विदेशमा करार अवधि बाँकी रहेका ८६ प्रतिशत श्रमिकले पुरै तलब पाएका छन् : जिफण्ट

 जेठ १४, २०७७ बुधबार १६:५९:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले गरेको एक अध्ययनले ८६.९ प्रतिशत नेपाली श्रमिकले विदेशमा तलब पाइरहेको देखाएको छ । 

मलेसिया र मध्यपूर्वका देशमा कार्यरत जिफण्टको आफ्नो नेटवर्कमा आबद्ध रहेका १९ हजार पाँचसय ७१ जना श्रमिकमाझ गरेको अध्ययनले रोजगार अवधि बाँकी रहेकामध्ये ८६.९ प्रतिशत श्रमिकले पुरै पारिश्रमिक पाइरहेको देखाएको हो । यस्तै १०.९८ प्रतिशतले आंशिक पारिश्रमिक मात्र पाएको र २.९३ प्रतिशतले पारिश्रमिक नै नपाएको जिफण्टको प्रतिवेदनमा उल्लेख छ । 

काममा संलग्न श्रमिकमध्ये अधिकांशलाई आधारभूत स्वास्थ्य सुरक्षाको लागि मास्क, पञ्जा, सेनिटाइजरको व्यवस्था भएको श्रमिकले बताएका छन् । अध्ययनमा सहभागी श्रमिकले बिरामी हुँदा उपचार पाएको पनि उल्लेख गरेका छ । 

करार अवधि सकिएका, आम माफीमा सहभागी भएका र पारिश्रमिक नपाएर समस्यामा परेका श्रमिकलाई तत्काल स्वदेश फर्काइ उनीहरुको लागि देशभित्र रोजगारी सिर्जना गर्नुपर्ने जिफण्टको माग छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पालिकास्तरमा रहेको रोजगारी वा स्वरोजगार हुन चाहनेलाई आवश्यक सहयोगको व्यवस्था मिलाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गरिनुपर्ने जिफण्टको सरकारलाई सुझाव दिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया