झनै उराठलाग्दोे भयो धरहरा

 साउन २१, २०७५ सोमबार ९:२:५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – भत्किनुभन्दा अगाडि धरहरामा चढेर काठमाडौं नियाल्न मिल्थ्यो । तर अहिले ढलेको धरहराको ठुटोलाई नियाल्दा पनि देख्न नसकिने भएको छ, किनकी अहिले त्यो ठुटो धरहरा पालभित्र बेरिएको छ । २०७२ सालको भूकम्पले भत्केर ठुटो भएको धरहरालाई त्यसको चौथो वर्षमा प्लाष्टिकभित्र बेर्ने निर्णय काठमाडौं महानगरपालिकाले गरेको हो । वर्षातको पानीले धरहराको बचेको भाग पनि भत्किने भन्दै स्थानीयबासिन्दाले दबाब दिएपछि महानगरपालिकाले धरहराको ठुटोमा पाल ओढाएको हो ।

धरहरा हेर्न  आएका सिन्धुपाल्चोकका सविन श्रेष्ठले प्लाष्टिकमा बेरिएको धरहरा देख्दा आफूलाई भक्कानो फुटेको बताउनुभयो ।  कमाउन विदेश गएकाहरु कफिनमा छोपिएर आएको  र धरहरालाई पालमा बेरिएको आफूलाई उस्तै लागेको उहाँको भनाई छ । 

धरहरा पुनर्निर्माणमा ढिलाई हुँदा बाँकी रहेको भागलाई पनि छोपेर राख्नुपर्ने अवस्था आएको हो ।

अहिलेसम्म किन बन्न सकेन धरहरा ?

तीन वर्षमा धरहरा पुनर्निर्माणको कुरा पटक–पटक उठ्यो । अघिल्लै पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान सुरु गर्नुभयो । त्यसका लागि स्थापना गरिएको कोषमा केही रकम जम्मा भयो पनि, तर काम अघि बढेन । नेपाल टेलिकमले धरहरा बनाउने कुरा उठ्यो । तर पछि टेलिकमले पनि यो कामबाट हात झिक्यो ।
 
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर २०७४ सालमै थाल्नुपर्ने  धरहराको पुनर्निर्माणको काम नहुनुमा टेलिकम पनि प्रमुख कारण रहेको बताउनुहुन्छ । अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुनर्निर्माण गर्ने सहमति भएको छ । यसको लागि पुरातत्व विभागले धरहराको डिजाइन प्राधिकरणलाई बुझाइसकेको छ । 

प्राधिकरणले पनि टेण्डर आह्वान गरिसक्यो । तैपनि पुनर्निर्माणको काम भने अहिल्यै सुरु नहुने प्राधिकरणका सहसचिव इञ्जिनियर राजुमान मानन्धरले बताउनुभयो ।

ठेक्काको लागि प्राविधिक रुपमा प्रस्ताव राख्ने ६ वटा कम्पनीमध्ये पाँचवटा कम्पनी स्वीकृत भए पनि तीमध्येकै एक कम्पनीले अर्को कम्पनीको बारेमा प्रधानमन्त्री कार्यालयमा उजुरी दिएपछि सरकारले आर्थिक प्रस्ताव स्थगित गरेको छ । इञ्जिनियर मानन्धरका अनुसार असार २९ गते प्रधानमन्त्रीबाट धरहराको शिलान्यास गर्ने योजना स्थगित गरेर अब त्यो उजुरीमाथि छानबिन गरेर मात्र काम अघि बढाइने बताउनुभयो ।

डिजाइन अनुसार यस्तो बन्नेछ नयाँ धरहरा

नयाँ धरहरा अहिले धरहरा भएकै ठाउँमा नबन्ने प्राधिकरणले जनाएको छ ।  भत्केको धरहरा जस्ताको त्यस्तै सिसाको फ्रेममा ढाकेर स्मृतिपार्क बनाइने छ । र भूकम्पमा धरहरा ढलेर ज्यान गुमाएकाहरुको नाम लेखेर अभिलेख राखिनेछ । झण्डै ४ अर्ब २७ करोड रुपैयाँको लागतमा निर्माण हुने नयाँ धरहरा अत्याधुनिक हुनेछ ।

प्राधिकरणका अनुसार धरहरा र परिसरको कूल क्षेत्रफल २४ रोपनी हुनेछ । धरहरामाथि १२ मिटरको गुम्बज निर्माण गरिने प्राधिकरणका सहसचिव इन्जिनियर राजुमान मानन्धरले जानकारी दिनुभयो । धरहराका लागि सुन्धारामा रहेको हुलाक कार्यालय भत्काइनेछ । त्यहाँ दुई तलाको बेसमेण्ट पार्किङ बन्नेछ । पहिले ९ तला रहेको धरहरा अब २२ तलाको बन्नेछ र सबै तलासम्म पुग्न दुईवटा लिफ्टको पनि व्यवस्था गरिनेछ । धरहराको अगाडि म्युजिकल फाउण्टेन पनि निर्माण गरिनेछ । धरहरा माथिबाट पूरै काठमाडौंको दृश्यावलोकन गर्न मिल्नेछ ।

धरहरा मौलिक सभ्यतालाई झल्काउने खालको हुनुपर्ने भनेर आवाज उठे पनि आधुनिक प्रविधिबाटै बन्ने भएको छ । पुरातत्व विभागका प्रमुख इञ्जिनियर सम्पत घिमिरेका अनुसार एकपटक पुरै भत्सिकेपछि नयाँ बनाउँदा त्यसमा पहिलेको जस्तै पुरातात्विक महत्व रहँदैन र सहरी विकासको मान्यतालाई पनि ख्याल गर्दा बनाएपछि अत्याधुनिक र बलियो बनाउनुपर्ने देखियो । पुरानै निर्माण सामग्रीको प्रयोग गरेर बनाउँदा बलियो नहुने भएकाले आधुुनिक तरिकाले बनाउन खोजिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया