कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडक भदौ १५ भित्र कालोपत्रे हुने

 साउन १९, २०७५ आइतबार ५:४१:४७ | रासस

काठमाडौं - सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ । 

पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आउँदो भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो । 

प्रधानमन्त्री ओलीले यही साउन १५ गते सरोकार भएका सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । 

वर्षाका समयमा पानी परेर सवारी आवागमनमा समस्या भएको भन्दै स्थानीय बासिन्दाले तत्काल मर्मतमा ध्यान दिन आग्रह गरेपछि ती सडक कालोपत्र गर्ने र विभिन्न करिडोरका सडकको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइने भएको छ । 

काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गका रुपमा रहेको कलंकी–नागढुंगा सडकमा समेत उस्तै समस्या रहेको छ । स्थानीय बासिन्दाले समस्या समाधान नभएको र निर्माण व्यवसायीलेसमेत समयमै काम नगरेका कारण सडकखण्ड निर्माण शुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न हुन सकेको छैन । 

प्रधानमन्त्रीले स्थानीय र यात्रुको चासोलाई सम्बोधन गर्दै सडक निर्माण तथा मर्मत सम्भारलाई विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । 

यस्तै काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्ने, सडकमा सडक संकेतको व्यवस्थासमेत गरिने भएको छ । 

कानूनी तथा प्रशासनिक झमेलाका अतिरिक्त वर्षात्ले काठमाडौँ उपत्यकको सडक निर्माण र विस्तारले तीव्रता पाउन नसकेको भए पनि नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रधानमन्त्री आफैंले चासो व्यक्त गर्नुभएको हो । 

यस्तै खानेपानी मन्त्रालयले मेलम्ची खानेपानीका पाइपलाइन बिच्छ्याउने, पानी वितरण गर्नेलगायतका काम समयमै सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले नागरिकलाई तत्काल राहत दिने गरी कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी सडकखण्डमा कम्तीमा पनि आठ मिटर सडक मर्मत गर्ने र घाम लागेलगत्तै कालोपत्र गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सर्वोच्च अदालतको आदेशका कारण कतिपय स्थानमा सडक विस्तारमा समस्या आएको, कालोपत्र, गर्न, मर्मत सम्भारसमेत गर्न समस्या देखिएको छ । तीबाहेकका क्षेत्रमा भने तत्काल मर्मत सम्भार गर्न सडक विभाग र सम्बद्ध निर्माण व्यवसायीलाई आवश्यक निर्देशन गरिएको र केही दिनभित्रै कामसमेत शुरु हुन्छ ।” 

पानीका कारण समस्या भएका क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्था मिलाउने, ढल तथा डे«नको निर्माण गर्ने, पानी जम्न नदिने तथा धुलो र हिलोबाट बचाउने तवरले मन्त्रालयले आवश्यक प्रक्रिया मिलाएको उहाँको भनाइ छ । 

मन्त्री महासेठले काठमाडौँभित्रका सडकको खाल्डाखुल्डी पुर्नसमेत प्रधानमन्त्रीको निर्देशनअनुसार नै प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सो कार्य आगामी भदौ १२ भित्र सम्पन्न गरिनेछ । 

मनसुनका कारण कतिपय स्थानमा खाल्डाखुल्डी मर्मतमा समेत समस्या भएको भन्दै उहाँले केही समयभित्रै काठमाडौँ उपत्यकाका सडक खाल्डाखुल्डीरहित बनाइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

कलंकी–नागढुंगा सडकखण्डमा सर्वोच्चको आदेशका कारण समस्या भएको भन्दै सरकारले पुनरावेदनकोसमेत तयारी गरेको छ । आदेशलाई कार्यान्वयन गर्दा सडक निर्माण नै गर्न नसकिने अवस्थामा पुगेको ठहर गर्दै मन्त्रालयले केही दिनभित्रै सर्वोच्चमा पुनरावेदन गर्न लागेको मन्त्री महासेठको भनाइ छ । उहाँले जनताको जायज गुनासो र आग्रहलाई सम्मान गर्दै मन्त्रालय अघि बढेकोसमेत स्पष्ट पार्नुभयो । 

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सडक निर्माणमा अवरोध भएका पोल सात दिनभित्रै हटाउने र नयाँ पोल स्थापना गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलेसमेत सडक निर्माणमा अवरोध रहेकामध्ये यही साउन १६ गतेदेखि नै पोल हटाउने र नयाँ पोल राख्ने कार्य अगाडि बढाइसकेको छ । 

विद्युत्, टेलिफोन, खानेपानी, ढल निकास, सडक, शहरी विकास एंव शहरी सौन्दर्यको काम सँगसँगै एकीकृतरुपमा समन्वयात्मक तवरले अगाडि बढाउन लागिएको जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया