नेपालको जितमा दिल्ली डेयरडेभिल्सको ट्वीट : सन्दीप चम्किएपछि...

 साउन १८, २०७५ शुक्रबार २३:२८:३३ | उज्यालो सहकर्मी

काठमाडौं - नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा नेपालबाट मात्रै होइन, बाहिरबाट पनि बधाईको ओइरो लागेको छ ।

इन्डियन प्रिमियर लिग(आईपीएल) मा सन्दीपको टिम दिल्ली डेयरडेभिल्सले नेपालको ऐतिहासिक जितमा सन्दीपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ । दिल्लीले सन्दीपको बलिङ फिगरसहित ट्वीट गरेको छ ।   

पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा एक रनको रोमाञ्चक जित हात पार्यो । नेपालको यो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा पहिलो जित हो । २१६ रनको योगफल रक्षा गर्ने क्रममा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपछि नेदरल्याण्डलाई २१५ रनमा रोक्न सफल भयो । सन्दीपले १० ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ३ विकेट लिए । 

अन्तिम दुई ओभरमा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले उत्कृष्ट बलिङ गरेपछि रोमाञ्चक खेलमा नेपाल विजयी भएको थियो । अन्तिम १२ बलमा नेदरल्याण्डलाई जितका लागि नौ रनको आवश्यकता थियो । तर ४९औं ओभर बलिङ गरेको दिपेन्द्रले तीन रन दिए । अन्तिम बलमा नेदरल्याण्डलाई दुई रनको आवश्यकता थियो । तर अन्तिम बलमा पारसले फ्रेड क्लासेनलाई आउट गरेपछि नेपालले पहिलो जित हात पारेको हो ।

ब्याटिङतर्फ सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको बलियो योगफल तयार पारेको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया