कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम : पानीमा लगानीदेखि ट्रमा सेन्टर स्थापनासम्म

 जेठ १७, २०७७ शनिबार १७:४०:८ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छन् । प्रस्तुत प्रतिवेदनमा रोजगारीदेखि पानीमा लगानीसम्मका कार्यक्रम रहेका छन् ।

कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्ध ठूलो जनशक्ति परिचालन गरेको प्रमुख कलौनीले बताउनुभएको छ । ‘प्रदेश सरकारले राहत, क्वरेण्टीन, स्वास्थ्य जाँच व्यापक बनाएको छ,’ उहाँले भन्नुभयो, ‘सङ्कटको घडीमा सबैले साथ दिएका छन् ।’

आठबीसकोट नगरपालिकाको राकममा ट्रमा सेन्टर स्थापना गरिने बताएका छन् । कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा हुने दुर्घटनालाई लक्षित गर्दै राकममा ट्रमा सेन्टर स्थापना गर्न लागिएको कलौनीले बताउनुभएको हो । नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका सबै पालिकामा १५ शय्याको अस्पताल निर्माण गरिने जनाइएको छ । त्यस्तै सबै जिल्ला अस्पतालमा कम्तीमा एक सय शय्या आइसोलेशन, पाँच शय्याको आईसीयू र एक भेन्टिलेटरको व्यवस्था गरिने उल्लेख गरिएको छ । 

विकास निर्माणका कामलाई अगाडि बढाउनको लागि ठूला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाइने प्रदेश प्रमुख कलौनीले बताउनुभयो । आर्थिक वृद्धि गर्नको लागि निजी क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको प्रदेश प्रमुख कलौनीले जानकारी दिनुभयो । युवालाई उद्यम र रोजगारी दिनको लागि मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ । आन्दोलनमा घाइते योद्धा, शहिद परिवारलाई लक्षित गरेर रोजगारीमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धनको लागि विषेश कार्यक्रम ल्याउने जनाइएको छ । जगदुल्ला र भेरी बबईको जलविद्युतमा प्रदेश सरकारले लगानी गर्ने नीति तथा कार्यक्रम समेटिएको छ ।

सडक निर्माणको गुरुयोजना निर्माण गरिने जनाइएको छ । सुर्खेतदेखि हुम्लाको हिल्सासम्मको सडक निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

आवश्यक रहेको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने जनाइएको छ । कर्णाली प्रदेशका प्रमुख शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

एक जिल्ला एक पर्यकीय क्षेत्रको विकास गरिने र त्यसको लागि नीति तथा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । प्रदेशका सबै जिल्लाका विमानस्थल सञ्चालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

खेलाडी उत्पादन, खेलकुदको विकासका लागि सामुदायिक विद्यालयमा खेलकुद फिल्ड निर्माण र पूर्वाधार विकास गरिने बताइएको छ ।

प्रदेश प्रहरीदेखि कारागारलाई सुधार गृह बनाउनको लागि खुला कारागारको अवधारणा अगाडि बढाइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया