रेल र पानीजहाजको कुरा निदाएर देखेको सपना हैन : प्रधानमन्त्री ओली

 जेठ १३, २०७५ आइतबार १५:५:२४ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल, पानीजहाज जस्ता कुरा बुझाउन केही समय लाग्ने बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको संसदमा जवाफ दिँदै उहाँले नेपाल र नेपालीलाई रेलमार्ग तथा पानीजहाजका कुरा नयाँ भएकाले बुझ्न अझै समय लाग्ने बताउनुभएको हो । आफूले यो कुरा गर्दा महत्वाकाँक्षी योजना भन्दै हाँसोको विषय बनाइएको स्मरण गर्दै उहाँले अहिले विस्तारै सामान्य बन्दै गएको र अब सबैले यसको महत्व बुझ्न थालेको बताउनुभयो ।

पूर्वपश्चिम रेलमार्ग, काठमाडौंमा मेट्रो रेल लगायतका काम छिट्टै सञ्चालनमा आउने गरी कामअघि बढाइने बताउनुभयो । उहाँले भूपरिवेष्ठित  देशले समेत पानीजहाज संचालन गरेका उदाहरण प्रस्तुत गर्दै उहाँले छिट्टै नै कोशीलगायतका नदीमार्फत नेपालले समुद्रबाट सिधै नेपालसम्म सामान आयात गर्ने दाबी गर्नुभयो ।

प्रम ओलीले पानीजहाज सञ्चालनकै विषयलाई प्रतिपक्ष दलले दिवा सपना भनेको उल्लेख गर्दै, त्यो निदाएको समयमा देखेको सपना नभै आफूले दिउँसै देखेको सपना भएकोले पूरा हुने उल्लेख गर्नुभयो । 

सरकारको नीति तथा कार्यक्रमले विकासको बाटोबाट समृद्धि हासिल गर्नै लक्ष्य, उत्पादन र रोजगारीको अवस्था सृजना गर्ने, आयातलाई प्रतिस्थापन गर्ने, निर्यात बढाउने ब्यापार घाटा कम गर्ने योजना समेटिएको पनि प्रधानमन्त्री ओलीको भनाई छ । सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानका साथअघि बढिरहेकाले कसैले विरोध गर्नुनपर्ने उहाँले बताउनुभयो । 

सूचना तथा प्रविधिमार्फत फड्को मारिने दाबी गर्दै प्रधानमन्त्री ओलीले  ई गभर्नेन्समा जाने कुरा कुनै कथा नभएर ब्यवहारिक रहेको बताउनुभयो । अब मन्त्रिपरिषद्को बैठक कागजको चाङ अगाडि नभइ ल्यापटप अगाडि राखेर गर्ने पनि उहाँले बताउनुभयो ।  

लोडसेडिङ आधारभूत रूपमा हटिसकेको, यातायात क्षेत्रमा लामो समयदेखिको सिन्डिकेट तोडिएको उल्लेख गर्दै उहाँले अब नेपालमा एकसमयमा लोडसेडिङ पनि हुन्थ्यो भन्ने अवस्थामा पुर्याइछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  यस्तो अवस्थामा देशमा ल्याइपु¥याउदा कसैको  मन दुख्नपर्ने कारण नभएको प्रधानमन्त्री ओलीको भनाई छ । 

प्रतिव्यक्ति आम्दानी मात्र बढेर देशको उन्नति हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गरिबभन्दा गरिब नागरिकले आधारभूत आवश्यकता पूरा गर्नसक्ने अवस्था ल्याउन सरकार तल्लीन रहेर काम गर्ने बताउनुभएको छ । 

अहिलेको नीति तथा कार्यक्रममा भएका टिप्पणी, प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्नका लागि मात्र गरिएको भन्दै उहाँले अहिलेको नीति तथा कार्यक्रममा आलोचन गर्ने कुनै विषय नभएको दाबी गर्नुभयो ।  

 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया