कलंकीमा जाम, अब ‘३० सेकेण्ड’ मात्र (भिडियो)

 साउन २५, २०७५ शुक्रबार १३:४९:२४ | उज्यालो सहकर्मी

काठमाडौं – जामका कारण यात्रु हत्तुहैरान बन्ने काठमाडौंको कलंकीमा जाममा बस्नुपर्ने दिन सकिँदैछन् । अण्डरपास सञ्चालनमा आएसँगै कलंकीमा बढीमा आधा मिनेटको मात्र जाम हुने चक्रपथ सडक आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले बताउनुभयो । 

अण्डरपास निर्माणको लगभग सबै काम सकिएकाले अब केही दिनभित्रै सञ्चालन हुने उहाँले बताउनुभयो । 

झरीका कारण काम गर्न समस्या भएपछि अण्डरपास सञ्चालनमा केही ढिलाई भएको आयोजना प्रमुख भण्डारीको भनाई छ । शुक्रबार दिनभरि काम गर्न पाए अण्डरपासको काम लगभग पूरा हुने उहाँले जानकारी दिनुभयो । 

अण्डरपास सञ्चालन भएपछि चक्रपथमा गुड्ने गाडी अण्डरपासबाट सिधै ओहोरदोहोर गर्ने भएकाले जाममा बस्नुपर्ने छैन । आयोजना प्रमुख भण्डारीका अनुसार अण्डरपासमाथि बाट गुड्ने गाडीमध्ये बायाँतर्फ जाने गाडीले पनि जाममा बस्नु पर्दैन । जताबाट पनि बाँयातिर जाने गाडीले सिधै मोडिन पाउनेछन् । दायाँतर्फ मोडिनुपर्ने गाडीले भने केहीबेर पालो पर्खर्नुपर्नेछ । त्यसरी दायाँतर्फ जाने गाडीले बढीमा आधा मिनेट मात्र कलंकीमा पालो कुर्नुपर्ने प्रमुख भण्डारीले बताउनुभयो ।

चीनको अनुदान सहयोगमा कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो । अण्डरपास निर्माणको काम ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर सुरु गरिए पनि २ वर्षमा बल्ल सकिएको हो । 

अण्डरपास सञ्चालनमा आएपछि कसरी हुनेछन् त कलंकीमा गाडी पास ?  हेर्नुहोस् भिडियोमा 

प्रस्तुति : लक्ष्मण कार्की

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया