महिलालाई नागरिकतामा विभेद गर्न खोजिएको भन्दै ट्वीटरमा 'दोस्रो दर्जाकी' अभियान

 साउन २५, २०७५ शुक्रबार ९:१०:२६ | उज्यालो सहकर्मी

काठमाडौं - नागरिकता ऐन २०६३ संशोधन विधेयकले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् । ट्वीटर प्रयोगकर्ता महिलाहरुले आफ्नो ह्यान्डलमा 'दोस्रो दर्जा'की शब्द थपेर नयाँ अभियान सुरु गरेका छन् । यसमा निर्वाचन आयुक्त इला शर्मादेखि अरु धेरै महिला अधिकारकर्मी सहभागी छन् ।

आमाको नामबाट नागरिकता पाउने प्रावधानलाई जटिल बनाउन खोजिएको भन्दै यसको विरोधमा उनीहरुले यस्तो अभियान चलाएका हुन् । 

के छ विधेयकमा ?

सरकारले संसदमा दर्ता गराएको विधेयकमा आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान हुन नसकेको स्वयंले वा आमाले स्वघोषणा गरे मात्र नागरिकता पाउनेछ ।

नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ८ को उपदफा १ को खण्ड क मा भनिएको छ, ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’

विधेयकको दफा ३ को उपदफा ५ मा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिनेछ ।’ तर, बाबुको पहिचान भई विदेशी नागरिक भएको ठहरिएमा वंशजको आधारमा लिएको नागरिकता अंगीकृतमा परिणत हुने व्यवस्था गरिएको छ ।

विधेयकमा भएको व्यवस्था अनुसार कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसको आमाले बाबुको पहिचानबारे स्वघोषणा गर्नुपर्ने छ । 

नागरिकता लिनेक्रममा आमा पत्ता नलागेको विषय उल्लेख गर्न नपर्ने, तर बाबु पत्ता नलागेको कुरा लेख्नुपर्ने विषय नै महिला र पुरुषबीच नागरिकताको सवालमा विभेदपूर्ण रहेको भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् ।

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरे वंशजका आधारमा उसका सन्तानले नागरिकता पाउने, तर विदेशी पुरुषले नेपाली नागरिक महिलासँग विवाह गर्दा उसका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ । 

आमा वा बुवा, जसको नामबाट नागरिकता लिन चाहे पनि समान व्यवहार हुनुपर्ने भन्दै अधिकारकर्मीहरुले यसलाई सच्याउन माग गरेका छन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

2 Comments

  • जोनि जेके

    Aug. 14, 2018, 9:57 a.m.

    मेरो पनि आमा को नागरिकता वंशज को छ।तर पतिको नाम थर मा भारतीय लेखिएको छ।म आज ३९ बर्ष को भए आज सम्म पनि नागरिकता पाएको छैन।म यहि जन्मे यहि बिवाहा भयो।तीन वटा बच्चाहरु छन् ।मैले आज सम्म नागरिकता पाएको छैन।मेरो घर नुवाकोट हो।शिक्षण पेशा गरेर परिवार पालेको छु।गृह मन्त्रालय म निवेदन दिएको धेरै वर्ष भयो ।भारतीय दूतावास बाट पत्र लिएर आउनु अनि मात्र हुन्छ भन्छन।तर भारतिय दूतावास तेरो बाबुको भारतिय कागजात के हो भारतीय हो भन्ने प्रमाण लिएर आइज भन्छ।म संग केही छैन भारतीय प्रमाण।न भारतीय दूतावास ले केही प्रमाण दिन्छ।न मैले नेपाली नागरिकता पाएको छु।के गरु ठूलो छोरी ले १० कक्षा म छ अर्को वर्ष ११ मा कसरी उसलाई नागरिकता दिलाउने मेरो नै नागरिकता छैन।म सङ सबै प्रमाण छन।जन्म दर्ता देखि सबै तर बाउ को चाहिन्छ।आमाको ले हुदैन भन्छ्न।म ३९ वर्षको अनागरिक र मेरो तीन सन्तान नेपाली हो तर नागरिकता छैन।नुवाकोट विदुर नगरपालिका वडा नम्बर ५ गङगटे बजार हो।मेरो बुबा २०३२ मा नेपाल आएर बस्नु भयो र २०५९ मा स्वर्गीय हुनु भयो।हाम्रो अस्तित्व भनेको बुबाको नाम थर ममिको नागरिकता मा भारतिय लेखिनु।न बुबाको घर कहिले गाइयो।न बसियो।यहि जन्मे हुर्के खेले पढे र पढाउने पेशा गर्छु।खुशी छु नेपाल मै जन्मे र मर्छु पनि धेरै गर्भ छु।मात्र पिर एउटै छ छोरा छोरी ले पनि नागरिकता नपाउलान भनेर ।

  •  0 Reply
  • जोनि जेके

    Aug. 14, 2018, 9:27 a.m.

    मेरो पनि आमा को नागरिकता नेपाली वंशजको छ।र पति को नाम थर भारतीय लेखेको ले मैले हाल सम्म नागरिकता पाएको छैन।म ३९ वर्ष को भए।मेरो परिवार मेरो बच्चाहरु मेरो श्रीमति सबै नेपाली हो म यहि जन्मे मेरो बहिनी को विवाह पछि नागरिकता पायो तर म नागरिकता बिहिन छु।शिक्षण पेशा गरेर परिवार पालेको छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया