डोटीका प्रहरीको सडकमै बास !

 जेठ १५, २०७७ बिहिबार २०:५२:२० | विमल बिष्ट
unn.prixa.net

डोटी – कोरोना नियन्त्रण तथा रोकथामका लागि खटिएका डोटीका प्रहरीहरुको पछिल्लो समय सडकमै बास हुन थालेको छ । 

भारतबाट दैनिक सयौँ नागरिकहरु जिल्ला प्रवेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य ड्युटीमा खटिने प्रहरीहरु खुला सडकमै रात सुत्ने गरेका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनमा खटिएका यहाँका प्रहरीको सडकमै बास हुन थालेको दिपायल पिपल्लाका स्थानीय बमबहादुर बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भारतबाट नेपाल आएका नागरिक राति बसमा आउने भएकाले सुरक्षाका लागि खटिएका प्रहरी राति भुइँमा सुतेका हुन्छन् । भुइँमा ओछ्याउने कपडा पनि नहुँदा खाली जमिनमा सुत्दै आएका देखिन्छन् ।’

यतिमात्र नभइ भारतबाट आएका नागरिकको व्यवस्थापनका लागि खटिएका यहाँका प्रहरी कर्मचारीले आफ्नो ब्यारेकमा गएर खानासमेत खान पाएका छैनन् । ड्युटीमा खटिएका प्रहरीले खानासमेत सडकमै खान थालेका छन् । 

नागरिकको व्यवस्थापन गर्न समयमा ब्यारेकमा खाना खान जाने फुर्सदसमेत नहुने गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले बताउनुभयो ।भारतबाट आएकाहरुबाट कोरोनाको जोखिम बढेको भन्दै यहाँका स्थानीबासीले गाडीसमेत रोक्ने तथा आफ्नो छिमेकमा रहेका क्वरेण्टीनमा लैजान अवरोध गर्ने गरेका कारण प्रहरीलाई झन् समस्या हुँदै आएको प्रमुख शाहीले गुनासो गर्नुभयो ।

जिल्लामा दरबन्दी अनुसारका प्रहरी कर्मचारी नभएका कारण नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कर्ण बोहराले बताउनुभयो । 

जिल्लामा भएका दरबन्दी अनुसारका प्रहरी कर्मचारी कोही काजमा तथा कोही भीआइपीको सुरक्षामा पहिलेदेखि खटिएका र फिर्ता नभएका कारण समस्या हुँदै आएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा कुल ४२६ जना प्रहरी कर्मचारीको दरबन्दी भए पनि अहिले २२६ जना मात्रै कार्यरत रहेको बताइएको छ । कार्यरत रहेका मध्येबाट पनि अहिले केही प्रहरीलाई क्वरेण्टीनमा खटाइएका कारण समस्या भएको हो । 

जिल्लामा दरबन्दी भएका प्रहरी कर्मचारीलाई तत्काल फिर्ता गर्न सम्बन्धित निकायमा पटक-पटक ताकेता गर्दा पनि अहिलेसम्म फिर्ता नगरिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएपी) मुकेशकुमार सिंहले डोटीमा प्रहरी अभावमा सडकमै बास भइरहेको अवस्था खासै नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो,- 'सडकमै सधैँ प्रहरीको बास भएको भन्न चै मिल्दैन । कहीँ कतै केही परिस्थितिले बास बसेका वा सुतेका हुन सक्छन् । देशभरिमै प्रहरीकाे सङ्ख्या कमी छ । त्यही अनुरुप जिल्लामा पनि कमी भएको साँच्चै हो । डोटीमा समस्या समाधानका लागि प्रदेश प्रहरीले थप १४ जना प्रहरी पठाएको छ, अन्य ठाउँमा पनि प्रहरीको व्यवस्था मिलाउँदै छ ।'

जिल्लामा कम्तीमा पनि दई हजार ८७९ को सङ्ख्यामा नागरिक आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Sabin magar

    May 29, 2020, 6:40 a.m.

    कस्तो समय आयो ,यो दुनयाँमा।

  •  0 Reply
  • सुरेश

    May 28, 2020, 9:05 p.m.

    देशका सच्चा कर्णधारहरुलाई मेराे सलाम

  •  0 Reply

तपाईको प्रतिक्रिया