प्रदेश २ सरकारले जिल्लाका विभिन्न अस्पतालाई ८ करोड २३ लाख निकासा गर्‍याे

 जेठ १८, २०७७ आइतबार १९:५६:१५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले कोरोना भाइरस महामारी रोकथाम एवं नियन्त्रणकाे लागि कोषबाट विभिन्न जिल्लाका अस्पताललाई आठ करोड २२ लाख २५ हजार रुपैयाँ निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालकाे अनुसार दुई चरणमा रकम निकासा गरिएको हो ।

प्रदेश सरकारले पहिलो चरणमा तीन ३ करोड ९ लाख ५० हजार र दोस्राे चरणमा पाँच करोड १३ लाख ७५ हजार गरी आठ करोड २३ लाख ७५ हजार रुपैयाँ कोरोना भारइस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट निकासा गरेको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न उपचारमा प्रयोग हुने सामग्री, अस्पतालमा रहेका बिरामीको खाना, अस्पताल स्तराेन्नति र पीसीआर मेसिन खरिदलगायत कार्यकाे प्रयोजनकाे लागि प्रदेशका आठवटै जिल्लामा रहेकाे कोरोना उपचार गराइरहेका अस्पतालहरुलाई रकम उपलब्ध गराइको जनाइएको छ ।

मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना उपचारकाे लागि सप्तरीमा तीन करोड ५६ लाख, सिरहामा एक करोड दुई लाख, धनुषामा ३१ लाख २५ हजार, महोत्तरीमा १९ लाख ५० हजार, सर्लाहीमा ५९ लाख २५ हजार, बारामा ३१ लाख २५ हजार, रौतहटमा ७५ लाख ५० हजार र पर्सामा ६२ लाख रुपैयाँ निकासा गरिएकाे छ ।

मुख्यमन्त्री कार्यालयकाे अनुसार पछिल्लो चरणमा सप्तरीको भारदह अस्पताललाई दुई करोड ९० लाख र गजेन्द्रनारायण सिंह अञ्चल अस्पताललाई २५ लाख, रौतहटको गौरमा रहेकाे अस्पताललाई ५६ लाख, सर्लाहीकाे मलङ्गवामा रहेकाे अस्पताललाई ४० लाख ७५ हजार र सिरहा जिल्ला अस्पतालाई ६५ लाख रुपैयाँ निकासा गरिएको छ ।

पहिलो चरणमा पर्साको पोखरी अस्पताललाई २५ लाख, सप्तरीको भारदहलाई ३१ लाख, गजेन्द्र नारायण सिंह अस्पतालाई १० लाख, सिरहाको लहान र जिल्ला अस्पताल, महोत्तरी जिल्ला अस्पताल जलेश्वर, सर्लाही अस्पताल मलङ्गवा, रौतहटको गौर अस्पतालसहितका १९ लाख ५० हजारको दरले र धनुषाको जनकपुरधाममा रहेकाे प्रादेशिक अस्पताल, बाराको कलैया र पर्साको पोखरिया अस्पतालाई ३१ लाख २५ हजारको दरले रकम निकासा गरिएको थियो ।

त्यसैगरी कोरोना भाइरसको पीसीआर परिक्षणमा तीव्रता दिन पीसीआर मेसिन खरिदकाे लागि ५० लाख रुपैयाँ निकासा गरिएको समेत जनाइएको छ । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया