यस्तो गाउँ जहाँ ४० घरपरिवारले एउटै शौचालय प्रयोग गर्छन्

 बैशाख १९, २०७५ बुधबार १३:३६:५२ | नेत्र शाही
unn.prixa.net

जुम्ला, वैशाख १९ – जुम्ला सदरमुकाममा रहेका दलित समुदायका ४० घरपरिवारले ६ वर्षदेखि एउटै शौचालय प्रयोग गर्दै आइरहेका छन् ।

जुम्ला सदरमुकाममा रहेको कामीटोलका ४० घरपरिवारको घरमा शौचालय छैन । शौचालय बनाउने जग्गा नहुँदा एउटै शौचालयको प्रयोग गर्दै आइरहेको उनीहरुले बताएका छन् । गाउँमा शौचालयको अभाव भएपछि चन्दननाथ नगरपालिकाको सहयोगमा गाउँको बीचमा ६ वर्ष पहिले सार्वजनिक शौचालय निर्माण गरी यही शौचालय प्रयोग गर्दै आइरहेका छन् । 

६ वर्ष अगाडि वर्ल्ड भिजन इन्टरनेशनल क्षेत्र विकास कार्यक्रमले नगरापालिकासँग सहकार्य गरेर निर्माण गरेको शौचालय अहिले जीर्ण भएपछि पुनर्निर्माण गर्नु परेको स्थानीय कृष्ण परियारले बताउनुभयो । अहिले सुधारिएको शौचालय निर्माणको काम भईरहेको छ । 

चन्दननाथ नगरपालिकाको सहयोगमा पुरानो शौचालय भत्काएर नयाँ निर्माण गर्न लागिएको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विकले बताउनुभयो । पहिलेको भन्दा व्यवस्थित र सबैले प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालयको अवधारणामा केन्द्रित हुँदै शौचालयको निर्माण कार्य भइरहेको निर्माण समितिले जानकारी दियो  ।

महिला, पुरुष र फरक क्षमता भएका व्यक्तिको पहुँच पुग्ने गरी शौचालय निर्माण भईरहेको भए पनि एकै स्थानमा मात्र शौचालय हुँदा अझै नपुग्ने देखिन्छ । नगरपालिकाको वडा स्तरको कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ लगानीमा नयाँ शौचालय निर्माण हुन लागेको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया