छोरोलाई फाँसी दिने कि बलात्कारी बन्नबाट बचाउने !

 साउन १४, २०७५ सोमबार १७:९:१ | मिलन तिमिल्सिना
unn.prixa.net

कञ्चनपुरकी एक बालिकाको बलात्कारपछि हत्या भएको घटनाले सडकदेखि सदनसम्म तताएको छ । हत्यारालाई कारबाही गर्न माग गर्दै सडकमा प्रदर्शन भएको छ । सदनमा सांसदहरुले यही विषय उठाएर सरकारको ध्यानाकर्षण गराएका छन् । सांसददेखि प्रदर्शनकारीसम्मले हत्यारालाई कडा कारबाहीको माग गरेका छन् । कसैकसैले त बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ पनि भनिरहेका छन् ।

बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने माग यसअघि पनि उठ्दै आएको हो । कतिपय देशमा बलात्कारीलाई फाँसी दिने गरिन्छ । नेपालमा फाँसीको सजाय दिने व्यवस्था छैन । अवोध बालिकालाई बलात्कारपछि निर्मम ढंगले हत्या गरेको घटना सुन्ने र देख्ने सबैलाई लाग्छ, अपराधीलाई यसैगरी फाँसी नै दिनुपर्छ । कुटीकुटी मार्नुपर्छ । तर बलात्कारीलाई फाँसी दिने देशहरुमा पनि बलात्कारका घटना कम भएका छैनन् । 

घरपरिवार र स्कुलले उसका हरेक गतिबिधि नियाल्दै उसलाई शिक्षा र सही मार्ग निर्देशन दिने हो भने उसले कहिल्यै पनि मनमा खराब भावना पाल्न सक्दैन । त्यसैले एउटा पुरुषलाई भोलि बलात्कारी बन्न नदिन उसलाई बाल्यकालदेखि नै घरपरिवार र स्कुलले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ ।

कञ्चनपुरको पछिल्लो घटना त एउटा उदाहरण मात्र हो । नेपालमा हरेक दिनजसो कुनै न कुनै ठाउँमा किशोरी तथा बालिकाहरु बलात्कार तथा यौनजन्य हिंसाबाट पीडित छन् । यस्ता घटनामध्ये केही मात्र सार्वजनिक हुन्छन् । यस्ता धेरै घटना समाजमा बेइज्जती हुने डरले पीडित र परिवारले लुकाएर राख्छन् । 

नेपालमा बलात्कारीलाई फाँसी नै दिने व्यवस्था नभए पनि दोषीलाई कडा कारबाही गर्ने कानुन छ । कतिपय दोषीले कारबाही भोगिरहेका पनि छन् । तर कानुन र कारबाहीले मात्र यस्ता घटना कम हुन सकेका छैनन् । महिला अधिकारकर्मीलगायत विभिन्न संघसंस्थाले चलाएको अभियान पनि प्रभावकारी बन्न सकेको छैन । 

व्यक्ति, परिवार, समाज र राज्यले आफ्नो कर्तव्य र भूमिका त्यही ढंगले निभाउन नसकेसम्म यस्ता घटना कम हुने छाँट पनि देखिँदैन । एउटा पुरुषलाई बलात्कारी बन्न नदिन घरपरिवार, उ आफैं, समाज र राज्यको भूमिका महत्वपूर्ण हुन्छ । 

समाजशास्त्रीहरुका भनाई र प्रहरी अनुसन्धानअनुसार शिक्षा, चेतना र आर्थिक अवस्था कमजोर भएका पुरुषहरु बलात्कारका घटनामा संलग्न हुने गरेका छन् । यस्तै पोर्नोग्राफी पढ्ने तथा हेर्ने व्यक्तिले उत्तेजना मेट्ने सहज माध्यम पाएन भने सामाजिक मर्यादा तथा कानुनलाई समेत नजरअन्दाज गरी बलात्कार गर्न अग्रसर हुन्छ । 

यसबाहेक पढेलेखेका र शिक्षित व्यक्तिहरुबाट पनि बालिका र किशोरी यौनजन्य हिंसाबाट पीडित हुन्छन् । माया गरेको निहुँमा बालिका र किशोरीलाई चिमोट्ने तथा चुम्बन गर्ने क्रियाकलापलाई सामान्य मानिन्छ । तर यौन मनोविश्लेषक फ्रायडले भनेका छन्, ‘केही मानिस यस्ता हुन्छन्, जसले केटाकेटीलाई गर्ने प्रेमको माध्यमबाट मानसिक बलात्कारको आनन्द भोगिरहेका हुन्छन् ।’ यस्तै मानसिक विकार बढ्दै जाँदा बालिका र बृद्धा समेत बलात्कारमा पर्न सक्छन् ।

त्यसैले एउटा पुरुषलाई बलात्कारी बन्नबाट रोक्न दण्ड, सजाय मात्रै पर्याप्त छैन । उसलाई बाल्यकालदेखि नै शिक्षा, चेतना, आचरण र अनुशासन सिकाउन जरुरी छ । एउटा बालक परिपक्क नहुँदासम्म उसलाई रेखदेख र असल मार्गमा हिँडाउने पहिलो दायित्व परिवारको हो । उचित शिक्षा, असल चालचलन र बानीव्यहोरा, अनुशासन लगायत असल चरित्र हुन आवश्यक सबै कुरा परिवारबाट पाउनुपर्छ । 

त्यसपछि नैतिक शिक्षा र आचरणका थप पाठ उसले स्कुलमा सिक्छ । घरपरिवार र स्कुलले उसका हरेक गतिबिधि नियाल्दै उसलाई शिक्षा र सही मार्ग निर्देशन दिने हो भने उसले कहिल्यै पनि मनमा खराब भावना पाल्न सक्दैन । त्यसैले एउटा पुरुषलाई भोलि बलात्कारी बन्न नदिन उसलाई बाल्यकालदेखि नै घरपरिवार र स्कुलले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ ।

९, १० कक्षा पढ्न थालेदेखि किशोरकिशोरीमा हुने विपरीत लिंगीप्रतिको आकर्षण स्वभाविक हो । यही स्वभाविक आकर्षणकै कारण कुनै किशोर बलात्कारी बन्न सक्दैन । सानैदेखि परिवार र स्कुलबाट सही शिक्षा र आचरण सिकेको छ भने मनको आवेग र भावनालाई  कसरी नियन्त्रण गर्नुपर्छ भन्ने उसलाई राम्रोसँग थाहा हुन्छ । 

असल चालचलन, अनुशासन र आचरण सिक्दै र व्यवहारमा ढाल्दै उच्च शिक्षा हासिल गरिसकेपछि उसको घरजम हुन्छ । कतै जागिर खान्छ या स्वरोजगार बन्छ । आफ्नो खुट्टामा आफैं उभिनको लागि मेहनत गरिरहेको युवालाई अरु नकारात्मक कुरा सोच्ने फुर्सद पनि हुन्न । छिमेकका र अरु ठाउँमा भेटिने चेलीबेटीलाई आदर र सम्मान गर्छ । कुनै चेलीबेटीलाई कसैले खराब दृष्टिकोणले हेर्न खोजेको थाहा पायो भने प्रतिवाद गर्छ । 

जब व्यक्ति आफू पनि असल चरित्रको हुन्छ र अरुलाई पनि असल चरित्रको बनाउन प्रेरित गर्छ भने समाजमा बलात्कारजस्ता आपराधिक क्रियाकलाप गर्न आँट गर्न सक्ने कोही पनि हुँदैन । पहिलो कुरा त सबै पुरुष शिक्षित, अनुशासित र रोजगार बन्नुपर्छ । अनुशासन र आचरण सिकाउने काम परिवार र समाजको हो । उसलाई रोजगारी दिने दायित्व राज्यको हो ।

अर्को कुरा सबै पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउन जरुरी छ । मनोवैज्ञानिक डा. विलसनको भनाई छ, ‘एक असल पुरुषले आफूलाई महिलाभन्दा उच्च छु भन्ने अहम् राख्दैन । महिलालाई यौन साधन ठान्दैन । उ विवाहित वा अविवाहित जस्तो भए पनि आफ्नो उर्जालाई समाजको विकास र भलाइका लागि सदुपयोग गर्छ । एक असल पुरुषले बलात्कारको कल्पना पनि गर्न सक्दैन ।’

मनोवैज्ञानिक डा. विलसनको यही भनाईअनुसार सबै पुरुषमा यत्तिको सोचाई हुने हो भने समाजमा बलात्कारका घटना नै हुन पाउँदैन । यसका लागि नागरिक शिक्षा, सामाजिक शिक्षा, यौन शिक्षा र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।

यौन अनुशासनको पहिलो पाठशाला पुरुषको परिवार हो । परिवारले नै आफ्नो छोरोलाई बलात्कारी बन्न र छोरीलाई बलात्कृत हुनबाट जोगाउन सक्छ । अनि राज्यले शिक्षा र चेतनामा लगानी बढाउँदै गरिबी र बेरोजगार हटाउने हो भने पनि बलात्कारजस्ता जघन्य अपराध हुन पाउँदैन । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया