विभिन्न जिल्लामा रहेका इलामवासी तत्काल घर फर्कन नपाउने

 बैशाख १३, २०७७ शनिबार १४:२:० | सुजता सुनुवार
unn.prixa.net

इलाम – अध्ययन तथा रोजगारीकाे सिलसिलामा विभिन्न जिल्लामा रहेका इलामवासी लकडाउनका समयमा तत्काल घर फर्कन नपाउने भएका छन् ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र जिल्लाका १० पालिकाका प्रमुखहरूको संयुक्त बैठकले लकडाउनका बेला घर (जिल्ला) ल्याउन नपाइने निर्णय गरेकाले इलामबासी तत्काल घर फर्कन नपाउने भएका हुन् । शुक्रबार इलाम नगरपालिकाको सदरमुकाममा सम्पन्न बैठकले लकडाउनका समयमा जो जहाँ छन्, त्यहीँ रहन आग्रह गरेको छ ।

इलामकै बासिन्दा होस् वा अरू जो कोही, कसैलाई पनि इलाम ल्याउन जिल्ला प्रशासनले अनुमति नदिने निर्णय भएकाे प्रशासन प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘इलाममा सीमित सार्वजनिक क्वरेण्टीन छ । जिल्लाबाहिरबाट आएका नागरिकलाई व्यवस्थापन गर्न कठिनाइ हुन्छ भन्दै यस्तो निर्णय गरिएको हो ।’

जिल्ला समन्वय समितिले गएको १० गते इलामका सबै पालिकालाई जिल्लाबाहिर रहेका बासिन्दाहरुको लगत सङ्कलन गर्न पत्रचार गरेको थियो । लगत सङ्कलन गर्दा फर्कनेको सङ्ख्या धेरै हुने पाइएको हो । व्यवस्थापन गर्न नसके कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेर जाने भएकाले लकडाउनलाई पालना गर्नैपर्ने प्रशासनले बताएकाे हाे । 

विभिन्न जिल्लाका मानिसहरु काठमाण्डौबाट आ–आफ्नो घर फर्कने क्रम बढेकाले काठमाण्डाै र अन्य जिल्लाबाट इलामबासीलाई घर ल्याउने भन्दै यसअघि सामाजिक सञ्जाल र अन्य माध्यमबाट सूचना गरिएको पाइएको थियो । अब सो सूचना समेत हटाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया