साढे ३३ किलो सुनकाण्ड र सनम हत्या प्रकरण : बिहीबारदेखि उच्च अदालतमा सुनुवाइ सुरु

 साउन ३१, २०७५ बिहिबार १९:५९:१३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – साढे ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएका अभियुक्तहरुको बारेमा बिहीबारदेखि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

गएको जेठ ८ गते जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेर मुलुकी ऐनको अदालती बन्दोबस्ती १७ नम्बर अन्तरगत निवेदन दिएका ३० जनामध्ये ३ जनाको बिहीबार सुनुवाइ भएको हो । पूण्यप्रसाद लामा, सम्बीर तोलाङ्गे र राजन कुमारको सुनु्वाइ भएको हो । सुनुवाइ भएका तीनैजनाको जिल्ला अदालतले दिएको आदेश सदर भएको उच्च अदालत विराटनगरले जनाएको छ ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीका अनुसार उच्च अदालतका न्यायाधीश जनक पाण्डे र थीरबहादुर कार्कीको संयुक्त इजलाशले प्रहरी अधिकारीहरु संजय राउत, विकासराज खनाल, दिवेश लोहनी, गोबिन्द निरौला र अर्का प्रतिवादी हेमन्त मल्लको विषयमा संयुक्त कैफियत प्रतिवेदन प्राप्त भएकोमा छुट्टाछुट्टै एकल कैफियत प्रतिवेदन माग गरेको हो ।

उनीहरुको बारेमा मुद्दाको कैफियत प्रतिवेदन आएपछि मात्र आदेश आउने छ । एक नम्बर इजलाशमा पेश भएको ३ जनाको सुनुवाइका सन्दर्भमा २ जनाको आदेश आएको हो भने एकजनाको सुनुवाई हुन नसकेको रेग्मीले जानकारी दिनुभयो ।

डा.कुलरत्न भुर्तेल र उमेशकुमार सिंहको संयुक्त इजलाशले पूण्यप्रसाद लामा र सम्बीरप्रसाद तोलाङ्गेको हकमा निवेदकहरु निर्दोष रहेछन् भन्ने देखिन नआएको कारण जिल्ला अदालतको आदेशको सदर गर्ने  आदेश आएको हो ।

सोही इजलाशमा परेको राजन थापाको पेशीको भने समय अभावले सुनुवाइ हुन नसकेको रजिष्ट्रार रेग्मीले बताउनुभयो ।  त्यस्तै २ नम्बर इजलाशमा परेको राजन कुमारको पेशी पनि सुनुवाइ भएको छ ।

न्यायाधिश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय बेरित नदेखिँदा परिवर्तन गर्नु नपर्ने आदेश दिएको रजिष्ट्रार रेग्मीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया