आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

 भदौ १, २०७५ शुक्रवार ६:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । 

मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।

ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।  

अहिले प्रतिस्थापन ऐनका रुपमा आउन लागेको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको छ । 

मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जाति हत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले आजीवन कैद भुक्तान गर्नुपर्नेछ ।

यसैगरी जन्मकैदलाई २५ वर्ष बनाइएको छ । यसअघि २० वर्ष जन्मकैदको रुपमा सजाय राखिएको थियो । 

नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाडीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसूर मानिनेछ । यस्तो कसूर गरेमा दोषीलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ । 

अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था छ ।

त्यस्तै, संक्रामक रोग फैलाउने काम गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने नयाँ व्यवस्था छ । खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।

घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्नेलाई एकवर्ष कैद वा दशहजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । हिंस्रक वा अन्य पशुपंक्षी राख्दा पूर्वसावधानी नअपानाई लापरवाही गर्नेलाई एक वर्षसम्म कैद वा रु दश हजार जरिवाना वा दुवै सजाय हुनेछ । 

त्यस्तै, राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना वा दुवै सजाय हुनेछ । राष्ट्रिय विभूतिको अपमान गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै सजाय हुनेछ । 

यातना दिनेलाई पाँच वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । छाउपडी राख्ने वा त्यस्ता अन्य भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै हुनेछ । 

आफ्नो संरक्षकत्वमा रहेका नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई जीउ, ज्यानमा खतरा पुग्ने गरी फाल्ने, परित्याग गर्ने वा बेवास्ता गरी छोड्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । 

विवाह गर्दा दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ । यस्तै ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागिदार हुने व्यवस्था गरेको छ । जानी जानी बहुविवाह गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

त्यस्तै, निर्माणको काम गर्दा निर्धारित मापदण्ड वा गुणस्तरको सामग्री प्रयोग नगर्ने वा परिमाण घटीबढी पार्नेलाई दश वर्षसम्म कैद र एकलाख जरिवाना गर्ने नयाँ व्यवस्था गरिएको छ । 

अपराध संहितामा चौपायालाई यातना दिने वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रुपमा छाड्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारसम्म जरिवाना हुनेछ । 

अनुमति बिना कसैको तस्वीर खिचेमा वा एउटा व्यक्तिको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । एक व्यक्तिको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाएमा दुई वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । 

सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने, राजद्रोह, नेपालविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्ने, राष्ट्रहित प्रतिकूल काम गर्ने र जातिहत्यालाई संहिताले कसूर मानेको छ । 

यस्तै मुलुकी देवानी संहितामा नयाँ व्यवस्थाहरु पनि थपिएका छन् । साविकको कानूनमा १६ वर्षमुनिका बालबालिकालाई नाबालकमा राखिएको थियो, तर संहिताले १८ वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालक मानेको छ । 

पहिलो पटक देवानी कानूनमा गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने, अरुलाई दुःख दिने गरी काम गर्न नहुने, असल छिमेकीपन कायम गर्नुपर्ने कानुनी व्यवस्था गरिएकाे छ । तर कानून विपरीतका प्रथा तथा परम्पराले मान्यता नपाउने व्यवस्था गरिएकाे छ।

कुनै पनि व्यक्तिले कानूनको अधीनमा रही आफ्नो शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न वा गराउन पाउने व्यवस्था यसमा गरिएको छ ।

त्यस्तै, कुनै व्यक्तिले जीवित छँदै आफ्नो दाहसंस्कार, काजकिरिया वा सद्गतको विधि निर्धारण गर्न सक्नेछ । हकवाला व्यक्तिले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाहसंस्कार, काजकिरिया वा सद्गत गर्न पाउने व्यवस्था छ ।

त्यस्तै, विवाह गर्दा महिला र पुरुषको उमेर २० वर्ष पूरा भएको हुनुुपर्नेछ । महिलाले विवाहपछि बाबु वा पति वा दुवैको थर राख्न सक्नेछन् । पति पत्नीको सम्बन्ध विच्छेद भएमा, पति वा पत्नीको मृत्यु भएमा वा पति वा पत्नीले अंश लिई भिन्न बसेमा बाहेक दोस्रो विवाह गर्न नपाइने व्यवस्था यसमा छ । 

मुलुकी देवानी संहितामा पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दावी गर्नुपर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्ष्भित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, पति/पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ । छोरा, छोरी जन्मिएको तीन महिनाभित्र छोरा, छोरीको जन्म दर्ता गराउनुपर्ने छ ।

पति पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य भए पनि निजहरुबाट जन्मिएको छोरा, छोरीको बाबु, आमामाथिको कानूनी अधिकार र निजप्रतिको बाबु, आमाको दायित्व कायमै रहने व्यवस्था यसमा छ ।

देवानी कानूनमा छोरा÷छोरीले आफ्ना आमा बाबुलाई आदर, सम्मान तथा हेरविचार गर्नुपर्नेछ । त्यस्तै, छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न नपाउने व्यवस्था भइरहेकामा कुनै व्यक्तिको आर्थिक हैसियत विचार गरी अदालतले छोरी वा छोरी हुने व्यक्तिलाई पनि धर्मपुुुत्र वा धर्मपुत्री राख्न दिने आदेश गरेमा धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छ । 

मुलुकी देवानीमा कसैले पनि घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न नपाउने व्यवस्था छ । 

त्यस्तै, आगलागी, भूकम्प वा अन्य विपद्को समयमा, खानेपानी ढल, बिजुली, टेलिफोनको विस्तार गर्न, खेतीपाती गर्नजस्ता कार्यका लागि क्षतिपूर्ति दिई अर्काको सम्पत्ति भोग गर्न पाउने गरी सुविधाभारको व्यवस्था यसमा गरिएको छ ।

नयाँ कानूनी व्यवस्था मुताविक मासिक २० हजारभन्दा बढी बहालका लागि घर बहालमा दिँदा घर बहालमा लिने दिने व्यक्तिहरुले लिखित सम्झौता गर्नुपर्ने छ । 

यो पनि पढ्नुहोस् :

नयाँ ऐनका मुख्य विशेषता

मुलुकी अपराध संहिताको नालीबेली : कस्तो अपराधमा कस्तो सजाय ?

देवानी संहिताको नालीबेली

अन्तिम अपडेट: असोज ६, २०७५

8 Comments

  • Kedar karki

    Aug. 19, 2018, 2:56 p.m.

    Yo niyam kanun janta ko lagi matra ho ....neta ko lagi hoina

  • shiva

    Aug. 18, 2018, 11:51 a.m.

    Khoi ta vrastachar. Ko. Bare ma? Nepal ma vrastachar nai nahudo rehecha hai!

  • Sandip tmg

    Aug. 18, 2018, 9:06 a.m.

    धेरै कुराले जनतालाई मात्रै प्रभाव गर्ने जस्तो देखियो , भ्रष्टाचार बिरुद्ध एउटा नि नियम बन सकेन /

  • नवराज पुन

    Aug. 17, 2018, 7:11 p.m.

    आज मिति २०७५ भाद्र १ गते देखि लागू हुने ६ वटा नयाँ ऐन अन्तर्गत खास गरि दुइटा ऐन कार्यनयनमा आउलान वा नआउलान तर मेरो बुझाइमा ती असम्भव छन् । यस कारण असम्भव छन् भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु,कि न.१ मा नेपाल विरुद्ध जासुसी कसले गरि रहेकोछ? भन्नू पर्दा बिशेष गरि नेपालको आन्तरिक वा वाहिय मामिला मा जासुसीको मिठो स्वाद लिन पल्केको भारत लगायत अमेरिकालाई के यो नयाँ ऐनले विस्थापित गर्न सक्ला ? न.२ मा बलेसीको पानीलाई अर्काको घरवारी वा सार्वजनिक बाटोमा लगाउन नपाइने यस्तो पनि ऐन हुन्छ? अब बलेसीको पानी कहाँ व्यवस्थापन गर्ने आकाश बाट आएको पानी आकाशमै फिर्ता र धुरी बाट बगेको पानी धुरीमै फिर्ता गर्ने कुनै नयाँ बैज्ञानिक व्यवस्था वा तरिका छ,भने यद्यपि यी नयाँ ऐन कार्यनयनमा आउलान नत्र कागजमा सिमित रहनेछन् ।

  • BINAY

    Aug. 17, 2018, 5:40 p.m.

    खोइ त बलत्कारी र अपहणकारी हरुलाई जन्म कैद र 1 करोड को सजाय?

  • Damber thapa

    Aug. 17, 2018, 2:04 p.m.

    यो कानुनले स्वरुप परिवर्तन गरे पनि सार परिबर्तन गरेन । नेताले जे नि गर्न हुने

  • झल ब थापा हाल कतार

    Aug. 17, 2018, 10:09 a.m.

    आजदेखी लागू हुने कानुन प्रधानमन्त्री मन्त्री साम्सद पावरपहुचवाला लाई लाग्छ लाग्दैन थाहा छैन तर साम्सद मन्त्रीहरूलाई फौजदारी अभियोग घुमाइफिराई नलाग्ने जस्तै नहोस ।

  • ratna shrestha

    Aug. 17, 2018, 9:47 a.m.

    best of luck but except Tax crisis

तपाईको प्रतिक्रिया