शिवम् सिमेन्टको शेयरमा लगानी गर्ने वा नगर्ने ?

 साउन ३१, २०७५ बिहिबार १४:५४:३३ | दिलिप मुनंकर्मी
unn.prixa.net

शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा साधारण शेयर अर्थात आईपीओ जारी गर्ने अनुमति पाएको छ ।

शिवम्ले उद्योग प्रभावित क्षेत्र मकवानपुरवासीका लागि प्रतिकित्ता ३ सय र सर्वसाधारणका लागि प्रत्तिकित्ता ४ सय रुपैयाँका दरले साधारण शेयर जारी गर्ने अनुमति पाएको हो । सिमेन्ट उद्योगको इतिहासमा पहिलोपल्ट स्थानीय र सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने शिवम् पहिलो उद्योग हो ।

शिवमले स्थानीय वासिन्दाका लागि कुल जारी पूँजीको २ प्रतिशत अथवा ८ लाख ८० हजार कित्ता शेयर हाल निष्काषन गरिरहेको र आम सर्वसाधारणका लागि १० प्रतिशत अर्थात ४४ लाख कित्ता शेयर जारी गर्न लागेको छ ।

कम्पनी कस्तो हो ?

शिवम सिमेन्ट चुनढुंगा उत्खनन् र प्रशोधन गरी अत्याधुनिक प्रविधिजडित प्लाण्ट एण्ड मेसिनरीबाट उच्च क्वालिटीको क्लिङकर तथा विभिन्न ग्रेडका सिमेन्ट उत्पादन तथा बिक्री वितरण गरी मुनाफा कमाउने उदेश्यले वि.सं. २०६० जेठ १३ गते स्थापना भएको हो ।

स्थापना हुँदा प्राइभेट लिमिटेडको रुपमा स्थापित यो कम्पनी २०७२ साउन ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा रुपान्तरण भई सञ्चालन हुँदै आएको छ ।

कम्पनीको कारखाना मकवानपुरको हटियामा छ । यस कम्पनीले सन् २०११ देखि ओपीसी ग्रेडको सिमेन्ट उत्पादन गर्न थालेको हो । शिवम सिमेण्टस्ले आव २०७३/०७४ मा ३ लाख ५७ हजार ८९७ मेट्रिक टन क्लिंकर तथा ५ लाख ४७ लाख ४२० मेट्रिक टन ओपीसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण गरेको छ । सिमेन्ट उत्पादनको लागि कम्पनीमा दैनिक ३ हजार टन सिमेन्ट र १९ सय टन क्लिंकर उत्पादन गर्नसक्ने प्लान्ट रहेको छ ।

पूँजी संरचना

कम्पनीको अधिकृत पूँजी २०७१/७२ मा ४ अर्बबाट बढेर हाल ७ अर्ब रहेको छ । जारी पूँजी २०७१/७२ मा १ अर्ब ५० करोड थियो । २०७२/७३ र २०७३/७४ मा ५ अर्ब र २०७४/७५ मा ४ अर्ब ४० करोड रहेको छ । चुक्ता पुँजी भने २०७१/७२ मा १ अर्ब २५ करोड थियो । चुक्ता पूजी २०७२/७३ मा २ अर्ब, २०७३/७४ मा २ अर्ब ५० करोड हुँदै २०७४/७५ को चैतसम्ममा ३ अर्ब ८७ करोड २० लाख पुगेको छ ।

प्रस्तावित ५२ करोड ८० लाखको सार्वजनिक निष्कासन पश्चात् कम्पनीका चुक्ता पुँजी ४ अर्ब ४० करोड पुग्नेछ । प्रक्षेपित लगानी विवरण अनुसार अहिले पूँजी बढाएपछि आव २०७६/७७ सम्म कम्पनीको लागि पूँजी वृद्धि आवश्यक हुनेछैन् ।

व्यवसायको अवस्था

स्थापना हुँदा शिवम्को दैनिक सिमेन्ट उत्पादन क्षमता ७०० सय टन  थियो । उद्योगले उत्पादन क्षमता बढाएर हाल ३ हजार टन पुर्‍याएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको उत्पादन बिक्री उल्लेख्य दरमा बढेको छ । आव २०७१/७२ मा ३ अर्ब ८७ करोड रुपैयाँको सिमेण्ट र क्लिंकर विक्री भएकोमा २०७३/७४ मा यो रकम ७ अर्ब ३६ करोड पुगेको छ ।

चैतमसान्तसम्म बिक्रीबाट ७ अर्व १० करोडको आम्दानी गरेको कम्पनीले २०७४/७५ मा १० अर्व ८ करोडको बिक्री हुने प्रक्षेपण गरेको छ । यसरी कम्पनीको व्यवसायको आकार विगत केही वर्षमा उल्लेख्य मात्रामा बढेको देखिन्छ । आव २०७६/७७ मा बिक्रीबाट १२ अर्व ६० करोड आम्दानी हुने अपेक्षा गरेको छ ।

सार्वजनिक निष्कासन र संकलित रकमको उपयोग

कम्पनीलाई उद्योग प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन विधिबाट शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले २०७५ असार ७ गते स्वीकृत दिएको छ ।

कम्पनीले प्रिमियम गणना गर्दा (क) पूँजीकृत भएको आम्दानी अनुसार आएको रु. २४८.९८, (ख) प्रतिशेयर खुद सम्पत्तिको मूल्य (नेटवर्थ)को आधारमा हुने रु. १५९.६६, र (ग) डिस्काउन्टेड नगद प्रवाह विधिबाट आएको रु. ९३२.९१ को आधारमा औसत हुने रु. ४४७.१८ को आधारमा स्थानीयलाई अंकित मूल्यमा रु. २०० प्रिमियम थप गरी रु. ३०० मा र सर्वसाधारण इच्छुक लगानीकर्ताहरुका लागि रु. ३०० प्रिमियम थप गरी रु. ४०० मा सार्वजनिक निष्कासन गरेको छ ।

हाल उद्योग रहेको मकवानपुर जिल्लाका स्थानीय वासिन्दाले २०७५ साउन १३ बाट भदौ ११ गते भित्र रु. ३०० का दरले कम्तीमा १० किता र बढीमा १० हजार कित्ताका लागि सी–आश्वा प्रणाली तथा मकवानपुर जिल्लाका विभिन्न स्थानमा २८ वटा संकलन केन्द्रहरु मार्फत आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि केही समयपछि प्रिमियमसहित रु. ४०० का दरले शेयर जारी हुनेछ । 

प्रस्तावित निष्कासनपछि कम्पनीमा स्थानीयको २ प्रतिशत, अन्य सर्वसाधारणको १० प्रतिशत र विद्यमान लगानीकर्ताहरुको ८८ प्रतिशत हिस्सा कायम हुनेछ । 

कम्पनीले स्थानीयलाई ८ लाख ८० हजार किता शेयर प्रिमियम मूल्यमा बिक्री गरेर २६ करोड ४० लाख रुपैयाँ तथा सर्वसाधारणलाई ४४ लाख किता शेयर बिक्री गरेर रु. १ अर्ब ७६ करोड गरी जम्मा २ अर्ब २ करोड ४० लाख रुपैयाँ संकलन गरी विभिन्न बैंकबाट लिइएको कर्जा चुक्ता गर्ने र थप उत्पादन क्षमता विस्तार गर्ने कार्ययोजना रहेको जनाएको छ ।

आधारभूत रुपमा कम्पनीको वित्तीय अवस्था

कम्पनीको बढ्दो व्यवसायको आधारमा लगानीका लागि उपयुक्त देखिएको अवस्थामा प्रस्तुत वित्तीय विवरण केलाउँदा निम्न अनुसारको अवस्था देखिन्छ :

१) प्रतिशेयर आम्दानी (इपीएस): विगत तीन वर्षको औसत प्रतिशेयर आम्दानी ३४.८५ रुपैयाँ देखिन्छ भने चालु आवमा २६ रुपैयाँ तथा यसपछि पनि ३० रुपैयाँभन्दा बढी प्रति शेयर आय हुने अनुमान गरिएको छ । आम्दानीको आधारमा कम्पनीलाई राम्रै मान्न सकिन्छ । 

२) नेटवर्थः कम्पनीले आम्दानीको ठूलो हिस्सा सञ्चित जगेडामा राख्ने गरेको उसको नेटवर्थले देखाएको छ । यसको विगतको औसत नेटवर्थ रु १५० माथि रहेकोमा आगामी दिनमा अझ बढेर रु. २०० माथि हुने अनुमान कम्पनीले गरेको छ । यसले खुद सम्पत्ति राम्रो रहेको देखिन्छ भने भविष्यमा आवश्यकता परेको अवस्थामा कम्पनीले आन्तरिक रुपमा पूँजी व्यवस्थापन गर्ने क्षमता राख्नेछ । 

३) मूल्य आम्दानी अनुपात (पीई): कम्पनीको शेयर धितोपत्र बजारमा कारोबार भइनसकेको आधारमा यसको वास्तविक मूल्य आम्दानी अनुपात निस्कदैन । तर सार्वजनिक निष्कासनको मूल्यको आधारमा पीई गणना गर्दा स्थानीयको लागि १० र सर्वसाधारणको लागि १४ हुने देखिन्छ । सामान्यरुपमा हेर्दा तोकिएको मूल्य ठिकै देखिन्छ । सामान्यतः पिई १० सम्मलाई सस्तो, ११ देखि १५ लाई ठिकै मान्ने प्रचलन रहेको छ ।

४) लाभांश भुक्तानी : कम्पनीले आम्दानीको ठूलो हिस्सा सञ्चितकोषमा राख्ने र लगातार उत्पादन क्षमता विस्तार गरेको हुँदा उसको विगतको लाभांश भुक्तानी अनुपात (डिभिडेण्ड पेआउट रेसियो) रहेक वर्ष झण्डै १०.५३ प्रतिशत हाराहारीमा रहेको देखिन्छ भने आव २०७४/७५ को लागि प्रस्तावित लाभांश १० प्रतिशत र २०७५.७६का नाफाबाट प्रस्तावित गरेको लाभाँस १५ प्रतिशत हेर्दा लगानी गरेको पहिलो वर्षमा नै २५ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको देखिन्छ । 

५) लगानीमा प्रतिफल : डिभिडेन्ड यिल्ड अर्थात् लागतको आधारमा वास्तविक भुक्तानी प्राप्त प्रतिफल स्थानीयले ८ प्रतिशत र सर्वसाधारणले  ६ प्रतिशतको दरमा पाउने देखिन्छ । यो भने केही कम हो, तर कम्पनीको वास्तविक आम्दानी र आवश्यकताका आधारमा लाभांश दरमा परिवर्तन भएसँगै प्रतिफल दरसमेत घटबढ हुने सम्भावना रहन्छ ।

६) मूल्य र किताबी मूल्य अनुपात : बजारमा कारोवार नभएको अवस्थामा कम्पनीबाट प्रस्तावित मूल्यलाई आधार बनाउँदा स्थानीयको लागत र किताबी मूल्य अनुपात (पिवी रेसियो) १.८८ देखिन्छ । सर्वसाधारणले किताबी मूल्यको २.५१ गुना मूल्य तिर्नुपर्नेछ । सामान्यतः २ गुनासम्मको किताबी मूल्यलाई स्वभाविक मूल्यका रुपमा लिने गरिन्छ ।

जोखिम तथा विचारणीय पक्षहरु

समग्रमा विगतको र प्रक्षेपित आधारभूत पक्षहरुलाई मनन गर्दा शिवम् सिमेन्टको शेयर खरिद गर्न उपयुक्त नै देखिन्छ । कम्पनीले पनि वित्तीय जोखिम नरहेको जनाएको छ ।

तर उद्योग मूलत प्राकृतिक स्रोतमा निर्भर हुँदा चुनढुंगा उत्खनन कार्यमा समस्या उत्पन्न हुँदा र अन्य कच्चा पदार्थहरु आइरन ओर, कच्चा फलाम, माटो, जिपसम आदि पदार्थहरुको अभाव भएको अवस्थामा कम्पनी जोखिममा रहनेछ । यसको साथै क) उत्पादन तथा सेवाको बजार स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिम, ख) विदेशी विनिमयको जोखिम, ग) कर, भन्सार, उपकरणहरु आयातमा कुनै पनि नीतिगत परिवर्तन भएमा तथा छिमेकी मुलुकहरुबाट उत्पादन हुने सिमेन्ट आयातमा कुने नीतिगत परिवर्तन हुन गएको अवस्थामा हुने जोखिम, घ) प्रविधिको परिवर्तनबाट हुने सक्ने जोखिम, ङ) दैवी प्रकोप तथा काबुबाहिरको परिस्थीति उत्पन्न भै चुनढुङ्गा उत्खननमा हुन सक्ने जोखिम, च) देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने खालका जोखिमहरु आउन सक्नेछन् ।

भविष्यमा पूँजीबजारको अवस्थामा आउने उतारचढावबाट शेयरको मूल्यमा पर्न सक्ने जोखिम त रहने नै छ । कम्पनीको वित्तीय पक्षहरु स्वस्थ रहँदा रहँदै पनि स्थानीय प्राकृतिक स्रोतमा स्थानीयको अग्राधिकार र सहभागितालाई आत्मसात गरेको संवैधानिक व्यवस्थाका कारण उद्योग प्रभावितका लागि तोकिएको शेयरमूल्य केही सर्वसाधारणको तुलनामा रु. १०० सस्तो भए पनि नेटवर्थको आधारमा बढी मान्न पर्ने हुन्छ ।

यसको साथै स्थानीयले आरक्षित शेयर तीनवर्षसम्म बिक्री तथा धितो बन्धक राख्न नपाउने हुँदा ३ वर्षपछि धितोपत्र बजारमा कायम हुने बजारमूल्यको जोखिम पनि वहन गर्नुपर्ने हुन्छ ।

हुनत भूकम्पपछि पुनःनिर्माणको चरणमा रहेको नेपाल र पूर्वाधार क्षेत्रको विकाससँगै सिमेन्टको माग बढ्दै गएको छ । माग वृद्धिसँगै कम्पनीको बिक्री र मुनाफामा सकारात्मक प्रभावको आशा गर्न सकिन्छ । यस्तै नेपाली पूँजी बजारमा केही समयको लागि एक्लो शेयरको रुपमा रहन शिवम्ले शेयरको बजारमूल्यबाट हुनसक्ने पूँजीगत लाभ पाउने सम्भावना भने रहन्छ । 

यस आधारमा कम्पनीले प्रक्षेपित विवरण अनुरुप व्यवसाय विस्तार र मुनाफा गर्दै सुशासनसहित प्रगति गर्दै गएको अवस्थामा कम्पनीद्वारा प्रदान गरिने लाभांशका साथै पूँजीगत लाभको अवसर रहन्छ ।

समग्र पक्षहरुलाई विचार गर्दै इच्छुक स्थानीय र अन्य लगानीकर्ताहरुले आफ्नो जोखिम वहन क्षमता, तुलनात्मक प्रतिफल र लगानी रकमको जोहो र स्रोतको आधारमा निर्णय लिनु उपयुक्त हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दिलिप मुनंकर्मी

मुनंकर्मी फ्रिलान्स कम्युनिकेसन कन्सल्ट्यान्ट हुन् ।

तपाईको प्रतिक्रिया