बैतडीको २ ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना हुँदै

 जेठ ७, २०७७ बुधबार १२:२:१२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - भारतसँग सीमा जोडिएका २ ठाउँमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ । 

भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमध्ये दशरथचन्द नगरपालिकास्थित झुलाघाट र तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भएको छ । 

सीमा जोडिएका ठाउँमा बीओपी स्थापनाको लागि उपयुक्त जग्गा खोजी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा बीओपी स्थापना भएपछि सीमा सुरक्षाका लागि सहज हुने सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो । 

अहिलको अवस्थामा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी असुरक्षित तरीकाले अस्थाई पोष्ट स्थापना गरी सुरक्षा दिइरहेका छन् ।
बैतडीको तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वर गाँपालिकाकै विनायक घाट र पञ्चेश्वरको रोडीदेवलमा अस्थाई पोष्ट स्थापना गरी सशस्त्र प्रहरी सिमारक्षाका लागी खटिएका छन् ।

दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरीले पहरा दिइरहेको जनाईएको छ । 

पछिल्लो समयमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अवैधानिक तरीकाले ट्युबमार्फत महाकाली तरेर भारतबाट नेपालीहरु फर्कन थालेपछि सीमा क्षेत्रमा थप कडाइ गर्न थालिएको हो । 

यसरी अवैधानिक रुपमा नेपाल प्रवेश गर्दा विभिन्न जोखिम हुने भएकाले सीमा क्षेत्रमा निगरानी बढाइएको जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया