कोरोना कहर : मृत देहको अपमान

 जेठ १९, २०७७ सोमबार १३:५४:२८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

सबै धर्म र आस्थाका मानिसले मृत देहलाई आफ्नो परम्पराअनुसार सम्मानका साथ अन्त्येष्टि गर्छन् । मृत देहको अन्त्येष्टि र मृत्युपछिको संस्कारलाई धर्मसँगै मानवीयतासँग पनि जोडिन्छ । तर नेपालमा कोरोनाका कारण मृत्युवरण गरेकाहरुको मृत देहमा जुन व्यवहार भैरहेको छ, त्यसले सबैको मन अमिलो बनाएको छ । 

नेपालमा कोरोनाले सबैभन्दा पहिले १० दिने शिशुबाट आमालाई खोस्यो । कोरोनाले दुधे शिशुबाट आमा खोसेको खबरले मानिलाई जति विक्षिप्त बनायो, त्यस्तै हैरानी सुत्केरीको मृत देह व्यवस्थापनमा देखिएको घटनाले बनायो ।

सरकारले कोरोना विरुद्धमा लड्न कुनै कसर बाँकी नरहेको बताइरहँदा महिलाको मृत देह बोक्न कुनै पनि शववाहन तयार भएनन् । पछि स्वयंसे वकबाट शव उठाउनु पर्यो । कोरोनाको कारण ज्यान गुमाएकी महिलाको अन्त्येष्टिपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृह नै एक हप्ता बन्द भयो । 

नेपालमा कोरोनाको कारण दोश्रो मृत्यु बाँकेका एक युवाको भयो । अब मानिस मर्न लागे भन्ने डर, क्वरेण्टीनमा राम्रो खानपान तथा उपचारको व्यवस्था नभएर ज्यान गुमाएको भन्ने दुःखद खबरसँगै त्यहाँ पनि शव व्यवस्थापनमा देखिएको क्रियाकलापले पीडा थप्यो । शव उठाउन कोही तयार भएनन् । अन्ततः डोजरले शव उठाएर लगेर गाडियो । बाँकेमा मानिसको मृत देहमाथि अमानवीय व्यवहार भयो । 

बुटवलमा उपचार गराइरहेका गुल्मीका एक व्यक्तिको कोरोनाको कारण ज्यान गयो । त्यहाँ पनि मृत देह व्यवस्थापनमा उस्तै समस्या आयो । निकै समयको अन्योलपछि सेनाले मृत देह जंगलमा लगेर गाड्यो । आफन्तले आफ्नो संस्कारअनुसार अन्त्येष्टि गर्न पाएनन् । यति हुँदासम्म पनि कोरोनाका कारण ज्यान गुमाएकाहरुको मृत देह कसरी सम्मानका साथ अन्त्येष्टि गर्ने भन्ने तयारी सरकारले गर्न सकेन । 

ललितपुरमा एक पुरुषको ज्यान गयो । अस्पतालबाट शव उठाउन शव बाहन नै पाइएन । बल्लबल्ल पहिले धुलखेलमा शव उठाएको गाडी ल्याएर शव पशुपति आर्यघाटमा पुर्याउँदा त्यहाँका कर्मचारी भागिसकेका थिए । अन्तिममा ताल्चा फोडेर मृतकको मृत देहको अन्त्येष्टि गर्नुपर्यो । 

मृत देहको सम्मान

सबैले आफ्नो आफन्तको मृत देहको सम्मान गर्छन् र सम्मान गर्न चाहन्छ । आत्मा अलग भैसकेको विश्वास गरिने मृत देहलाई आ–आफ्नो संस्कार र विधि अनुसार सम्मान र अन्त्येष्टि गरिन्छ । विधि र प्रक्रिया पूरा गरेर परम्परा अनुसार जलाइन्छ वा गाडिन्छ । त्यसमा पनि सम्मानका साथ विभिन्न प्रक्रियाहरु पूरा हुन्छन् । महामारी तथा सरुवा रोगका कारण सबै विधि र प्रक्रिया पूरा गर्न कठिन हुन्छ, तर मृत देहलाई अपमान गर्नु हुँदैन । 

सरकारले नै बनाएको कोरोनाका कारण मृत्युबरण गरेकाहरुको शव व्यवस्थापनका लागि बनाएको कार्यविधिमा पनि शवको सम्मानका साथ अन्त्येष्टि गर्ने उल्लेख छ ।

कार्यविधिमा ‘सदगत गर्नुपूर्व आफ्नो कुल, परम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ’ भन्ने व्यवस्था भए पनि शव उठाउन र परम्पराअनुसार अन्त्येष्टि गर्ने कुरामै समस्या आएको छ । ज्यान गुमाउनेको संख्या धेरै हुँदा समस्या आउनु छुट्टै कुरा, तर एक÷दुइ जनाको ज्यान जाँदै यो हदको भद्रगोल देखिएको छ ।  

अब यस्तो हुँदैन – डा. खेम कार्की 

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले शुरुवातमा भएकोले सबै डराउँदा समस्या आएको बताउनुभयो । कोरोनाबाट ज्यान गुमाएकाहरुको मृत देह व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले यसअघि नै कार्यविधि बनाइसकेको र त्यसको पालना हुने डा. कार्कीले बताउनुभयो ।

शुरुवातमा सबैमाआतंक देखिएको र अहिले सेना वा प्रहरीको सहयोगमा शवको व्यवस्थापन गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म देखिएको अवस्था नदोहोरिने गरी काम गरिने पनि उहाँले बताउनुभयो । 

गाडी नचल्ने ठाउँमा कोरोनाका कारण मत्यु भएमा के गर्ने ? 

डा. कार्की भन्नुुहन्छ, ‘मृत देहलाई तोकिएको ब्यागमा राखिसकेपछि आफ्नो संस्कार अनुसार बोकेर गाड्न वा जलाउन सकिन्छ । मृत देहबाट आउने कुनै पनि तरल पदार्थसँग सम्पर्क नहोस् भनेर चस्मा, पञ्जा, मास्क र पीपीई वा रेनकोट लगाएमा पनि सुरक्षित हुन सकिन्छ । यसमा धेरै आत्तिनु पर्दैन । मृत देहलाई सुरक्षित झोलामा राखेपछि नडराइकन सुरक्षित भएर संस्कार अनुसार अन्त्येष्टि गर्न सकिन्छ । 

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारले के गर्ने ? 

डा. कार्की भन्नुहुन्छ, ‘तोकिएको कार्यविधि अनुसार अन्त्येष्टि गरेर परम्परा र संस्कार अनुसार आफन्तको काजकिरिया गर्न सकिन्छ । यसमा मृतक व्यक्तिसँग नजिक भएका सबैले पाँच दिनपछि पीसीआर परीक्षण गराउनुपर्छ । नेगेटिभ देखिएमा राम्रो ।

पोजेटिभ देखिएमा सुरक्षित आइसोलेसनमा राख्ने वा आवश्यकता अनुसार अस्पतालमा लगेर उपचार गरिन्छ । सुरक्षाका लागि परिवार र नातेदारहरुको ख्याल गरिन्छ । मृत देह व्यवस्थापनका बेला पनि सुरक्षित उपायको साथ सहभागी हुन दिइन्छ ।’ 

कार्यविधिमा भएको व्यवस्था 

क. शव लिन जानु पूर्व शव वाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्छ । 
ख. मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नु पर्दछ । 
ग. कोभिड १९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नु हुँदैन । 
घ. शवलाई अस्पताल र घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नुपर्छ । 
ङ. शवलाई कमभन्दा कम चलाउनु पर्दछ । 
च. शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ । 
छ. शवको कुनै भागबाट श्राव भईरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ । 
ज. शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शव वाहनको प्रयोग गर्न सकिनेछ ।
झ. शवलाई डिसइन्फेक्ट गर्नु आवश्यक छैन । 
ञ. शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्याउनुपर्दछ । 
ट. शवको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्ने छैन ।
ठ. ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्दछ । 
ड. सदगत गर्नु पूर्व आफ्नो कुल, परम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरु गर्न सकिनेछ । 
ढ. मृतकका आफन्तले शव हेर्न चाहेमा शवलाई नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक, एक जनालाई पालैपालो गरी हेर्न दिन सकिनेछ । 
ण. कोभिड १९ ले मृत्यु भएको ब्यक्तिको सामान्यतया पोष्टमार्टम गर्नु पर्दैन । यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्दछ ।
त. यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नु पर्दछ ।
थ. कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नु पर्दछ ।
द. पोष्टमार्टम सकिनेबित्तिकै प्रयोग गरेको सामाग्रीहरु डिसइन्फेक्ट गर्नुपर्छ । 
ध. क्लिनिकल वेस्टहरुको सावधानीपूर्वक डिस्पोज गर्नुपर्दछ ।

कार्यविधिमा स्पष्ट व्यवस्था गरिएको भए पनि सरकारले कोरोनाको कारण मृत्यु भएकाहरुको मृत देह व्यवस्थापनमा आवश्यक तयारी गर्न सकेको छैन । लगातार समस्याहरु आइरहेका छन् । यसबाट पनि मानिसमा झनै धेरै डर बढेको छ ।

मृत्युपछि मृत देहमा गरिएको व्यवहारले कोरोना झनै हाउगुजी हुन्छ भने मृतकका आफन्तको सम्मानमा ठेस लाग्छ । त्यसैले सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन सहज रुपमा र आफन्तको आस्थाको सम्मान गर्दै गर्नुपर्छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया