यस्तो पनि राजनीतिक आस्था !

 साउन २३, २०७५ बुधबार ९:४९:१५ | बेदानन्द जाेशी

कुरा विद्यार्थी राजनीतिको हो । त्यसमा पनि राजनीतिमा उदाउन खोज्ने विद्यार्थीहरुको राजनीतिक आस्थाको  । बागबजार, पुतलीसडकका चिया पसलहरु प्रायः विद्यार्थीहरुले भरिएका हुन्छन् । पढेर परीक्षामा पास कसरी हुनेदेखि लिएर शिक्षकलाई धम्क्याएर प्रयोगात्मक परीक्षामा कसरी बढी अंक प्राप्त गर्नेसम्मका बहसहरु पनि यहीँ हुन्छन् ।

मलाई पनि चिया पसलमा बसेर मन मिल्ने साथीहरुसँग गफिन एकदमै मन पर्छ । केही दिनअघिको कुरा हो, म र मेरो एकजना साथी (शरद) चिया पसलमा बसेर गफ गर्दै थियौं । अचानक शरदको स्कुल पढ्दादेखिको साथी पनि टुप्लुक्क त्यहीं आइपुग्यो । महिनौंपछि आफ्नो पुरानो साथीसँग भेट हुँदा खुसी मान्दै शरद उठेर हात मिलाउन अगाडि बढ्यो । तर उसको साथी भने नचिनेको जस्तो गरेर पसलमा बस्दै नबसेर सरासर हिँड्यो र पल्लो होटलमा गएर बस्यो । मैले साथीलाई भनें, ‘चिन्नु न जान्नुको मान्छेसँग के हात मिलाउन तम्सेको त ?’

उ एकैछिन त भावुक बन्यो । अनि मुख बिगार्दै भन्यो, ‘हेर साथी दुनियाँ यस्तै हो यार । क्याम्पसको एकाइ कमिटीको अध्यक्षमा उठ्दैछ, त्यही भएर नबोलेको होला ।’

‘उ अध्यक्षमा उठ्दैमा तँसँग किन नबोल्नु त ?’ मैले उत्सुक हुँदै सोधें । ‘यो कथा तँ बुझ्दैनस् यार’ उसले लामो स्वास तान्दै भन्यो । तर मैले भन्न आग्रह गरेपछि उसले कुरा अगाडि बढायो ।

गएको मंसिरमा भएको चुनावदेखि उनीहरुबीचको सम्बन्ध चिसिएको रहेछ । कारण सामान्य थियो ।

शरदको परिवार कांग्रेसको, तर उसको साथीको काका भने एमालेका रहेछन् । गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका उसका साथीको काकालाई शरदले भोट दिएन भन्ने विषयलाई लिएर शरद र उसको साथीको मनमुटाव त्यही दिनदेखि सुरु भएको रहेछ । शरदले हाँसेजस्तो गरेर मन खल्लो पार्दै भन्यो, ‘मैले त सोचेको नि थिएन यार यसले यतिसम्म सोच्ला भनेर ।’

यस्ता कुराहरुले साथीमाझ मात्र नभएर समाजको सानो तहदेखि राज्यको सर्वोच्च निकायसम्म पनि प्रभाव पारेको विषयमा त्यो दिनभरि हाम्रो बहस भयो । राजनीतिप्रतिको अर्थहीन आस्थाले जकडिएको  हाम्रो समाजमा देशको अभिभारा काँधमा बोकेका युवाहरुको सोचाई पनि यतिसम्मको संकिर्ण हुनुले नेपाली युवाहरु कुन भूमरीमा अल्झिरहेका छन् भन्ने कुरा प्रष्ट पार्छ ।

कुरा गर्दै गर्दा यस्तै अर्को घटनाले पनि हाम्रो बहशमा प्रवेश पायो । म आफैंले भोगेको कुरा थियो । आजभन्दा करिब दुई वर्ष अगाडिको घटना । लगभग मैले बिर्सिसकेको पनि थिएँ । तर शरदको त्यो कुराले मेरो मष्तिस्कको कुनामा धमिलिंदै गएको त्यो याद ताजा भएर आयो । हुन त मेरो कुनै पनि पार्टीप्रति विशेष झुकाब छैन । तर पनि राजा महेन्द्र, बीपी कोइराला, मदन भण्डारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदि मलाई मन पर्ने केही राजनीतिक व्यक्तित्वहरु हुन् ।

मदन भण्डारीको जन्मोत्सवको दिन मैले उहाँको पुरानो भिडियो सेयर गर्दै क्याप्सन लेखेको थिएं, ‘युगले जन्माएका नेता ।’  यतिमात्र के लेखेको थिएँ, मेरो एकजना साथीले मलाई आफ्नोे दुश्मन ठानेछ । त्यो भिडियो सेयर गर्नुभन्दा अगाडि मेरा प्रत्येक फोटो तथा स्ट्याटसमा लाइक तथा कमेन्ट गर्ने त्यो साथीले सायद त्यो दिनदेखि मैले फेसबुकमा राखेका कुनैपनि फोटोमा लाइकसम्म पनि गरेको छैन । फेसबुकमा आइरहन्छ, तर कुराकानी भने हुँदैन । सोझै अनुमान लगाउन सकिन्छ कारण के होला भनेर ।

मलाई थाहा छ उनी कांग्रेसका कट्टर विद्यार्थी नेता हुन् । कहिलेकाहीँ ठूला नेतासँग फोटा खिचेर फेसबुकमा पनि हाल्ने गर्छन् । मैलै भोगेको तीतो सत्य हो यो । सम्झिँदा कस्तो कस्तो लाग्छ ।

यी दुईटा त उदाहरण मात्र भए । हाम्रो गाउँघरमा नजर डुलाउने हो भने दाजुभाइबीच मनमुटाव गराउने कारण पनि यही राजनीति बनेको छ । पहिले पहिले दाजुभाइबीचको झगडा बाउबाजेको सम्पत्ति अंशबण्डालाई लिएर हुने गथ्र्यो, अहिले राजनीति बन्ने गरेको छ ।

लगभग पाँच छ महिना अगाडिको कुरा हो, एकजना बहिनीले पनि यस्तै अस्वस्थ राजनीतिक आस्थाको शिकार भएको गुनासो गरेकी थिइन् । काठमाडौंमै एउटा साहित्यिक कार्यक्रममा उनले गजल वाचनमा यस्तै विषयलाई उठान गर्दै आफ्नो भावना पोखेकी थिइन् । सुन्ने सबैले वाहवाही गरे । कार्यक्रममा जाने क्रममा मेरो उनीसँग चिनजान भएको थियो । त्यही भएर मैले त्यो गजल लेख्नुको कारण सोधेपछि उनले रहस्य खुलाएकी थिइन् ।

उनी पढ्ने क्याम्पसकै एउटा केटा उनलाई मन परेको रहेछ । दुवैले एक अर्कालाई असाध्यै मन पराउने पनि रहेछन् । केटा यतै क वर्गको बैंकमा काम पनि गर्ने र शंकरदेव क्याम्पसमा स्नातकोत्तर पनि पढ्दै रहेछ । ती बहिनीले घरमा उसको कुरा गर्दा उनको दाइले खाउँला झैं गरेर रिसाएछ । रिसाएको मात्र होइन, यदि बिहे गरिस् भने तिमीहरु दुईटैलाई छोड्ने छैन भनेर समेत धम्की दिएको रहेछ । यसरी रिसाउनुको खासै ठूलो कारण नभएर त्यही राननीतिक आस्था नै रहेछ । तिनीहरु दुई विपरित राजनीतिक पृष्ठभूमिका रहेछन् । एउटा नेविसंघ र अर्को अनेरास्वियुको । करिब पाँच वर्ष अगाडि क्याम्पसमा झडप हुँदा त्यो केटाले हानेको मुक्का त्यो बहिनीको दाइको साथीलाई लागेको रहेछ । विपरित पार्टी भएकाले उनीहरुबीचमा यतिसम्मको कटुता सिर्जना भएको रहेछ ।

यो त अर्को उदाहरण मात्र हो । अब त स्थानीय तहमा खटिने निजामती कर्मचारीहरु पनि त्यो स्थानीय तहको प्रमुख जुन पार्टीको छ, त्यही पार्टीको आस्था राख्नुपर्ने अवस्था छ । त्यस्तो नगरे बिभिन्न दवाव दिइने गरेका घटनाहरु पनि सुन्नमा आउन थालेका छन् ।

सबैले पार्टीगत आस्थालाई भन्दा पनि विकासको गतिलाई महत्व दिने हो भने कोही पनि व्यक्ति कुनै पार्टीको हुँदैमा विभेद हुने थिएन । भष्ट्राचार मौलाउने वातावरणको सिर्जना हुने थिएन ।

तर अहिले त कार्यकर्ता नै हावी भएका छन् । विभिन्न गुट उपगुटमा स्थानीयस्तरदेखि लिएर सर्वोच्च निकायसम्म जेलिएका छन् । भनसुनमा नै काम बन्ने परिपाटी अझै यथावत छ । अब त नाताको सम्बन्ध भन्दा पनि पार्टीगत सम्बन्धमा आदरभाव हुन थालेको छ । देश निर्माणका कर्णधार मानिने विद्यार्थीहरु व्यक्तिगत स्वार्थ र आफ्नो हैकम जमाउने अभिलाषाले राजनीतिको पगरी बाँधेजस्ता भएका छन् ।

हिजोअस्तिकै कुरा हो, माइतीघर मण्डलामा विरोध र्याली भइरहेको थियो । म पनि त्यहीँ थिएँ । चिनजानका साथीहरु पनि थिए । एकजना दाइले मेरो हातमा मोबाइल दिंदै भन्नुभयो, ‘भाइ खै म यो झण्डा उठाउँछु, एउटा फोटो खिचीदेउ त ।’ उनी एउटा नेताको अगाडि गएर पार्टीको झण्डा समातेर उभिए र मलाई फोटो खिच्न भने । मैले फोटो खिचेर उनको हातमा मोवाइल दिंदै गर्दा उनले भने, ‘जाउ तिमी पनि, म फोटो खिचिदिन्छु । नेताहरुसँग फोटो खिचिराख्यो भने पछि काम लाग्छ ।’

तर मैले फोटो खिच्न चासो देखाइन । खै त्यो कसरी काम लाग्छ भन्ने कुरा मैले जान्न पनि खोजिन । उनको यो कुरा भने मलाई पटक्कै चित्त बुझेको थिएन ।

हुन त देशको लागि स्वच्छ राजनीति गर्न भनेर राजनीतिमा होमिएका होनाहार युवा नेताहरु पनि होलान् । तर राष्ट्रवादी भन्दा पनि स्वार्थवादीहरुको जमात बढी देखिन्छ । मन्त्रीको झोला बोक्दैमा र मन्त्रीसँग एउटा सेल्फी खिचेर फेसबुकमा फोटा राख्दैमा आफूलाई पनि कुनै रानजेता भन्दा सानो नसम्झने प्रवृत्तिले गर्दा नै देशले असल नेता पाउन सकिरहेको छैन । देश बनाउने युवाहरु नै राजनीतिक संकिर्णतामा अल्झिने हो भने देशको भविष्य के होला ? यो सोच्नुपर्ने विषय भएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • Saroj chalise

    Aug. 10, 2018, 6:14 p.m.

    Good job Nice

  •  0 Reply

तपाईको प्रतिक्रिया