एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

 साउन १८, २०७५ शुक्रबार २२:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं- नेपालले आफ्नो  ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । 

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्यो । नेपालको यो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा पहिलो जित हो । २१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ रनमा रोक्न सफल भयो । 

अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा नेपाल विजयी भएको थियो । अन्तिम १२ बलमा नेदरल्याण्डलाई जितका लागि नौ रनको आवश्यकता थियो । तर ४९औं ओभर बलिङ गरेको दिपेन्द्रले तीन रन दिए । अन्तिम बलमा नेदरल्याण्डलाई दुई रनको आवश्यकता थियो । तर अन्तिम बलमा पारसले फ्रेड क्लासेनलाई आउट गरेपछि नेपालले पहिलो जित हात पारेको हो । ब्याटिङतर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको बलियो योगफल तयार पारेको थियो । 

पहिला ब्याटिङ गर्ने क्रममा नेपालका लागि आठौं नम्बरमा ब्याटिङमा आएका अलराउण्डर सोमपाल कामीले उद्दार गरेका थिए । ८८ रन बनाउँदा ५ विकेट गुमाएको नेपाललाई पारस खड्का र सोमपाल कामीले प्रहार गरेको अर्धसतकले सम्मानजनक स्कोरमा पुर्याएको हो । सोमपालले ४६ बलमा ६१ रन बनाए । आठौं नम्बरमा क्रिजमा आएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यसैगरी चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान पारस खड्काले ५१ रनको अर्धसतकिय पारी खेले । पारसले २ छक्का तथा ६ चौका प्रहार गरेका थिए । यसैगरी पारस र दीपेन्द्रसिंह ऐरीको साझेदारीले स्कोरबोर्ड चलायमान बनिरहेका बेला ऐरी रन आउट हुन पुगे । १७ बल खेलेका ऐरी १९ रनमा आउट भएका थिए । यसैगरी आजै डेब्यु गरेका सुवास खकुरेल पनि १९ रनमा आउट भए । 

नेपालका लागि आरिफ शेखले १६ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १३ रन बनाए । सन्दिप लामिछाने ८ रन बनाउँदा रोहित पौडेल ६ रन, ललित भण्डारी ४ तथा बसन्त रेग्मीले एक रन बनाए । 

२१७ रनको जवाफी लक्ष्य सहित मैदान आएको नेदरल्याण्ड्सले सुरुवात भने राम्रो गर्न सकेन । पहिलो ओभरको दोस्रो बलमै खाता नखोली स्टेफन माइबर्गलाई सोमपाल कामीले आउट गरे । ३० रन हुँदा बेन कुपरलाई ललित भण्डारीले आउट गरेका थिए । कुपर १९ रनमा आउट भएका थिए । तर त्यसपछि नेदरल्याण्ड्सलका लागि डेनियल ब्राक र वेस्ले बारेसीले ८४ रनको साझेदारी गरेका थिए ।

ब्राकलाई सन्दिप लामिछानेले आउट गर्दै लामो साझेदारी तोडेका थिए । सोही ओभरमै सन्दिपले बास डी लिडीलाई पनि आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । अर्को एण्डबाट नेपाली बलरमाथि हाबी भएको वेस्ले वारेसीलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए । 

नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा सन्दीप लामिछानेले ३, पारस खड्का र ललित भण्डारी २–२ विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया