अन्तर्राष्ट्रिय म्याराथुनमा जुम्लाका खेलाडी

 साउन २७, २०७५ आइतबार ७:०:१ | रासस

सुर्खेत – कुनै पनि सरकारी निकायले सहयोग नगरेपछि जुम्लाका खेलाडी आफ्नै रकमले अन्तर्राष्ट्रिय म्याराथुन दौडमा भाग लिने भएका छन् । 

सोसल एक्टिभिटी ग्रुप एण्ड स्पोर्टस् विङ्सले राजस्थानमा आयोजना हुने चौथो ‘माउण्ट आबु अन्तर्राष्ट्रिय म्याराथुन रेस’ मा उनीहरू सहभागी हुने भएका हुन् । आगामी भदौ ३ गते हुने खेलमा जुम्लाका सुनमाया बुढा, राममाया बुढा, सीता न्यौपाने र नरेश बुढा रहेको कर्णाली खेलकूद क्बल जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । 

उहाँले शनिबार पत्रकार सम्मेलन गरी व्यक्तिगतरुपमा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले रु पाँच हजार, राजकुमार शाहीले रु पाँच हजार, क्लब आफैँले रु ५० हजार आर्थिक सहयोग गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

नेपालको तर्फबाट सो प्रतियोगितामा भाग लिने जानकारी गराउँदा पनि सरकारी निकायले वास्ता नगरेको उनीहरूले गुनासो गरेका छन् । आफ्नो क्षमता देखाउन र देशको इज्जत राख्ने सपना बोकेकाले चारै जनाले जनही रु पाँच/पाँच हजार उठाएर जान थालेको खेलाडी सुनमाया बुढाले दुखेसो पोख्नुभयो । 

भाग लिने चारै जना खेलाडीले हाफ म्याराथुन अर्थात् २१.९ किलोमिटर दौड्ने छन् । त्यसका लागि उनीहरूले ‘ब्रह्मकुमारी शान्ति वन (तेलहटी) देखि ब्रह्माकुमारी ओम शान्ति भवन’ राजस्थानसम्म दौड्नुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । अध्यक्ष शाहीको नेतृत्वमा टोली आइतबार भारत प्रस्थान गर्ने भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया