‘लकडाउन’मा रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

 चैत २८, २०७६ शुक्रबार १८:२६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा– कोरोनाको कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा स्थगित भएपछि सामुदायिक रेडियो मदनपोखराले दूरशिक्षा रेडियो कार्यक्रम सुरु गरेको छ ।

तानसेन नगरपालिकासँगको सहकार्यमा हरेक बिहान सवा १० बजेदेखि ४ बजेसम्म दूरशिक्षा रेडियो कार्यक्रम ‘एसईई पाठशाला’ उत्पादन र प्रसारण गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताउनुभयो । 

परीक्षा स्थगित भएपछि तनावमा रहेका विद्यार्थीलाई रेडियोबाट पठनपाठन गराउन सुरु गरेपछि उनीहरु उत्साहित बनेका छन् । 

कोरोना सङ्क्रमण रोकथामको लागि सरकारले ‘लकडाउन’ गरी आवागमन बन्द गरेको छ । यस्तै विद्यालय र कलेजका सम्पूर्ण शैक्षिक गतिविधि पनि बन्द गरिएको छ । 

लम्बिएको ‘लकडाउन’को अवस्थालाई मध्यनजर गरी सुरु गरिएको एसईई पाठशालामा अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्प्युटर  विषयको पठनपाठन गरिन्छ । हरेक विषयको कक्षा हरेक दिन ४५ मिनेट सञ्चालन हुन्छ । 

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीहरुको ध्यान बाहिरी कुरामा नजाओस् र परीक्षाको तयारीमा लागिरहोस् भन्ने उद्देश्यले रेडियोबाट पढाउन थालिएको बताउनुभयो । 

‘बन्दाबन्दी (लकडाउन) को कारण घरमा रहेका विद्यार्थीले रेडियोमार्फत पढन, नयाँ कुरा सिक्न र आफूले नबुझेका कुरा शिक्षकसँग सोध्नपाउने भएकाले पाठशाला अत्यन्त प्रभावकारी बनेको छ ।’ नगरपालिका प्रमुख शाहीले भन्नुभयो ।

रेडियो कार्यक्रम ‘एसईई पाठशाला’ मा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अङ्ग्रेजी, जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणी साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान, दमकडाका जीवन आचार्यले कम्प्युटर, दमकडाकै एकराज ज्ञवालीले सामाजिक अध्ययन र माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रेमराज खरालले नेपाली विषयको पठनपाठन गर्दै आइरहनुभएको छ । 

जनता माध्यमिक विद्यालयका विद्यार्थी रितिका तिमिल्सिनाले भनिन्, ‘लकडाउनको कारण हामी निसासिएका थियौँ । रेडियोले पढाइदिएको थाहा पाउँदा धेरै खुशी भयौँ । यो रेडियो पाठशाला अमृत पान सरह बनेको छ ।’ 

त्रिभुवन बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति हरिबोल भट्टराईले आफ्नी छोरी सबै विषय ध्यान दिएर सुनेको र कोठामा बसेर पढ्ने वातावरण बन्दोरहेछ भन्ने नयाँ अनुभव भएको बताउनुभयो । 

‘विद्यार्थीहरु पढेका कुरा बिर्सिन्छ कि भनेर तनावमा थिए । रेडियो कार्यक्रमले पुनर्ताजगी गराएको छ । रेडियो सुन्दै पढ्न पाउनु विद्यार्थीका लागि राम्रो अवसर हो,’ अङ्ग्रेजी शिक्षक ढुंगानाले भन्नुभयो ।

रेडियो मदनपोखराका स्टेशन प्रबन्धक अर्यालले भन्नुभयो, ‘यो एसईईका लागि सहयोगी कक्षा हो । अन्तिम तयारीमा रहेका विद्यार्थीलाई परीक्षा सरेपछि जानेका कुरा पुनः पढ्ने र नजानेका कुरा सिक्ने अवसर मिलाइएको छ । एसईई पाठशालाका नियमित कार्यक्रम सुन्ने विद्यार्थीमा आत्मविश्वास पनि जागृत हुनेछ ।’ 

यो कार्यक्रमले विद्यार्थीलाई एसईई तयारीमा ध्यान केन्द्रित गर्ने र शिक्षकहरु आमसञ्चारका माध्यमबाट विद्यार्थीसँग सम्पर्कमा रहँदा शैक्षिक वातावरण कायमै रहेको छ । 

नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा सूचना प्रविधिको उपयोग र विद्यालय कक्षालाई ‘डिजिटलाइज्ड’ गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष समेत रहनुभएका गणित शिक्षक ढकालले विद्यार्थीले घरमै बसेर सिक्न पाउने, फुर्सदको समय सदुपयोग गर्न मिल्ने, शिक्षकसँग भेट नहुँदापनि पढ्न पाइने, रेकर्ड गरेर फेरि फेरि सुन्न पाइने भएकाले दूरशिक्षा रेडियो कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । अभिभावको प्रत्यक्ष निगरानीमा बालबालिकाले पढ्ने भएकाले सिकाइ उपलब्धिपूर्ण  हुने अध्यक्ष ढकालको विश्वास छ । 

‘एसईई पाठशाला’ पाल्पाको मदनपोखरा, रामपुर र मुक्तिनाथ, गुल्मीको गुल्मी, रुरु र श्रृङ्गेश्वर, बाग्लुङको रेडियो सारथीले पनि प्रत्यक्ष प्रसारण गरेका छन् । 

‘लकडाउन’पछि जनप्रतिनिधि, सारेमका पदाधिकारी, शिक्षक तथा पत्रकारहरूसँग रेडियोले ‘जुम भिडियो कन्फ्रेन्स’ बैठक गरेको थियो । त्यो बैठकमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीलाई फाइदा पुग्ने निष्कर्ष निकालिएपछि ‘एसईई पाठशाला’ सुरु भएको हो । 

विद्यालय शिक्षा सुधारको लागि स्थानीय तहबाट भएको यो रचनात्मक कार्य हो । रेडियो मदनपोखराले बि.स. २०६० देखि २०६३ सालसम्म कक्षा ८, ९ र १० का लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयको पठनपाठन गराएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया