । त्यसपछि उहाँकी श्रीमती मीरा बिरामी पर्नुभयो । होमराज र मीरालाई सास फेर्न गाह्रो भएपछि ९९९ नम्बरमा फोन गर्दा एम्बुलेन्स आयो र उहाँहरुलाई अस्पताल लग्यो । अस्पतालमा चेकजाँच गर्दा दुवै जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भयो । श्रीमती र भाइलाई कोरोना पुष्टि भएपछि अनिललाई आफू पनि सङ्क्रमित छु भन्ने थाहा भयो । 

अर्को दिन अनिललाई पनि अस्पताल लगेर ५ घण्टा राखेपछि घरमै सुरक्षित तरिकाले बस्नुहोस् भन्दै डाक्टरले घर पठाए । आफूहरुमा सङ्क्रमण कसरी भयो भन्ने थाहा नभएपनि रेस्टुरेन्टबाटै सरेको अनिलको आशङ्का छ ।

धेरै पानी पिउनुस्

सङ्क्रमित भएर निको हुनुभएका अनिल कोरोना लाग्नेबित्तिकै नमर्ने बताउनुहुन्छ । कोरोनाले सङ्क्रमण गरेपछि पनि त्यसबाट बाँच्ने सबैभन्दा राम्रो औषधी पानी भएको उहाँको भनाइ छ । औषधी पत्ता नलागेपनि पानी खाएर जति पिसाब गर्नसक्यो त्यति नै कोरोना भाइरस दिशा र पिसाबबाट निस्किने उहाँले बताउनुभयो । 

अस्पताल भर्ना हुनुभएका होमराजलाई स्लाइनपानी र अक्सिजन दिइएको थियो भने पानी धेरै पिउन डाक्टरको सुझाव थियो । आफुले गरेको अनुभव र बेलायतका डाक्टरले कोरोना सङ्क्रमितलाई दिने औषधी पानी भएको बताउदै अनिल सबैलाई पानी धेरै पिउन आग्रह गर्नुहुन्छ । अनिल आफू एक दिनमा ६ लिटरभन्दा धेरै पानी पिएको बताउनुहुन्छ ।

घरभित्रै क्वरेन्टीन

अस्पतालले डिस्चार्ज गरेपछि अनिल, मीरा र होमराज अलग अलग कोठामा बस्नुभएको छ । एउटै कोठामा बस्नुपरेपनि दुई मिटरको दूरीमा बस्नुपर्ने अनिलको सल्लाह छ ।  

सरकारले गरेको ‘लकडाउन’लाई पालना गरी घरभित्रै सुरक्षित बस्दा र साबुन पानीले हात धुदा कोरोनाबाट बच्न सकिने अनिल बताउनुहुन्छ । 

मेलापर्व अर्को वर्ष 

आफू जुन देशमा भएपनि अनिललाई नेपालको चिन्ता लाग्छ । नेपालमा ‘लकडाउन’ उल्लङ्घन गर्दै मेला, पर्व मनाएको र बजार घुमेको समाचार सुन्दा उहाँलाई दुःख लाग्छ । बेलायतमा सहजै स्वास्थ्य सेवा पाएकोले बाँचेको भन्दै अनिल नेपालमा यस्तो अवस्था नरहेकोले सबैलाई सजग रहन आग्रह गर्नुहुन्छ ।

‘बाँचेपछि अर्को वर्ष मेलापर्व मनाउँला र रमाउँला । अहिले रमाइलो गर्ने बेला होइन । अहिले जो जहाँ छौँ, त्यही बसौँ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ,’ अनिलको आग्रह छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया