भरतपुर अस्पतालमा उपचार गराइरहेका युवक डिस्चार्ज

 बैशाख १३, २०७७ शनिबार १९:१५:१६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेशन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त हुनुभएको छ ।

दुई पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उहाँ भाइरसमुक्त हुनुभएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लिला पौडेलका अनुसार लगातार दुई पटक गरिएको परीक्षणमा उहाँको नेगेटिभ रिपोर्ट देखिएको हो । उहाँलाई शनिबार दिउँसो औपचारिक रुपमा डिस्चार्ज गरिएको छ ।

राप्ती नगरपालिका ८ निवासी ६५ वर्षीया आमा र २७ वर्षीय छोरामा कोरोना भाइरस देखिएको थियो । उहाँहरुलाई वैशाख ५ गते भरतपुर अस्पताल ल्याइएको थियो । उहाँसँगै रहेकी उहाँकी आमाको दोस्रो पीसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । 

अस्पतालबाट डिस्चार्ज भए पनि उहाँ अस्पतालकै आइसोलेशनमा अलग्गै बस्नुभएको छ । आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उहाँ आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वरेण्टीनमा बस्नुभएको अस्पतालले जानकारी दिएको छ । 

अहिले अस्पतालमा रहेका आमा छोरामा रोगको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनपछि फेरि आमाको स्वाब परीक्षण गरिने छ ।

सुरुमा र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) मा आमाकाे अवस्था शङ्कास्पद देखिएपछि आमा र दुई जना छोराको पीसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड-१९ प्रयोगशालामा आमा र एक जना छोराको पोजेटिभ देखिएपछि उहाँहरुलाई भरतपुर अस्पतालको आइसोलेशनमा राखिएको थियो । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो । 

परीक्षणअघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिएपछि उहाँलाई तत्कालै डिस्चार्ज गरिएको थियो । शरीरबाट भाइरसमुक्त भए पनि कम्तीमा एक हप्ता क्वरेण्टीनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।
 
गएको चैत ३ गते  बेलायतबाट हङकङ हुँदै नेपाल आइपुगेका आमा छाेरा दुई दिन काठमाण्डौ बसेर घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिहरुलाई अहिले राप्तीको ब्रम्हनगरको क्वरेण्टीनमा राखिएको छ ।

आरडीटी टेस्टमा सबैको रिपाेर्ट नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया