नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत (भिडियाेसहित)

 साउन २१, २०७५ सोमबार १०:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो ।  पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ । 

नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले स्वागत गर्नुभएको हो । 

नेपालले एक दिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेलमा १ रनको रोमाञ्चक जित पार्दै सिरिज बराबरी बनाउन सफल भएको थियो । ऐतिहासिक एक दिवसीय खेलमा नेपालले पाएको यो अहिलेसम्मकै ठूलो सफलता र उपलब्धि हो । 

नेपाली टोली डेब्यू एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता र मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको लागि गएको साउन २ गते युरोप भ्रमणमा गएको थियो । यूरोप भ्रमण अवधिभर नेपाली क्रिकेट टोलीको प्रदर्शन शानदार रह्यो ।

नेदरल्यान्डविरुद्धको ऐतिहासिक एक दिवसीय सिरिजलाई नेपालले बराबरी गर्न सफल भयो । लण्डनको लर्डस् मैदानमा भएको त्रिकोणात्मक सिरिजमा पनि नेपाल र नेदरल्यान्ड संयुक्त रुपमा विजयी भए । यी दुई प्रतियोगिता खेल्नु अघि नेपाली टिमले लन्डनका स्थानीय टिमसँग समान दुई टी–ट्वान्टी र एक दिवसीय खेलेको थियो । अभ्यास खेलमा नेपालले तीन खेलमा जित हात पारेको थियो । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया