ओली र प्रचण्डको नाम जोडिएपछि मार्सी चामलको मूल्य बढ्यो, किसान उत्साहित

 साउन २४, २०७५ बिहिवार १३:२:४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – केही महिनादेखि दिनहुँजसो मार्सी भातको चर्चा भैरहँदा चामलको माग र बिक्री बढेको छ ।

कर्णालीको मार्सी धानको चामल जुम्लाबाट काठमाडौं र सुर्खेत बजारमा प्रशस्तै मात्रामा माग भएपछि अहिले जुम्ली किसान उत्पादन कसरी बढाउने भनेर सोधीखोजी गर्न थालेका छन् ।

केही किसानले गएको वर्ष लगाएको आफ्नो धान सुरक्षित गर्न गोडमेल सुरुवात गर्नुका साथै गुणस्तर उत्पादन गरी बिक्री गर्ने सोचमा रहेका छन् भने केहीले गएको वर्षको स्टक धान र चामल बिक्री गरिरहेका छन्  । 

जुम्लामा पहिले ७० देखि ८० रुपैयाँसम्म बिक्री हुने मार्सी चामल अहिले १२० देखि १५० रुपैयाँसम्म बिक्री भैरहेको छ । सुर्खेतमा भने १७० रुपैयाँभन्दा माथि बिक्री भैरहेको छ । त्यही चामल काठमाडौंका बजारमा भने २२० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भैरहेको छ ।

 

जुम्लामा तातोपानी गाउँपालिका वडा नम्बर –१, लिताकोट गाउँबाट यो हप्तामा झण्डै आधा टनभन्दा बढी धान बिक्री भैसकेको छ । स्थानीय गौरीशंकर उपाध्यायले आफूसँग भएको केही धान अहिले सुर्खेतमा बिक्री गरेको र अब धान उत्पादनमा जोड दिएको बताउनुभयो ।  

यस्तो छ मार्सीको इतिहास   

१२ औं शताब्दीमा जुम्लाको तातोपानीमा पहिलो पटक यो धान रोपिएको स्थानीयबासिन्दाले बताएका छन् ।

त्यतिबेला गुरु चन्दननाथ बाबाले भारतको कश्मीरबाट कालीमार्सी धानको बीउ ल्याइ तातोपानीको लाक्षु ज्यूलामा लछालकृति पैकलालाई तालिम दिई लाछु ज्युलोमा धान खेती विस्तार गरेको इतिहास रहेको स्थानीय तथा तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

न्यौपानेका अनुसार तातोपानीमा एक सुपो (नाङ्लो) धान हुने खेत अहिले पनि छ । त्यो खेतमा जहिले पनि एक सुपो धान हुन्छ । योसँग इतिहास जोडिएको छ । 

पछिल्लो समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गर्ने चलन थियो ।  अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा चढाउने चलन छ । यसैगरी तत्कालीन समयमा राजाहरुले सिंजा क्षेत्रमा यो धानको उत्पादन बढाएका थिए । 

कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख तथा वैज्ञानिक डाक्टर श्रीप्रसाद बिष्टले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताउनुभयो ।उच्च  पहाडको हावापानी हुने स्थानीय जातको धान १८ सय मिटरभन्दा माथिको पहाडी भेगमा फल्दछ ।उहाँका अनुसार जुम्लासहित कर्णालीको यो उचाईमा मार्सी फल्ने गर्दछ । 

मार्सी धान संसारको उच्च ठाउँमा धान फल्ने भाग छुमचौर (२७ सय ९० मिटर),  सिञ्जा उपत्यका, तिला हिमा नदीको छेउमा उत्पादन हुन्छ । 

जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउने गरिएका कारण यसको इतिहास पुरानै थियो भन्न सकिन्छ । 

पछिल्लोपटक मेडिकल सञ्चालक दुर्गा प्रसाईंको घरमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएपछि फेरि यसको चर्चा बढेको हो ।

यसरी उमारिन्छ, मार्सीको बीउ 

जुम्लाका गाउँहरुमा जुम्ली मार्सीको बीउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ, जुन अहिलेसम्मको प्रचलनमा छ ।

हरेक वर्ष चैत्र १२ गते बीउ केलाउने र पानीमा भिजाउने, १६ गते निकालेर टुसा उमार्नका लागि तातो गरेर ढाकेर राख्ने चलन रहेको छ । यसरी टुसा उमारेको बीउ चैत २० गते छर्ने चलन रहेको छ ।

त्यसै दिन मार्सी छरिएकै कारण विसुवा पर्व पनि यहाँ मनाइने गरिन्छ ।  मार्सीका विकल्पमा बढी उत्पादन हुन सक्ने भन्दै कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र ३ धान वितरण गरेपछि अहिले त्यो धान उत्पादन सुरु भएको छ ।

त्यसको स्वाद मार्सी धानकै जस्तो हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।  

पछिल्लो समय मार्सीको चर्चा राजनीतिसँग जोडेर पनि भएपछि यसको ‘ब्रान्डिङ’ समेत भएको छ । अर्कोतिर सामाजिक संजाल रंगिएपछि यसको व्यापक प्रचार भएको छ । 

छुमचौरमा रोपियो धान 

धान फल्ने विश्वको सबैभन्दा अग्लो ठाउँ जुम्लामै छ । जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरमा पनि यो पटक प्रशस्त मार्सी धान रोपिएको छ । केही वर्षअगाडि रोप्न छोडिएको मार्सी यो वर्ष किसानले फेरि रोपेका छन्  । 

यसले गर्दा मार्सी धानको उत्पादनमा बढ्ने भएको छ । यहाँका युवाहरु धान रोप्ने समयमा यार्सा टिप्न जाने हुनाले धान रोप्न छोडिएको थियो । अब भने धान जोगाउन आवश्यक भएकोले यो वर्ष रोपिएको स्थानीय लक्षिराम रावतले बताउनुभयो । 

नेपाली भाषाको उद्गम स्थल सिंजामा पनि मार्सी धान प्रशस्तै फल्ने गर्दछ । यहाँ फल्ने मार्सी धान विशेष गरी रातीमार्सी हो ।

यो मार्सीको चामल निकै रातो हुने गर्दछ । यहाँका ३ वटा गाउँपालिका कनकासुन्दरी, सिंजा र हिमाका धान पकेट क्षेत्रमा रातीमार्सी रोपिएको छ । 

नेपालको पहिलो अर्गानिक जिल्ला 

जुम्ला नेपालको पहिलो कृषि अर्गानिक घोषित जिल्ला हो ।  यहाँ उत्पादन हुने सबै कृषि उपज र खाद्यान्नमा विषादी प्रयोग गर्न पाइँदैन । तर अर्गानिक जिल्लाको आधार तयार नभएपछि अर्गानिक बालीको उत्पादनमा चुनौती समेत देखिएको छ । 

वि.स. २०६४ सालमा १४ औँ जिल्ला परिषदबाट जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।

यसमा पनि यहाँको मुख्य बाली राती मार्सी र काली मार्सी धान विभिन्न प्रकारका विषादीले सखाप पारेपछि जुम्लालाई सुरक्षित अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।

यसका साथै सबै बालीहरु अर्गानिक उत्पादन हुन्छन् । यहाँ उत्पादन हुने स्याउ, सिमीमा पनि अर्गानिक मल मात्रै प्रयोग गरिन्छ । 

हेर्दा रातो, मिठो र  पौष्टिक हुने यहाँको मार्सी धान पहिले–पहिले जुम्लामा निकै धेरै हुने गर्दथ्यो । तर जुम्लामा मोेटरबाटो पुगेपछि भने केही कमी भएको छ ।

जैविक मल कारखानाको माग 

अघिल्लो दशकमा एकातिर ब्लाष्ट नामक रोगका कारण धान नोक्सान भएको थियो भने अर्कोतिर घानखेतीमा झारपात, किरा मार्ने भन्दै ब्यूटाकुलर नामक विषादी प्रयोग गरेपछि धान सखाप भएर उत्पादनमा व्यापक ह्रास भएको थियो । 

तत्कालीन समयमा जुम्लाका बासिन्दा व्यापार गर्न  भारततिर जाने र सडक नखुल्दै धानको लागि औषधी भन्दै विषादी बोकेर प्रयोग गरेपछि मार्सी धान उत्पादनमा ह्रास आउनुका साथै खेतमा काम गर्ने किसानको स्वास्थ्यमा समेत समस्या आउने गरेको थियो । 

जु्म्लालाई अर्गानिक जिल्ला घोषणा गरेपछि यही जैविक मल पर्याप्त उत्पादन हुने पूर्वाधार तयार हुन सकेको छैन् । अझै लुकिछिपी विषादी प्रयोग भइरहेको गुनासो आउने गर्दछ ।

जिल्ला कृषि विकास कार्यालयले जनचेतना कार्यक्रमसँगै विषादीको नियमन गरेका कारण पछिल्लो समयमा मार्सी धानमा विषादी छरिएको देखिँदैन ।

यसका साथै पछिल्लो समयमा धानसँगै यहाँ हुने स्याउलगायतका बालीहरु पूर्ण रुपमा अर्गानिक उत्पादन हुँदै आएका छन् ।

चन्दननाथ नगरपालिका तलिउमका किसान धनरासी भण्डारीले अर्गानिक घोषणा जिल्लामा विषाधि हाल्न नमिल्ने बताउँदै झारपात कम गर्न जैविक मलको कारखाना जुम्लामै आवश्यक रहेको बताउनुभयो । यसो भएमा मार्सी धान लगायत अरु बाली उत्पादन बढाउन सकिने किसानको भनाई छ ।
 

अन्तिम अपडेट: साउन ३१, २०७५

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया