तेह्रथुममा घाइते वन्यजन्तु उद्धार कक्ष निर्माण

 साउन ३०, २०७५ बुधबार १७:४६:५३ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न जिल्ला वन कार्यालयले उद्धार कक्ष निर्माण गरेको छ ।

घाइते वन्यजन्तुलाई उद्धार गरी संरक्षण गर्न भवन नहुँदा समस्या भएपछि वन कार्यालयले जिल्लामै पहिलो पटक घाइते वन्यजन्तुको उद्धार कक्ष निर्माण गरेको हो । कार्यालय सञ्चालनका लागि आएको बजेट बचाएर घाइते वन्यजन्तुको लागि उद्धार गरी उपचारसहितको उद्धार कक्ष निर्माण गरिएकोे जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो ।

कार्यालयले पहिलो चरणमा म्याङलुङमा रहेको जिल्ला वन कार्यालयको हाताभित्र नै यस्तो कक्ष निर्माण गरेको हो । एक लाख रुपैंयाँ लागतमा निर्माण गरिएको यस्तै प्रकृतिको उद्धार घर क्रमशः जिल्लाका अन्य ८ वटै रेञ्जपोष्ट स्तरमा पनि निर्माण गरिने वन अधिकृत पोखरेलले बताउनुभयो । त्यसका लागि स्थानीय तह समेतको सहभागितामा बजेटको व्यवस्था गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

जंगल बीचमा रहेका सडक पार गर्ने क्रममा सवारी साधनको ठक्करबाट घाइते भएका, ठूला वन्यजन्तुको आक्रमणबाट घाइते भएका, मानिस तथा चोरी शिकारीबाट घाइते भएका तथा अन्य कुनै कारण बस घाइते तथा बिरामी परेका वन्यजुन्तुलाई उद्धार कक्षमा राखेर उपचारसहितको सेवा पु¥याइने वन अधिकृत पोखरेलले बताउनुभयो ।

घाइते र बिरामी अवस्थामा फेला परेका चराचुरुङ्गी र अन्य वन्यजन्तु समेतलाई ल्याएर उपचार गरी पूर्णरुपमा तन्दुरुस्त भएपछि पुनः वन क्षेत्रमै लगेर छाडिने वन कार्यालयले जनाएको छ ।

वन क्षेत्रमा यसरी घाइते र बिरामी अवस्थामा भेटिएका वन्यजन्तुलाई उपचार गरी संरक्षण गर्ने स्थान नहुँदा यस्ता वन्यजन्तुको मृत्यु हुने गरेको थियो । उद्धारसहितको उद्धार तथा संरक्षण घरमा यस्ता वन्यजन्तु राखेर पशु चिकित्सक सहितको रेखदेखमा उपचार गरिने वन अधिकृत पोखरेलले बताउनुभयो ।

जिल्लाका वन क्षेत्रमा घाइते अवस्थामा भेटिएका यस्ता वन्यजन्तु र चराचुरुङ्गी फेला पार्ने व्यक्तिले वन कार्यालयमा ल्याएर बुुझाउने गरेका छन् । यस्ता घाइते वन्यजन्तुलाई राखेर उपचार गर्ने स्थान नहुँदा समस्या हुँदै आएको थियो ।

कार्यालय हातामा निर्माण गरिएको उद्धार घरमा चराचुरुङ्गी र जनावरलाई राख्न छुट्टा–छुटै ठाउ“ बनाइएको छ । यो कार्यले वन्यजन्तुको उद्धार र संरुक्षणमा सहयोग पुग्ने र संख्यामा समेत वृद्धि हुने कार्यालयको अनुमान छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया