साउदीमा तेजेन्द्रको शव साटेर गल्ती गरेको हुण्डाइले परिवारलाई दियो चार लाख

 साउन २८, २०७५ सोमबार १८:२४:३८ | सन्जिता देवकोटा

काठमाडौं – साउदीमा दुर्घटनामा ज्यान गुमाएका बाग्लुङका तेजेन्द्र भण्डारीको परिवारलाई हेभी हुण्डाई कम्पनीले राहत रकम दिएको छ । गएको बुधबार कम्पनीबाट १५ हजार रियाल अर्थात चार लाख १५ हजार पाँच सय रुपैयाँ राहत पाएको तेजेन्द्रका दाइ कुलमान भण्डारीले जानकारी दिनुभयो । 

२०७२ साल असार २४ गते साउदीमा तेजेन्द्रले चलाएको ट्याक्सी दुर्घटनामा परेको थियो । दुर्घटनामा हुण्डाई कम्पनीमा काम गर्ने चारजनाको ज्यान गएको साउदीको जेद्धामा रहेको किङ अब्दुल अजिज अस्पतालले पुष्टि गरेको थियो । ट्याक्सी चालक तेजेन्द्रको अस्पतालमा उपचार भैइरहेको बताइएको थियो ।

उपचार गराइरहेका व्यक्तिको तीन महिनापछि होस आउँदा तेजेन्द्र नभई मोरङका सुवास तामाङ भएको पुष्टि भयो । यसअघि सुवासको ज्यान गएको भनिएको थियो । तर सुवास घाइते भएका र तेजेन्द्रको चाहिँ ज्यान गएको पुष्टि भयो ।

हेभी हुण्डार्इ कम्पनीले तेजेन्द्रको शव आफ्नो कामदार ठानेर सुवासको परिवारलाई पठाइसकेको थियो । सुवासकै नाममा आएको शव परिवारले परम्परा अनुसार नै सदगत गरिसकेका थिए । तीन महिनासम्म जीवितै छन् भनेर कुरिरहेका तेजेन्द्रका परिवारले शव समेत पाएनन् । 

कागजमा मरिसकेका सुवासलाई फर्काउन हुण्डार्इले क्षतिपूर्ति तिर्ने शर्त 

सास कुरिरहेका तेजेन्द्रको परिवारले लाश पनि नपाउने भएपछि तेजेन्द्रको नाममा बाँचिरहेका सुवासलाई नेपाल फर्किन नदिने शर्त राखेका थिए । कागजी रुपमा मृत घोषित सुवासलाई साउदीबाट फर्किन तेजेन्द्रको परिवारको अनुमती आवश्यक थियो ।

लाश साटेर गल्ती गरेको भन्दै हुण्डाईले सुरुमा १० हजार रियाल क्षतिपूर्ति दिने भन्दै सुवासलाई नेपाल फर्किन अनुमति दिन अनुरोध गरेको थियो । 

तर तेजेन्द्रको परिवारले त्यति रकममा सहमति नदिएपछि १५ हजार रियाल क्षतिपूर्ति दिने लिखित सहमति भएपछि सुवास दुर्घटनामा परेको २ वर्ष पछि २०७४ साल जेठमा नेपाल फर्किए । 

सुवासलाई नेपाल फर्काउन र तेजेन्द्रको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्न सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशन(सिएमआइआर)ले सहयोग गरेको थियो ।

सिएमआइआरका कार्यक्रम अधिकृत बसन्त घिमिरेका अनुसार सुवास नेपाल फर्किएपछि हुण्डार्इ कम्पनीका जनसम्पर्क अधिकृत फेरिएको र आफ्नो कम्पनीमा काम गर्ने कामदार नभएको भन्दै क्षतिपूर्ति नदिने बताएको थियो । त्यसैले साउदीमा रहेको नेपाली दूतावासले कम्पनीको भ्रमण गरेर पहल गरेपछि मात्रै हुण्डार्इले क्षतिपूर्ति दिएको हो ।

क्षतिपूर्ति वापतको रकम आमा र छोरीको नाममा

क्षतिपूर्ति वापत पाएको पैसा तेजेन्द्रका आमा सुर्विता भण्डारी र छोरी गायत्री भण्डारीको नाममा बैंक खाता खोलेर राखिदिएको दाइ कुलमानले बताउनुभयो । तेजेन्द्रकी छोरी १२ वर्षकी छन् । क्षतिपूर्ति बापत पाएको पैसाले तेजेन्द्रले विदेश जानेबेला लिएको ऋण तिरेको आमा सुर्विताले बताउनुभयो । 

तेजेन्द्र र सुवासको परिवारका बारेमा उज्यालोमा यसअघि प्रकाशित समाचार हेर्नुहोस् :

आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?

र्कबहादुरका माइला छोराको पुनर्जन्म र बिहे

साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया