यसरी जोगिइन् सुशिला दलालको फन्दाबाट

 साउन २८, २०७५ सोमबार १६:३१:३३
unn.prixa.net

रीना श्रेष्ठ/सिन्धुपाल्चोक 

सिन्धुपाल्चोक – हैबुङकी सुशिलाको घर भूकम्पले भत्कियो । बनाउने पैसा भएन । रामेछापका राम नाम गरेका व्यक्तिसँग घर बनाउन पैसा माग्नुभयो । उसले दिएन ।

पैसा नदिएका व्यक्तिले आफूले विदेश पठाइदिने व्यक्ति चिनेको भन्दै जाने भए त्यो व्यक्तिसम्म पुर्याइदिने बताए । त्यो कुरा उनले सुशिलासँगै उहाँका अरु दुई दिदी बहिनीलाई पनि भने । 

सुशिलाले विदेश जाने सोच्नुभएको थिएन । बहिनीहरु पनि सुशिला जस्तै थिए । पासपोर्ट बनाउने त कुरै थिएन । तिनै व्यक्तिले विदेश पठाइदिने कुरा गरेपछि सुशिला जिल्ला प्रशासन कार्यालय पुग्नुभयो पासपोर्ट बनाउन ।

पासपोर्ट बनाउनु अघि सूचना केन्द्रमा जानैपर्ने बाध्यताले सुशिलालाई विदेशका बारेमा त जानकारी लिन सघायो नै । विदेश जाँदा पर्न सक्ने जोखिमका बारेमा पनि सचेत गरायो । 

सुशिलाले सूचना केन्द्रबाट ३५ वर्ष नाघेका व्यक्तिले सीपको काममा जान नपाउने मात्रै होइन, सरकारले खाडीका देशमा घरेलु काममा जान रोक लगाएको कुरा पनि थाहा पाउनुभयो । 

परामर्शपछि जिल्ला प्रशासनको सिफारिस लिएर सुशिला र उहाँका दुई बहिनीले काठमाडौं आएर पासपोर्ट लिनुभयो । घर बनाउने पैसा माग्दा नदिएको त्यही व्यक्तिले पासपोर्ट बनाउन भने सुशिलालाई पैसा दियो । पासपोर्ट बने लगत्तै सुशिलाका दुईजना बहिनीको पासपोर्ट उसैले लियो । तर सुशिलाले उसलाई पासपोर्ट दिनुभएन । 

विदेश जानु अघि आफू जाने देश, त्यहाँ गर्नुपर्ने कामका बारेमा जानकारी लिनुपर्छ भन्ने कुरा थाहा पाएकी सुशिलाले त्यो व्यक्तिलाई सोध्नुभयो, भाइ हामीलाई कुन म्यापावरबाट कुन देशमा पठाउन लागेको हो? म्यानपावर देखाउ त ? त्यो व्यक्तिसँग सुशिलालाई दिने उत्तर थिएन ।

किनकी उसले भारतको बाटो हुँदै पठाउन लागेको थियो । जुन कुरा सुशिलाले आफू काठमाडौंको बाहेक अर्को एयरपोर्टबाट विदेश नउड्ने अडान लिएपछि थाहा भयो । उहाँको जसरी उहाँका बहिनीहरुले अडान लिन सकेनन् ।

उनीहरुलाई त्यही व्यक्तिले विदेश पठायो अवैधानिक रुपमा । उनीहरु कहाँ पुगे अनि अवस्था कस्तो छ भन्ने न सुशिलालाई थाहा छ न उनीहरुका परिवारलाई । सुशिलालाई विदेश जान नपाएको कुनै दुखेसो छैन । उहाँ खुशी हुनुुहन्छ दलालको फन्दाबाट जोगिन पाएकोमा । 

घरमा समस्या नभए जोखिम लिन्न थिएँ 

उहाँलाई विदेश जाने रहर थिएन । तर चार जनाको परिवार चलाउन सुशिलालाई कमाउने माध्यम चाहिएको छ । दुई छोराछोरीमध्ये छोरीको बिहे भइसक्यो, तर १२ कक्षामा पढ्दै गरेको छोरोलाई उसले चाहेसम्म पढाउने चाहना छ सुशिलाको । 

तर घर चलाउने आर्थिक जोहो गर्न गाह्रो पर्ने सुशिलालाई त्यही कुराले विदेश जाने सोचमा पुर्‍यायो । ‘घर चलाउने खर्च जुटाउन सक्ने भए जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै किन पासपोर्ट बनाउँथे र’ सुशिलाले भन्नुभयो । 

विदेश जान पासपोर्ट बनाइसक्दा पनि उहाँले घर सल्लाह गर्नुभएको थिएन । पछि परिवारलाई पासपोर्ट बनाएकोसँगै आफू विदेश नजाने भएको कुरा सुनाउनुभयो सुशिलाले । अब त उहाँले सरकारले महिलालाई जान खुल्ला नगरेसम्म नजाने निधो गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया