आँखामा खुर्सानीको धुलो छर्केर श्रीमती र छोरीहरुबाट निर्घात कुटिए नरबहादुर

 जेठ १३, २०७५ आइतबार १६:४५:३९ | उपेन्द्र येक्तेन

पाँचथर, जेठ १३ – पाँचथरको फिदीम नगरपालिका–११, फेवादिनका नरबहादुर बुढाथोकीलाई श्रीमती र आफ्नै दुई जना छोरीहरुले निर्घात कुटपिट गरेका छन् ।

५३ वर्षका नरबहादुरलाई श्रीमती कुन्ता र दुई छोरीहरु चन्द्रकला र वविता मिलेर आँखामा खुर्सानीको धुलो छर्केर दुवै हात र खुट्टा बाधेर कुटपिट गरेको खुलासा भएको हो । निर्घात कुटिएका बुढाथोकीको पाँचथर अस्पतालको सहकार्यमा सञ्चालनमा रहेको एकद्धार संकट व्यस्थापन केन्द्रमा उपचार भइरहेको छ । उहाँको दुवै आँखामा खुर्सानीको धुलो हालिएको कारण गम्भीर असर परेको अस्पतालले जनाएको छ ।

टाउको र दाँया हातमा ४÷४ टाँका लागेको छ । यस्तै शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ । श्रीमती र बिहे गरिसकेका छोरीहरु माइत आएर आमा छोरी मिलेर नरबहादुरलाई निर्घात कुटपिट गरी खोल्सामा लगेर फालेको र त्यसपछि आफू रोइ कराइ गरेपछि छिमेकीहरुले थाहा पाएर उद्धार गरेको पीडित बुढाथोकीले बताउनुभयो ।

श्रीमानलाई कुटपिट गर्ने श्रीमती र छोरीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । बुढाथोकीको परिवारमा पहिलादेखि नै श्रीमान र श्रीमतीबीचमा विवाद रहदैं आएको स्थानीयले बताएका छन् । घटना बुधबार राति नै भए पनि शनिबारमात्र सार्वजनिक भएको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया