सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमः नेपाल फर्किएकाहरुलाई लक्षित गरेर कृषि र स्वरोजगारलाई प्राथमिकता

 जेठ २०, २०७७ मंगलबार १०:०:४५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७ ०७८ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७७-७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोनाका कारण नेपाली फर्किएका लाखौँ नेपालीलाई लक्षित गरेर कृषि र स्वरोजगारलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा विदेशबाट फर्केकाहरुलाई कृषि लगायत स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत विना धितो ऋण प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वदेश फर्केकाहरुलाई कृषि र गैर कृषिमा आवद्ध हुने गरी कार्यक्रम ल्याइने भएका छन् ।

रोजगारी सिर्जनासँगैै कृषिलाई व्यवसायिक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले गरेको छ भने कृषि ऋणको ब्याजमा अनुदान दिईने उल्लेख छ ।  

मल, बीउ, कृषि उपकरण तथा कृषि कार्यका लागि उपयोग गरिने विद्युत शुल्कमा अनुदान दिने कार्यक्रम पनि बजेटमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वरोजगारी र रोजगारी सिर्जना गर्ने उद्यम र उद्यमीलाई पनि प्रोत्साहनका कार्यक्रम ल्याइने सरकारले जनाएको छ । यस्तै वस्तुको उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहनेगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।

नीति तथा कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा हरित, प्रदूषण मुक्त र वन्यजन्तुको सुरक्षित करिडोर सहितको राजधानी निर्माण गरिने उल्लेख छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया