सोती घटना : आराेपितलाई थप दश दिन थुनामा राख्न अदालतको अनुमति

 जेठ २२, २०७७ बिहिबार १६:५:४१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - चौरजहारीको सोतीमा गएको जेठ १० गते भएको घटनामा पक्राउ परेका चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल हित १८ जनालाई १० दिन थुनामा राख्न जिल्ला अदालत रुकुम पश्चिमले अनुमति दिएको छ। 

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताउनुभयो । अदालतले उनीहरुलाई घटनामा संलग्नको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो। 

घटनामा संलग्न भएको भनी मृतकका परिवारले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा २ जना अझै फरार छन् ।

जेठ १० गते शनिबार मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले गरेको आक्रमणमा ६ जनाको ज्यान गएको थियो ।

घटनामा जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको र मृतक सबैको शव भेरी नदीमा भेटिएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया