कोरोना भाइरसकाे खाेपमा उल्लेख्य प्रगति : पुसमा खाेप ल्याउने अमेरिकी कम्पनीकाे प्रयास

 जेठ ६, २०७७ मंगलबार ९:१४:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वव्यापी रुपमा भैरहेको कोरोना भाइरसको उपचार खोज्ने प्रयासमा अमेरिकी कम्पनी मोडर्नाले ठूलो सफलता हात पारेको दाबी गरेको छ ।

अबका दुई चरणमा गरिन लागेका परीक्षणहरु सफल भए भने मोडर्नाले कोरोना संक्रमण रोक्ने खोप आगामी पुस (सन् २०२१ को जनवरी) देखि बजारमा ल्याउने जानकारी बिभिन्न समाचार एजेन्सीहरुले दिएका छन् । विश्व स्वास्थ संगठनको स्वीकृतिमा खोपको अनुसन्धान गरिरहेका विश्वका ८ कम्पनीमा मोडर्ना पनि एक हो । 

अमेरिकाको जैविक प्राविधिक कम्पनी मोडर्नाले यो खोप विकसित गरेको हो । न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार मोडर्ना नामक कम्पनीले मानिसमा परीक्षण गरिने पहिलो कोरोना भाइरसको खोप सुरक्षित प्रतित भइरहेको जनाएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक छ । 

खोपको परीक्षणको परिणाम आठ जना स्वस्थ स्वयंसेवीहरुमा गरिएको परीक्षणमा आधारित भएको कम्पनीले जनाएको छ । यस क्रममा हरेक स्वयंसेवीलाई यो खोपको दुई दुई मात्रा दिइएको थियो । कम्पनीले यो परीक्षण मार्च महिनाबाट सुरु गरेको थियो । 

खोपको मात्रा दिइएकाको शरीरमा एन्टिबडी बनेको कम्पनीले जनाएको छ । त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो । त्यसपछि कोरोना भाइरसको सङ्क्रमणबाट निको भएकाको एन्टिबडीसँग यो एन्टिबडी मिलाइएको थियो । 

मोडर्ना कम्पनीले आफ्नो खोप परीक्षणको दोस्रो चरणमा ६ सय जनालाई सहभागी गराउने जनाएको छ, जुन प्रक्रिया चाँडै नै सुरु हुने जनाइएको छ । त्यसपछि खोप परीक्षणको तेस्रो चरण जुलाईमा सुरु हुने छ, जसमा हजारौँ जनालाई समावेश गराइनेछ । 

अमेरिकामा औषधिलाई अनुमति दिने संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले मोडर्ना कम्पनीलाई खोप परीक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया