बसाइँ सरी आउनेलाई पाँच लाख अनुदान !

 साउन २१, २०७५ सोमबार १०:५१:४८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – छथर गाउँपालिकाले जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेहरुलाई उनीहरुको व्यवसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधा नभएको भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रम बढेपछि यसलाई रोक्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाहरुले बसाइँ सराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । गाउँपालिकाबाट बसाइँ सराइ लिएर गइसकेकालाई पुनः फर्काउन र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेहरुलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यवसायिक अनुदान उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष लिम्बुले बताउनुभयो ।

‘अनुदानको कार्यक्रमले गाउँपालिकाको जनसंख्या बढाउँछ, यसले हाम्रो सानो बजारलाई शहर बन्न पनि मद्धत गर्छ,’ अध्यक्ष लिम्बु भन्नुहुन्छ, ‘हामीले दिने न्यून अनुदानले गाउँपालिकामा लगानी भित्रिन्छ ।’ गाउँपालिकाले व्यवसायिक योजनाका आधारमा एक लाख रुपैयाँदेखि पाँच रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाको यो नीतिले आगामी पाँच वर्षमा व्यवसायिक जनसख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीको भनाइ छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट तत्कालका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता हेरेर गाउँपालिकाले बजेट थपघट गर्ने तयारी गरेको प्रवक्ता नेपालीले बताउनुभयो । ‘अनुदानका लागि पहिलो शर्त बसाइँ सराइ हो, बसाइँ सरेको कागज अनिवार्य चाहिन्छ,’ प्रवक्ता नेपाली भन्नुहुन्छ, ‘त्यसपछि व्यवसायिक योजना हेरेर अनुदानको रकम तोकिन्छ ।’ गाउँपालिकाले आगामी चार वर्षभित्र गाउँपालिकाको जनसंख्या २५ हजार पु¥याउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

तत्कालीन आङ्दिम, हमरजुङ, पन्चकन्या, फाक्चामारा, ओख्रे र सुदापगाउँ विकास समिति मिलेर बनेको छथर गाउँपालिकाको जनसंख्या अहिले १६ हजार ७ सय ५०  मात्रै रहेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई लक्षित गरी व्यवसायिक वातावरण बनाउन प्रयत्न गरिएको जनाएको छ । यो क्षेत्र अहिलेपनि तरकारी र दुध आम्दानीको राम्रो श्रोत बनिरहेको छ । यसबाहेक शैक्षिक र अन्य साना व्यवसायिक क्षेत्रमा समेत लगानीको पर्याप्त सम्भावना रहेको गाउँपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया