विदेशको आफू कार्यरत कम्पनीबाटै घरमा पैसा पठाउन सकिने, यस्तो छ प्रक्रिया

 जेठ १४, २०७७ बुधबार १७:६:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोनाको कारण विदेशबाट घरमा पैसा कसरी पठाउने भनेर सोचिरहनुभएको छ ? या यस्तो बेला बैंक कसरी जाने भन्ने चिन्ता पनि होला । चिन्ता नलिनुहोस्, तपाईँको कम्पनीमा काम चलिरहेको छ र घरमा पैसा पठाउन चाहानुहुन्छ भने अब तपाईँले कम्पनीमा बसेरै घरमा पैसा पठाउन सक्नुहुनेछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी गुणाकर भट्टका अनुसार अब तपाईँको कम्पनीले नै तपाईँको आफन्तको खातामा पैसा पठाइदिन सक्छ । तपाईँको कम्पनीको प्रतिनिधि एक जनाले बैंक तथा वित्तीय संस्थामा गएर आफ्ना श्रमिकको रकम पठाइदिनेछन् ।

कम्पनीले त्यहाँ रहेका बैंक वित्तीय संस्थामा श्रमिककाे खाता खोल्नुपर्नेछ । र, बैंक खातामा श्रमिकको पारिश्रमिक जम्मा गरिदिन पर्नेछ र कम्पनीको प्रतिनिधिको अनुरोधमा त्यही बैंकमार्फत सिधै तपाईँको आफन्तको नाममा रकम पठाइदिने नयाँ व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी भट्टको भनाइ छ ।

अब पहिलेजस्तो आफ्नो खातामा भएको रकम झिकेर फेरि घरमा पैसा पठाउन भनेर बैंक तथा रेमिट्यान्स कम्पनीमा जान पर्नेछैन । तपाईँकै अनुरोधमा तपाईँले चाहेको व्यक्तिलाई कम्पनीका प्रतिनिधिले बैंकलाई पैसा पठाइदिन आग्रह गर्ने भएकाले सजिलोसँग नेपालमा पैसा पठाउन सकिन्छ ।

यसरी नेपाल पठाइएको रकम नेपालको नियम अनुसारले नै श्रमिकका आफन्तले पाउनेछन् ।

‘विदेशमा विभिन्न कम्पनीमा काम भइरहेको छ तर लकडाउन लकायतका कारणले पैसा पठाउन पाउनुभएको छैन, त्यसैले यस्तो नियम ल्याइएको हो,’ भट्टले भन्नुभयो, ‘यसरी पठाउँदा श्रमिक आफैं उपस्थित हुन पर्दैन र पहिलेझैं प्रक्रिया भने पूरा हुन्छ, पैसा आउला कि नआउला भन्ने डर नमान्नुहोला, कोड नम्बर कम्पनीका प्रतिनिधिले उपलब्ध गराउनेछन्, त्यही नम्बरका आधारमा यहाँ आफन्तले पैसा पाउने हो ।’

यसरी रेमिट्यान्स पठाउँदा १५ सय अमेरिकी डलरसम्म एक व्यक्तिले पठाउन सक्नेछन् ।

यस्तै कतिपयले आफूले घरमा पठाएको पैसा लकडाउनका कारण सम्बन्धित परिवारले नपाएको गुनासो पनि आइरहेको भन्दै सूचना अधिकारी भट्टले पैसा पठाएको प्रमाण भएपछि जहिले भए पनि पैसा पाइने भएकाले नआत्तिन आग्रह गर्नुभयो ।

यसरी पहिले नै पैसा पठाएर अड्किएको भए सम्बन्धित बैंक तथा रेमिट्यान्स कम्पनीमा फोन गरेर जानकारी लिन पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • बिष्णु पराजुली

    May 27, 2020, 6:37 p.m.

    नेपालकाे कानुन विश्व भरी लागू हुन्न । विदेशमा आफ्नै नियम छन् । म काेरियामा छुु ।यहाँ बैंंककाे खाता स्वयम् बाहेक कसैले काराेबार गर्न पाउदैन । साउले पठाउने भयाे भने सर्वाधिकार भै गयाेे त! हामी मजदुर हाैं मजबुर हाेइनाै । सरकारलाई हेक्का रहाेस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया