दाङ : ४ हजार बढी क्वरेण्टीनमा, १ हजार ५४१ जनाकाे स्वाब सङ्कलन

 जेठ १७, २०७७ शनिबार २०:४१:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा चार हजारभन्दा बढी व्यक्तिहरु क्वरेण्टीनमा बसेका छन् । १० वटा पालिकाका चार हजार एक सय १६ जना क्वरेण्टीनमा बसेका हुन् ।

भारतलगायत जिल्लाबाहिरबाट नागरिक आउन थालेपछि जिल्लाभरिका एक सय १६ वटा क्वरेण्टीनमा उनीहरुलाई राखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।   

घोराही उपमहानगरपालिकामा सबैभन्दा बढी क्वरेण्टीन स्थापना गरिएको छ । घोराहीमा ५२ ठाउँमा क्वरेण्टीन स्थापना गरिएको छ । ती क्वरेण्टीनमा एक हजार तीन सय जनालाई राखिएको छ ।  

बङ्गलाचुली गाउँपालिकामा २२ ठाउँमा स्थापना गरिएको क्वरेण्टीनमा नाै सय ९४ जनालाई राखिएको छ । यस्तै दाङको तुलसीपुर उपमहानरपालिकाभित्र रहेका नाै ठाउँका क्वरेण्टीनमा चार सय ७४ जनालाई राखिएको छ भने राप्ती गाउँपालिकाका १३ ठाउँका क्वारेण्टीनमा पाँच सय ४८ जना बसेका छन् । राजपुरकाे चार ठाउँका क्वरेण्टीनमा एक सय २७ जना रहेका छन ।

कोरोनाको आशङ्कामा दाङका एक हजार पाँच सयभन्दा बढीको स्वाब सङ्कलन गरिएको छ । कोरोनाको आशङ्कामा क्वरेण्टीनमा बसेका चार हजार बढी व्यक्तिमध्ये अहिलेसम्म एक हजार पाँच सय ४१ जनाको मात्रै स्वाब सङ्कलन गरिएकाे हाे । 

सङ्कलन गरिएको स्वाबमध्ये सात सय ६७ जनाको रिर्पोट आइसकेको छ भने अझै सात सय ७४ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । रिर्पोट आएकामध्ये २५ जनाको रिर्पोट पोजेटिभ देखिएको छ भने सात सय ४२ जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका क्वरेण्टीनबाट एक सय ६७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । जसमा ६० जनाको रिर्पोट नेगेटिभ आएको छ  । घोराही उपमहानगरपालिकाभित्र रहेका क्वरेण्टीनबाट दुई सय १९ जनाको स्वाब सङ्कलन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया