बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टरलाई जन्मकैद

 भदौ १, २०७५ शुक्रबार ८:४४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई कडा कारबाही हुने भएको छ । मुलुकी अपराध संहिता ऐनले जन्मकैद हुनेसम्मको व्यवस्था गरेको छ । डाक्टरहरुले भने यो व्यवस्थाप्रति असहमति जनाएका छन् । 

ऐनमा कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा ज्यान मारे सरह सजाय हुने उल्लेख छ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि सजाय हुने उल्लेख छ ।

यस्तो औषधि खान सिफारिस गर्नेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ । त्यस्तै कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नेलाई र त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्ने र गराउनेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ ।

यस्तै लापरबाही र हेलचेक्रयाइँ गरेर कसैको उपचार गर्दा ज्यान गए वा अंगभंग भए सजायको व्यवस्था गरिएको छ ।

लापरबाहीबाट ज्यान गएमा वा कसैको अंगभंग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ भने हेलचेक्रयाइँबाट यसो हुन गएमा तीन वर्षसम्म कैद २० हजार रुपैयाँसम्म जरिवाना हुने भनिएको छ ।

त्यस्तै मञ्जुरीबिना मानव शरीर परीक्षण गर्ने चिकित्सकलाई पनि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था नयाँ ऐनमा छ ।
नयाँ व्यवस्था अनुसार रगत, खकार, पिसाब इत्यादिको प्याथोलोजिकल परीक्षण गर्दा झूटो विवरण दिने चिकित्सक वा स्वास्थ्यकर्मीलाई ३ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।

यस्तो झूटा विवरणका आधारमा औषधि खाँदा कसैको ज्यान गएमा  सम्बन्धित डाक्टर वा स्वास्थ्यकर्मीलाई जन्मकैदकै सजाय हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया