मलेसियाले घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन विदेशी नागरिकलाई जुन ६ देखि स्वदेश पठाउन थाल्ने

 जेठ १८, २०७७ आइतबार १९:१३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाले जुन ६ देखि कागजातबिहीन श्रमिकलाई स्वदेश फर्काउन थाल्ने भएको छ । घरफिर्ती केन्द्रमा रहेका कागजातबिहीन इण्डोनेशियन नागरिकलाई पहिलो चरणमा पठाउने मलेसिया सरकारको तयारी छ ।

यस्तै दोस्रो चरणमा घरफिर्ती केन्द्रमा रहेका २४६ जना नेपाली र बंगलादेशी नागरिककोे घर फिर्तीका लागि नेपाल सरकार र बंगलादेश सरकारसँग मलेसियाको अध्यागमन विभागमार्फत समन्वय भइरहेको मलेसियन अनलाइन द स्टारले खबर लेखेको छ ।

मलेसियाले कागजात नभएका श्रमिकलाई राष्ट्रव्यापी रुपमै स्वदेश फर्काउने गरी अघि बढेकाले सम्बन्धित देशले आफ्नो नागरिक लैजानका लागि समन्वय गर्ने अपेक्षा रहेको समेत जनाएको छ ।

अहिले घरफिर्ती केन्द्रमा सबैभन्दा धेरै इण्डोनेशियन नागरिक रहेको र उनीहरुको कोरोना परीक्षणपछि मात्रै घर पठाइने मलेसियाको भनाइ छ । कोरोना पोजेटिभ देखिएकालाई र शंका लागेकालाई क्वारेण्टीनमा राख्ने छ भने नेगेटिभ रिपोर्ट आएकालाई मात्र स्वदेश फर्काउने छ ।

यस्तै मलेसियाले कोरोनाको कारण जनवरी एकपछि भिसा सकिंदा पनि स्वदेश फर्कन नपाएकालाई मलेसियामा लकडाउन खुलेको १४ दिनभित्र स्वदेश फर्कन भनेको छ ।

मलेसियासहित विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्तराष्ट्रिय उडान नखुल्दा अहिले भिसा सकिंदा पनि थुप्रै नेपालीसहित विदेशी नागरिक स्वदेश फर्कन पाएका छैनन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया