प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता : पुलिस क्लब र प्रदेश एक विजयी

 जेठ १४, २०७५ सोमबार १९:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १४ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार नेपाल पुलिस क्लब र प्रदेश १ विजयी भएका छन् ।

 

वर्षाले प्रभावित खेलमा विभागीय टिम पुलिसले प्रदेश ७ लाई १७४ रनले हरायो भने प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले पराजित गर्‍यो । 
 
त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाएर ३२४ रन बनाएको थियो । पुलिसका लागि दुई जना खेलाडीले अर्धशतक पार गरे । प्रदेश ७ माथि हावी हुने क्रममा पुलिसका सुनील धमलाले ९ चौकासहित ११३ बलमा ८३ रनको योगदान दिए । 

पाचौं नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले विष्फोटक पारी खेल्दै ३७ बलमा ५७ रनको अर्धशतकीय पारी खेल्दा कप्तान मञ्जित श्रेष्ठ ३३ बलमा अविजित ४९ रन जोडे । शेखले ५ छक्का र २ चौका तथा कप्तान श्रेष्ठले ४ चौका र ३ छक्का प्रहार गरे । इनिङको अन्तिम बलमा छैटौं विकेटका रुपमा आउट भएका सिद्धान्त लोहनीले पनि १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए ।
 
बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट, सागर भण्डारी, सुरेन्द्र चन्द र सन्तोष भट्टल प्रत्येकले एक–एक विकेट लिए ।
 
३२५ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ७ को पारी सुरुमै धर्मरायो । १३ ओभरको खेल सकिँदा वर्षा बाधक बन्नुअघि प्रदेश ७ ले महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । ओपनर रोहित सिंह खाता नखोली आउट हुँदा अर्का ओपनर रोशन नेपालीले पनि १३ रन मात्र बनाउन सके । त्यस्तै सञ्जु दमाईले ६ र विजय रानाले ५ रन बनाएर आउट हुँदा प्रदेश ७, ३७ रनमा ५ विकेट गुमाएको अवस्थामा पुग्यो ।
 
त्यसपछि वर्षाका कारण खेल केही बेर रोकिन पुग्यो । वर्षा बाधक भएपछि ३७ ओभरमा झारिएको खेलमा प्रदेश ७ लाई ३०५ रनको नयाँ लक्ष्य दिइयो । तर, उसले लक्ष्य पूरा गर्न सकेन । निर्धारित ३७ ओभरमा प्रदेश ७ ले ७ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो । पुलिस क्लबले १७४ रनको विशाल अन्तरको जित हासिल गर्यो ।
 
प्रदेश ७ का लागि अरुण ऐरीले सर्वाधिक अविजित ७० रनको पारी खेले । बलिङतर्फ पुलिसका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए भने ललित भण्डारीले २ विकेट लिए । सुनील धमला खेलको म्यान अफ द म्याच चुनिए ।

प्रदेश एक विरुद्ध प्रदेश दुई

सोमबारै मूलपानी मैदानमा भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले हरायो । प्रदेश १ ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो ।
 
प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५१ रन बनाए । ६९ बल खेलेका सन्दीपले ८ चौका प्रहार गरे । यसैगरी फिर्दोश अन्सारी र श्रवण यादवले क्रमशः अविजित ३७ र ३४ रन जोडे ।
 
प्रदेश २ का सम्सेद शेखले ४ तथा मेहबुब आलमले २ तथा हरिनारायण साहले १ विकेट लिए ।
 
२२४ रनको लक्ष्य  पछ्याएको प्रदेश २ ले १७ ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल ३४ ओभरमा झारियो र प्रदेश २ ले २१४ रनको नयाँ लक्ष्य पायो ।

प्रदेश २ ले २१४ रनको लक्ष्य पछ्याउने क्रममा ३० ओभरमा १४५ रनमै अल आउट भयो । प्रदेश १  ६८ रनले विजयी भयो । प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ रन बनाए पनि अन्यले गतिलो रन बनाउन सकेनन् ।

बलिङतर्फ १ नम्बर प्रदेशका पुष्प थापा र मिनास थापाले ३–३ विकेट लिए । कप्तानसमेत रहेका पुष्प थापा खेलको म्यान अफ द म्याच चुनिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया