'६ दिनदेखि भाेकै रहेका' युवककाे नेपाल–भारत सीमामा ज्यान गयो

 जेठ १४, २०७७ बुधबार १३:४४:० | सुभाष कर्ण
unn.prixa.net

धनुषा – धनुषामा भारतबाट फर्किएका एक जनाको ज्यान गएको छ । भारतीय प्रहरीले बिहान तीन बजेतिर सीमा क्षेत्रमा ल्याएर छोडिएदिएका झण्डै पाँच सय नेपालीमध्ये धनुषाका शहीदनगर नगरपालिका ९ का एक युवकको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले सीमा क्षेत्रमा छाडिदिएपछि नेपाली सुरक्षाकर्मीले जटही नजिकै रहेको क्वरेण्टीनमा राखेर चिउरा चाउचाउ खाना दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । खाजा खाएको केहीबेरमा बान्ता गरेर युवकको ज्यान गएको उहाँले बताउनुभयो ।

'ती युवकले ६ दिनदेखि केही नखाएको बताएकाे स्थानीयवासीले जनाएका छन्', पोखरेलले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

युवाको ज्यान गएपछि भारतबाट आएका नेपालीहरु सुरक्षा घेरा तोड्दै जनकपुरतर्फ आइरहेका छन् । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको भए पनि भिड नियन्त्रण हुन सकेकाे छैन । स्थानीय प्रशासनले उनीहरुको उद्धारको लागि बस पठाएको बताएको छ । स्वास्थ्य जाँच नगरि उनीहरुलाई घर पठाएमा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया