डाेटी : लकडाउनमा तरकारीले बजार नपाउँदा बारीमै सड्दै, किसान चिन्तित

 जेठ १३, २०७७ मंगलबार ८:५३:२६ | विमल बिष्ट
unn.prixa.net

डोटी - लकडाउनका कारण जिल्लामा किसानले उत्पादन गरेका तरकारीले बजार नपाउदा बारीमै सड्न थालेका छन् । 

व्यवसायिक रुपमा तरकारी खेती गरेर उत्पादन गरिएको तरकारी बिक्री नहुँदा उनीहरु चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा कम्तीमा पनि ८ सय रोपनी खेतमा किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । 

यहाँका किसानले अहिले बेमौक्ष्समी तरकारी फलाए पनि उचित बजार नपाउँदा बारीमै कुहिन थालेको गुनासो गर्दै आएका छन् । बारीमा फलाएका साग तरकारीहरु बिक्री नभएपछि किसानले वस्तुभाउलाई दिन थालेका छन् । 

दिपायल सिलगढी नगरपालिका–५ घोलतडा, वडा नं ३ बाँफी, शिखर नगरपालिका–२ कालागाढ, वडा नं १ समुहगाढलगायत केआईसिंह, जोरायल, सायल, पूर्वीचौकी, आदर्श गाउँपालिकाका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा बारीमै कुहिन थालेका हुन् । 

लाखौँ रकम लगाएर उत्पादन गरेको तरकारी उत्पादन भएर पनि बिक्री नहुँदा आफुहरुलाई निकै घाटा भएको दिपायल सिलगढी–३ बाँफीकी तरकारी किसान  नेहा साउले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऋण काडेर लाखौँ रकम खर्च गरेर तरकारी खेती ग¥यौँ, लकडाउनले बिक्री गर्न नसक्दा बारीमै कुहिन थालेको छ, बैंकको ब्याज तिर्ने पैसा समेत असुल हुँदैन ।’ 

गएको वर्ष जिल्लामा पाँचदेखि सात लाख मूल्य बराबरको तरकारी बिक्री भएको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ । 

तरकारी चाँडो सड्ने भएकाले समयमै बिक्री गर्न नपाउँदा किसानलाइ समस्या हुँदै आएको शिखर नगरपालिका–१ कालागाढका तरकारी किसान खडग बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तरकारी चाँडो बिग्रिने चिज भएकाले फलेको तिन÷चार दिनभित्रमा बिक्री नगरे कुहिएर जान्छ, किसनालाई अहिले निकै घाटा भएको छ ।’ 

लकडाउनमा अत्यावश्यक गाडी सञ्चालन गर्न अनुमित दिइए पनि जिल्लामा गाडी नचलेका कारण तरकारी बजारसम्म पु¥याउन नसकिएको किसानहरुको गुनासो छ । 

जिल्लामा अहिले पर्याप्त तरकारी उत्पादन गरिएपनि जिल्ला बाहिरबाट तरकारी आयात गरिएका कारण पनि यहाँका तरकारी किसानलाई समस्या भएको दिपायल पिपल्लाकी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला तरकारी पर्याप्त उत्पादन भएको छ तर जिल्ला बाहिरका गाडीमा तरकारी आयात गरिदा यहाँका किसानलाई समस्या भएको हो ।’ 

यहाँका किसानले अहिले जिल्लामा काँक्रा, जुनेली फर्सी, सिम्ला, पिरो खुर्सानी, भण्टा, टमाटर, काउली, तितेकरेला, मुला, भिण्टी लगायत हरियो साग उत्पादन गरेका छन् । 

लकडाउनमा स्थानीयलाई घर बाहिर निस्किन अनुमति नभएका कारण तरकारी किन्न कोही नआउने गरेको दिपायल सिलगढी–५ घोलतडाका किसान बहादुरे कोलीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले पहिले हामीले तरकारी बेच्न कतै जानु पर्दैनथ्यो, बारीमै किन्न आउँथे, अहिले लकडाउन भएपछि सबै घरैमा छन्, किन्न कोही आउँदैनन ।’ 

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया