चर्चित १७ फुटबल खेलाडीहरुकाे ट्रान्सफरकाे नालीबेली

 साउन २५, २०७५ शुक्रबार १४:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली फुटबल खेलाडीको फेरबदलको बजार (ट्रान्सफर विन्डो) आज बन्द हुँदैछ । 

युरोपको उत्कृष्ट पाँच लिगमा अहिलेसम्म ११६८ ट्रान्सफर भएका छन् । जसमा ३.४७ बिलियन पाउण्डको कारोबार भइसकेको छ ।

यो समर ट्रान्सफरमा सबैभन्दा धेरै रकममा स्थानान्तरण हुने खेलाडी फ्रान्सेली स्टार केलियन एमबाप्पे हुन् । 

गोलकिपरमा सबैभन्दा महँगो मूल्यमा चेल्सीले एथलेटिक बिल्बाअाेबाट केपा अर्रिजाबालागालाई अनुबन्ध गरेको छ । 

केलिएन एमबाप्पे

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका केलियन एमबाप्पेलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले स्थायी अनुबन्ध गरेको छ । 

अघिल्लो सिजन आर्थिक अनुशासनको नीति विपरित हुने भएपछि मोनाकोबाट एमबाप्पेलाई लोनमा भित्राएको पीएसजीले यो समरकै कीर्तिमानी रकमा अनुबन्ध गरेको छ । 

उनलाई १५९.३ मिलियन पाउण्डमा पिएसजीले स्थायी अनुबन्ध गरेको हो । 

क्रिष्टियानो रोनाल्डो


समर ट्रान्सफरमा सबैभन्दा सनसनी पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो बने । 

३३ वर्षे फरवार्डले रियल मड्रिडमा नौ वर्ष बिताएपछि इटाली जानका लागि मार्गप्रशस्त गर्न अनुरोध गरेपछि उनलाई स्पेनिस जायन्टले युभेन्टसलाई बेच्यो । 

उनी ८८.५ मिलियन पाउण्डमा युभेन्टसमा अनुबन्ध भए । इटालियन महारथी युभेन्टससँग सम्झौता गरेपछि रोनाल्डोको प्रति हप्ता पारिश्रमिक पाँच लाख पाउण्ड भएको छ ।

उनी अबको चार वर्षका लागि युभेन्टसमा रहनेछन् । 

केपा अर्रिजाबालागा

स्पेनिस क्लब एथलेटिको बिलबाओका गोलकिपर केपा अरिजाबालागाको नाम खासै सुनिएको थिएन । तर इंग्लिस क्लब चेल्सीले उनलाई कीर्तिमानी रकममा अनुबन्ध गरेपछि उनी एकाएक चर्चामा आए ।

थिबाउट कोट्वालाई रियलमा बेच्नका लागि चेल्सीलाई उत्कृष्ट गोलकिपरको खाँचो थियो । 

कोट्वाको स्थानका लागि चेल्सीले केपालाई ७१.६ मिलियन पाउण्ड खर्चियो । 

जुन रकम गोलकिपरका लागि कीर्तिमानी रकम हो । उनले चेल्सीमा सात वर्षका लागि सम्झौता गरेका छन् । 

एलिसन


ब्राजिलका गोलकिपर एलिसनलाई लिभरपुलले पनि कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो । 

अघिल्लो महिना एलिसनलाई लिभरपुलले रोमाबाट क्लब भित्राएको हो । 

च्याम्पियन्स लिगको फाइनलमा खराब प्रदर्शन गरेका लोरिस कारियसले प्रि–सिजनमा पनि खराब प्रदर्शन गरेपछि प्रशिक्षक जर्जेन क्लोपले उनको विकल्प खोजेका थिए । 

एलिसनलाई लिभरपुलले ६५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । जुन त्यसबेला गोलकिपरका लागि कीर्तिमानी रकम हो ।

तर चेल्सीले केपालाई भित्राएपछि सो कीर्तिमान तोडिएको थियो । 

रियाद मेहरेज


म्यान्चेष्टर सिटीको समरको पहिलो ट्रान्सफर रुपमा अल्जेरियन खेलाडी रियाद मेहरेजलाई अनुबन्ध गर्‍यो ।

सन् २०१६ मा लेस्टर सिटीले लिग जित्दा मिडफिल्डबाट मेहरेजले महत्वपूर्ण योगदान दिएका थिए ।

प्रशिक्षक पेप ग्वार्डिओलाले मेहरेजका लागि ६० मिलियन पाउण्ड खर्च गरेका छन् । जुन म्यान्चेष्टर सिटीको कीर्तिमानी सम्झौता हो । 

नेबी केइटा


खेलाडी किन्नका लागि मोटो रकम खर्च गरेको लिभरपुलले गुयनाका सेन्ट्रल मिडफिल्डर नेबी केइटालाई अनुबन्ध गर्‍यो । 

जर्मन क्लब लिप्जिकका महत्वपूर्ण खेलाडी रहँदै आएका थिए । उनलाई लिभरपुलले ५२.८ मिलियन पाउण्ड खर्च गरेको छ । 

थोमस लेमार


फ्रान्सले रसिया विश्वकप जित्दाका सदस्य थोमस लेमारलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गरेको छ ।

लिभरपुल र आर्सनलमा आवद्ध हुने चर्चा चलिरहेका बेला एट्लेटिको मड्रिडले उनलाई भित्रायो । २२ वर्षे लेमारलाई एट्लेटिकोले ५२.७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । 

जर्जिन्हो


इटालियन क्लब नेपोलीबाट माउरिजियो सार्रीलाई प्रशिक्षकमा नियुक्त गरेसँगै चेल्सीले जर्जिन्होलाई पनि अनुबन्ध गरेको छ । 

जर्जिन्हो सार्रीसँगै चेल्सी आएका हुन् । मिडफिल्डर जर्जिन्होका लागि चेल्सीले ५०.४ मिलियन पाउण्ड खर्च गरेको छ । 

जर्जिन्होले चेल्सीमा तीन वर्षका लागि सम्झौता गरेका छन् । 

फ्रेड


म्यान्चेष्टर युनाइटेडले ब्राजिलका फ्रेडलाई पाँच वर्षका लागि अनुबन्ध गरेको छ । युनाइटेडले युक्रेनी क्लब शाख्तर डोनेस्ट्कबाट उनलाई ५२ मिलियन पाउण्डमा भित्र्याउन सफल भयो । 

विश्वकप जारी रहेकै बेलामा प्रशिक्षक जोसे मोउरिन्होले शाख्तरसँग उनको सम्झौता टुंगाएका थिए । 

भिनिसियस जुनियर

१६ वर्षे ब्राजिलियन खेलाडी भिनिसियसका लागि स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडले ठूलै कसरत गरेका थिए । 
तर रियल मड्रिडले उनलाई अनुबन्ध गर्‍यो । 

उनलाई रियलले ४०.२ मिलियन पाउण्डमा अनुबन्ध गरेपनि एक वर्षका लागि ब्राजिलियन क्लब फ्लेमिंगोबाटै खेल्नेछन् । 

१८ वर्ष पार नगरी खेलाउन नपाउने भएका कारण उनी मड्रिड आउन सक्नेछैनन् । 

सन् २०१९ को जुलाईसम्म उनी ब्राजिलियन क्लबबाटै खेल्नेछन् । 

फाविन्हो

इम्रे क्यानले लिभरपुल छोड्ने निर्णय गरेपछि प्रशिक्षक जर्जेन क्लोप उनको स्थानमा उपयुक्त विकल्पको खोजी गरिरहेका थिए । 

क्यानको स्थानमा लिभरपुलले मोनाकोबाट फाविन्होलाई अनुबन्ध गरेको छ । 

लिभरपुलले फाविन्होलाई ४० मिलियन पाउण्डमा एन्फिडमा ल्याएको हो । 

माल्कम


स्पेनिस क्लब बार्सिलोनाले बोर्डोका विङ्गर माल्कमलाई नोउ क्याम्प भित्र्यायो । 
२१ वर्षे खेलाडीका लागि इटालियन क्लब रोमाले चासो देखाएको थियो । 
रोमाले माल्कमका लागि सम्झौता भइसकेको जनाइसकेको दोस्रो दिन उनलाई क्याम्प नोउमा बार्सिलोनाले सार्वजनिक गरेको थियो ।
माल्कमलाई अनुबन्ध गर्नका लागि बार्सिलोनाले ३६.५ मिलियन पाउण्ड खर्च गरेको थियो । 

हाओ क्यान्सेलो


रोनाल्डोलाई क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको युभेन्टसले डिफेन्डर हाओ क्यान्सेलोलाई पनि अनुबन्ध गरेको छ । 
उनलाई युभेन्टसले ३५.५ मिलियन पाउण्डमा सम्झौता पूरा गरेको हो । 

अर्थर


बार्सिलोनाले समरको भित्र्याएको दुई महत्वपूर्ण खेलाडीमा अर्थर पनि एक हुन् ।

मिडफिल्डर अर्थरलाई नोउ क्याम्प ल्याउनका लागि बार्सिलोनाले ग्रिमियोलाई ३५.५ मिलियन पाउण्ड तिरेको थियो । २१ वर्षे अर्थरसँग क्लबले ६ वर्षको सम्झौता गरेको छ ।

उनलाई जनवरी ट्रान्सफरमा बार्सिलोना ल्याउने भनिए पनि मिडफिल्डमा आन्द्रेज इनियस्टा र पाउलिन्हो उपलब्ध नहुने भएपछि क्लबले हतार गरेको हो । 

अल्भारो ओड्रियोजोला


रियल सोसियडाडका डिफेन्डर अल्भारो ओड्रियोजोलालाई रियल मड्रिडले अनुबन्ध गरेको छ । 

उनलाई रियल मड्रिडले ३५.४ मिलियन पाउण्डमा सान्टियागो बर्नाबाउ भित्र्याएको हो । 

डग्लस कोस्टा


ब्राजिलियन विङ्गर डग्लस कोस्टा युभेन्टसमा आवद्ध भए । 

उनलाई जर्मन क्लब बायर्न म्युनिखबाट युभेन्टसले ३५.२ मिलियन पाउण्डमा आवद्ध गरेको हो । 

थिबाउट कोट्वा


चेल्सी छोडेर रियल मड्रिडमा आवद्ध हुन चाहेको बताउँदै आएका बेल्जियन गोलकिपर थिबाउट कोट्वा अन्ततः सान्टियागो बर्नाबाउ पुग्न सफल भए । 

उनलाई रियलले ३५ मिलियन पाउण्डमा आवद्ध गर्ने पक्का भएको हो । 

उनले बिहीबार स्वास्थ परीक्षण गरेपछि सात वर्ष लामो सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कोट्वाको सम्झौतामा ३५ मिलियन बाहेक चेल्सीले माटेयो कोभासिचलाई पनि एक वर्षका लागि भित्र्याएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया