जब मलाई कुर्सीमा बाँधेर करेन्ट लगाइयो...

 साउन २६, २०७५ शनिबार १३:९:५७ | दुर्गा सुवेदी
unn.prixa.net

विमान अपहरण गरेको आरोपमा भारतमा गिरफ्तार गरिएको चौथो दिन बिहान ७ बजे दुई जना पुलिस र एकजना अफिसरको फुली लगाएको मानिसले मेरो सेलको ढोका हल्लाए । 

अफिसरले मलाई बिस्तारै सोध्यो, ‘के बयान हुँदैछ ? म बीपी निवासबाट आएको हुँ ।’

उसले सहानुभूतिजन्य व्यवहार गरेर बीपीसँग मेरो सम्बद्धता प्रमाणित गर्न चाहेको मैले बुझिहालो । अनि पुरानै जवाफ दोहोर्‍याएा, ‘म बीपीलाई चिन्दिनँ ।’
त्यसपछि उनीहरु गए । 

१० बजे मेरो सेलको ताल्चा खोल्न अर्कै हवल्दार आयो र दुवै हातमा हतकडी लगाएर सेल बन्द गर्‍यो । आधा घन्टापछि फेरि उही बजरङ्गवली हवल्दारले केरकार कोठाको बेन्चमा लगेर राख्यो । हातका हतकडीतर्फ इसारा गर्दै बजरङ्गवलीले भन्यो, ‘अब थाहा हुन्छ, तपाई क्रान्तिकारी हो वा कायर ?’

अर्को पुलिस अफिसर भित्र आयो र उसलाई केही आदेश दिएर बाहिर पठायो । मैले कोठातिर नजर दौडाएँ । टेबलमा बेतका डन्डा, छालाका कोर्रा, रबरका पन्जा र बिजुलीको तार जोडिएका स–साना यन्त्र राखिएका थिए । 

अफिसरले कुर्सीमा बसेर मतिर हेर्दै भन्यो, ‘आजदेखि हामी तिम्रो लिखित बयान लिएर मुद्दाको तयारी गर्दैछौँ ।’

दराजबाट एउटा फाइल निकालेर टेबलमा राख्दै अर्को पुलिसको पदाधिकारी पनि त्यहीँ आएर बस्यो । उसले कलम–कागज टेबलमा राखेर मेरो नाम, उमेर र ठेगाना सोध्यो । मैले नाम मात्र ढाँटेर ठेगाना विराटनगर नेपालकै बताएँ । बनारस, लङ्काटोलको घरमा कहिलेदेखि बसेको, त्यस घरमा भाडामा बस्ने विद्यार्थीसँगको जान–पहिचान सोधेपछि ‘हवाई डकैतीमा संलग्न अरु दुई जना कहाँ छन् ?, पैसा कसलाई राख्न दिएको छ ?’ जस्ता प्रश्नको जवाफमा मैले त्यस्तो घटनामा आफू संलग्न मानिस होइन भनेर अनभिज्ञता प्रकट गरेँ । 

त्यसपछि अर्कोले फाइल देखाउँदै भन्यो, ‘नेपाल सरकारले तिमीहरुलाई गिरफ्तार गरेर सुपुर्दगी गर्न भनी भारत सरकारलाई दिएको लिखित विवरणमा उल्लेख भएबमोजिम घटनाको प्रमुख अभियुक्त दुर्गा सुवेदी भनेरै हामीले तिमीलाई गिरफ्तार गरेका हौँ । अब झूट बोलेर बच्ने कुरै छैन । हामीले विगत चार दिनदेखि तिमीसँग राम्रो व्यवहार गर्दै आएका छौँ । सही कुरा बताएर पुलिसलाई आफ्नो काम सम्पादन गर्न सहयोग नगर्ने हो भने हामीले पनि अपराधीलाई बकाउन जानेका छौँ ।’

यस्तो कडा धम्की दिएर ऊ मेरो नजिक आएर उभियो । तर, म केही बोलिनँ । मैले केही भन्छ होला भनेर उसले एक मिनेटजति प्रतीक्षा गर्‍यो । 

त्यसपछि हवल्दारलाई स्टोरबाट अग्लो कुर्सी ल्याउन आदेश दियो । मलाई त्यो कुर्सीमा बसाइयो ।

‘लातका भूत बात से नही मानेगा, तयारी करो,’ भन्दै दुवै अफिसर बाहिर निस्किए । बजरङ्गवली हवल्दारले मेरो हतकडी खोलेर दुवै हात कुर्सीमा बाँधिदियो । र, मलाई बिजुलीको तार जोडेको यन्त्रनजिक पुर्‍यायो । 

आधा घन्टापछि केरकार गर्ने मानिस मेरो नजिक आएर जङ्गिँदै भन्न थाल्यो, ‘अब पता चलेगा तुमको पुलिससे झूट बोल्नेका नतिजा क्या होता हैं ।’ (अब थाहा हुन्छ तँलाई, पुलिससँग झूट बोल्नुको नतिजा के हुन्छ ?)

अर्को मानिस आएर बिजुलीको तारलाई प्लकमा जोडेपछि मेरा दुवै कानमा टेबलमा राखेको यन्त्रबाट तार निकालेर टाँसियो । त्यसपछि बयान लिने मानिसले हातमा रबरको पन्जा लगाएर मेरो कपाल तान्दै भन्न थाल्यो, ‘बिजुलीको झट्कापछि तैँले यस फाइलमा लेखिएका कुरा स्वीकार गर्न बाध्य हुनेछस् । त्यस्तो यातनाले तेरो मानसिक र शारीरिक अवस्था नै बिग्रिन सक्छ । अझै समय छ ।’

मेरो कपाल जोडले तान्दै एकछिन मेरो अनुहारतिर हेरिरह्यो । म केही बोलिनँ । 

त्यसपछि झोक्किँदै उसले आदेश दियो, ‘चालू करो ।’

मेरो शरीरमा करेन्टको एक झट्का आयो । करेन्टले शरीरमा कम्पन र ऐठन भयो । 

एकै सेकेन्डमा करेन्ट बन्द गर्न लगाएर भन्यो, ‘अब तुम सच बताओ, बीपी कोइरालाको जानते हो कि नही ?’ (अब सत्य भन, बीपी कोइरालालाई चिन्छौ कि चिन्दैनौ ?)

मैले भनेँ, ‘चिन्दिनँ ।’

उसले फेरि करेन्टको झट्का दिन सुरु गर्‍यो । तीन–चार झट्कापछि मलाई मेरो टाउको सुक्दै गएको महसुस हुन लाग्यो । हावा खुस्किएको फुटबलजस्तो टाउको चाउरिँदै गएजस्तो लाग्यो । शरीर अररो हुन थाल्यो । 

उसले फेरि करेन्ट बन्द गरेर एउटा खाली कागजमा हस्ताक्षर गर भन्दै बाँधेको हात खोल्न लगायो । मैले हातमा दिएको कलम समाउन मानिनँ, कलम भुइँमा खस्यो । 

हस्ताक्षर गर्न नमानेपछि ऊ झन् रिसायो । प्रचण्ड रुप धारण गर्दै फेरि कुर्सीमा बाँधेर करेन्ट चालू गर्न भन्यो । 

लगातारको आठ–दस झट्कापछि मलाई पिसाब आयो । मैले थाम्न सकिनँ । कुर्सीबाट मेरो पिसाब बगेको देखेपछि ऊ आत्तियो । हतारिँदै भन्यो, ‘बन्द करो । साला पेसाब से भिग गया हैं । मर जायेगा ।’ (ए बन्द गर, साला यो त पिसाबमा भिजेको छ, फेरि मर्ला ।)

उसले बजरङ्गवलीलाई बोलायो र कपडा फेरेर फेरि ल्याउन भन्यो । कोठाबाट बाहिर निस्किँदा मेरो शरीर अररो भयो । पाइला चाल्नै गाह्रो भयो । हवल्दारले हातमा समाएर सेलमा पुर्‍याएपछि झोलाबाट कपडा निकालेर फेर्न दियो र आफू बाहिरियो । 

ऊ फर्केर आउँदा म लुगा फेरेर सुतिरहेको थिएँ । भित्र पसेर मलाई उठाउँदै भन्यो, ‘तपाईंले सत्य नबोल्न किन यस्तो ढिपी लिएको ? लगातार करेन्ट लगाउँदा लगाउँदै पागल बनाई दिनेछन् । यो बिजुलीको तरिका प्रयोगमा ल्याएको चार–पाँच वर्ष हुँदैछ । यसबाट डाँका र हत्याराहरु पागल भएको मैले देखेको छु ।’

त्यसै बेला मलाई यातना दिएको हेरिरहेको पुलिस अफिसर आयो र भन्यो, ‘यिनलाई अहिले बयान लिन लानु पर्दैन ।’ हवल्दारले ‘बजरङ्गवली की जय’ भन्दै सेल बन्द गरेर गयो ।

कपडा बदलेर सुत्दा दिनको १ बजेको थियो । म एकदम शीताङ्ग थिएँ । जीउ कामिरहेको थियो । हलचल गर्दा पनि पूरा सेल हल्लिएजस्तो भइरहेको थियो । यस्तो लाग्थ्यो, मेरो दिमागबाट सबै स्मृति निकालिएको छ । खालि शून्यजस्तो दिमाग लिएर म सुतिरहेको थिएँ । एक घन्टापछि होटलको भाइले खाना ल्यायो । मलाई खान मन थिएन, फर्काइदिएँ । 

केही बेरपछि थानेदार आयो । उसले अर्को पुलिसलाई खाना बोकाएर ल्याएको थियो । 

‘आज बयान हुँदैन, रातभरि सोच–विचार गरेर भोलि बयान दर्ज गराउनु होला । अहिले खाना खाएर आराम गर्नू ।’ यति भनेर ऊ गयो । तर, दिमागशून्य भएर होला, उसको बोली मलाई साउती मारेजस्तो लाग्यो । 

खुट्टा बाउँडिएर छटपटाउन थालेँ । डाक्टर आएर मेरो नाडी छामेको थाहा पाएँ । उसले मेरो मुख, आँखा खोलेर हेरेपछि ग्लुकोज पानी प्रशस्त खान दिनु भन्दै गयो ।
एकछिनपछि उही बूढो बजरङ्गवलीले मलाई हात समातेर उठाउँदै पानी पिउन भन्यो । मेरा हातले ग्लास राम्रोसँग पक्डन नसकेको देखेर उसैले समातेर दुई–चार घुट्का पानी पिलाएपछि ग्लास आफैँले समातेर पिउन थालेँ ।

हवल्दारले मेरो छेउमै बसेर बिस्तारै भन्यो, ‘तपाईंको शारीरिक अवस्था त्यसै पनि कमजोर देखिन्छ । बिजुलीको करेन्टले नसामा बग्ने रगतमा शिथिलता ल्याउने हुँदा यस्तो भएको हो । अब करेन्ट लाउनु हुँदैन भन्ने सल्लाह डाक्टरले दिएका छन् । अहिले तरल पदार्थ मात्रै खान दिनु भनेकाले दहीको लस्सी मगाएको छ, तपाईं विदेशको चर्चित घटनामा संलग्न मानिस भएकाले यातनापछि डाक्टर बोलाइएको हो । अन्यथा यस्तो रेखदेख यहाँ गरेर साध्य छैन ।’

सेल बन्द गरी ऊ निस्कियो । साँझ अफिसबाहिर निस्कने बेलामा थानेदारले सेल नजिक आएर फेरि त्यही कुरा दोहोर्‍याए, ‘आज रातभरि सोच–विचार गरेर भोलि बयान दिने हो भने मुद्दा स्थापित गरेर जेल पठाउने विचार छ । पुलिसले त्यसै प्रमाण नभई पक्राउ गरेको छैन, प्रमाण जुटेका छन्, ढाँटेर हुँदैन ।’

मानिसको शरीर कमजोर भयो भने मन पनि कमजोर हुँदो रहेछ । त्यो रात मैले आफूलाई साह्रै असहाय र कमजोर महसुस गरेँ । शरीरमा शक्ति थिएन, दिमागमा हिम्मत थिएन । मैले पुलिसले दिएको यातना सम्झिएँ । र, केहीअघि बीपी कोइरालाले अनुशासन सिकाउने नाममा गरेको व्यवहार सम्झिएँ । मैले जायज प्रश्न उठाउँदा पनि उहाँले थप्पड लगाउनु भयो ।

उहाँका कार्यकर्ताहरु त ज्यानै लिनेसम्मको कारबाही गर्न तयार भएर बसेका थिए । यता, उनै बीपीको नाम लिएन भनेर मलाई यातना दिइरहेका छन् । मैले काङ्ग्रेस पार्टी पनि छोडिसकेको छु । यहीँ करेन्ट लगाएरै म मरेँ भने पनि पार्टीले सोधखोज गर्ने छैनजस्तो लाग्यो । मैले अन्त्यमा दु:खी भएर निष्कर्ष निकालेँ, यो संसारमा म एउटा एक्लो व्यक्ति हुँ । जे आइपर्छ, त्यो मैले एक्लै भोग्नुपर्छ । 

अनि, मैले सोचेँ– अपहरणको अपराधमा मलाई जसरी पनि भारत सरकारले दण्डित गर्ने निश्चित छ । त्यसबेला जहाज दुर्घटनामा मरेको भए दुर्घटनामा परेको मध्ये एउटा व्यक्ति मात्र हुने थिएँ । बाँचेको हुनाले त्यस घटनामा संलग्न व्यक्तिका रुपमा मेरो पहिचान नेपालमा कायमै छ । आफूले गरेको कामलाई स्वीकार नगरी भारतीय जेलमा बस्दा बस्दै गुमनाम मर्नुपर्‍यो भने जीवन निरर्थक हुनेछ । त्यसैले आफ्नो पहिचान कायम राख्न पनि यथार्थ बयान दिने सोच बनाएर म सुतेँ । 

बिहानीपख मैले सपना देखेँछु । सपनामा म विराटनगरको डेरामा मरिरहेको थिएँ । र, मेरा साथीहरु मलाई हेर्न आएका थिए । 

यस्तो सपनामा छटपटाई रहेका बेला बिहान ६ बजे बदलीमा आएको पुलिसले मेरो झुललाई डन्डाले उचाल्दै ब्यूँझाइदियो । त्यसपछि झुलभित्रै टोलाएर सोच्न थालेँ । 

नेपालमा पुलिसले पक्रेर बयान लिँदा कुनै शारीरिक यातना दिएको थिएन । लोकतान्त्रिक देश भनिएको भारतको पुलिसले नेपालमा राजनीतिक अधिकार स्थापना गर्ने प्रयत्नमा संलग्न रहेको मलाई यस्तो पाशविक यातना दिने काम किन गरेको होला भनेर सोच्दा सोच्दै पुलिसले ढोका खोलेर अफिसमा पुर्‍यायो । त्यहाँ आफूलाई अनुसन्धानका पदाधिकारी बताउने पहिले नै भेटेका मानिस बसेका रहेछन् । उनीहरुले मलाई कुर्सीमा बसाले ।

थानेदारले मतिर हेर्दै भन्न थाले, ‘नेपालमा भएको हवाई अपहरणसम्बन्धी मुद्दा यस थानामा नचलाउने राय केन्द्रीय अनुसन्धान विभागले दिएको छ । तपाईंलाई हामी बिहार पठाउँदै छौँ ।’

गुप्तचरका पदाधिकारीले भने, ‘तपाईंहरुले नेपालबाट जहाज अपहरण गरेर विहारको फारबिसगन्जमा लुटेको हुनाले त्यहीँ लगेर मुद्दा चलाउनु पर्छ । तर, बनारसमा पक्राउ परेको हुनाले रेकर्ड राख्न मात्र केरकार गरिएको हो । फारबिसगन्जमा पुगेपछि नेपालतर्फको पुलिस प्रशासनले त्यहाँ आएर तपाईंलाई पहिचान गरेपछि मुद्दा स्थापित गरिनेछ ।’

मैले उनीहरुलाई सम्बोधन गर्दै भनेँ, ‘मलाई पक्राउ गरेर रेकर्ड राख्न दिइएको यातना भारतीय लोकतान्त्रिक व्यवस्थाको प्रतिकूल छ । तपाईंहरुले मलाई लगाउने मुद्दाबारे मैले आफ्नो धारणा बनाइसकेको छु । म कायर भएर बाँच्न चाहन्नँ । तपाईंहरु यस देशको सरकारी संयन्त्रको महफ्वपूर्ण ठाउँमा हुनुहुन्छ । भारतका जनताले राजनीतिक स्वतन्त्रताका लागि सङ्घर्ष गर्दा अङ्ग्रेज शासकहरुले तपाईंहरुलाई गुलामको दर्जामा राखेर पाशविक शारीरिक यातना दिएका थिए भन्ने कुरा वीर सेनानीहरुले आफ्नो जीवनीमा उल्लेख गरेका छन् ।

तर, अहिलेसम्म पनि यहाँको सरकारी संयन्त्र गुलामकालीन मानसिकताबाट मुक्त हुन सकेको रहेनछ । तपाईंहरुले मलाई नेपालको राजनीतिक स्वतन्त्रताको पक्षमा घटेको घटनाको मुख्य अभियुक्त साबित गराउन गुलामकालीन पाशविक यातना दिएर आफ्नो पुर्खाको अपमान गरेजस्तो लाग्दैन ?’

मेरो कुरा सुनेर पनि नसुनेजस्तो गरी कुनै प्रतिक्रिया नजनाई उनीहरु कोठाबाट बाहिरिए । 

उनीहरु गएपछि बजरङ्गबलीले सेलमा लगेर ताला लगाउँदै भन्यो, ‘तपाईंलाई भोलि जेल चलान गर्ने कागज–पत्र तयार हुँदैछ । अहिले आपत्कालीन शासन व्यवस्था भएकाले गिरफ्तार गरेको कुनै पनि व्यक्तिलाई २४ घन्टाभित्र न्यायालयसामु उपस्थित गराउनु पर्दैन, कागज बनाएर पठाए हुन्छ । चौकाघाट जेलमा बनारसका धेरै नेता बसेका छन् । तपाईं पनि राजनीतिक मानिस हुनुहुँदो रहेछ । यहाँभन्दा तपाईंलाई जेलमै राम्रो होला ।’

थानाबाट मलाई फारबिसगन्ज जेल लाने भनेपछि फेरि नयाँ चिन्ता थपियो । त्यहाँ अपहृत जहाजको पाइलट वा कुनै यात्रीले आएर ‘यही हो अपहरणकारी’ भनेर बयान दिए भने के गर्ने ? साँचो बोल्ने कि ढाँटिरहने ? त्यस्तो अवस्थामा यथार्थ स्वीकार गर्नुको विकल्प थिएन । 

फारबिसगन्ज पुर्‍याउने बहानामा मलाई सिमाना कटाएर नेपाल पुलिसलाई जिम्मा लाउन पनि सक्छ । त्यसपछि मलाई नेपालमै पक्राउ गरिएको प्रचार गरिनेछ । किनभने, मलाई भारतमा पक्राउ गरिए पनि कुनै न्यायालयसामु उपस्थित गराइएको थिएन । सङ्कटकाल लागेको छ, सरकारलाई जे गर्ने पनि छुट छ । यस्तै सोच्दै बनारसको भेलुपुर थानामा अन्तिम रात बिताएँ ।

(लोकतान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको किताब पब्लिसर्स प्रालिद्वारा हालै प्रकाशित पुस्तक ‘विमान विद्रोह’को सम्पादित अंश)


 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा सुवेदी

तपाईको प्रतिक्रिया