शिक्षा कार्यालयकै कर्मचारीको मिलेमतोमा धनुषामा गैरकानुनी रुपमा निजी विद्यालय सञ्चालनमा

 भदौ १, २०७५ शुक्रबार ११:०:४२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा जिल्ला शिक्षा कार्यालयको अनुमति नै नलिएका एक सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्ला शिक्षा कार्यालय धनुषाका कर्मचारीहरुको मिलेमतोमा फर्जी पत्र खडा गरी यी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।
 
एक कक्षाको पनि अनुमति नलिएको विद्यालयमा कक्षा १० सम्म पढाई भैरहेको छ । तर पनि सम्बन्धित निकायको कुनै चासो छैन । 

जनकपुर उपमहानगरपालिका वडा नं. ४ मुरलीचोकमा रहेको एजुकेशन प्वाइन्ट एकेडमी दर्ता नै नभई कक्षा १० सम्म सञ्चालित निजी विद्यालय हो । ८ सय विद्यार्थी अध्ययन गर्ने यो विद्यालयले अनुमति नै नलिई पठन पाठन सञ्चालन गरिरहेको भेटिएपछि एकवर्ष अघि नै बन्द गर्न पत्राचार गरिएको थियो । 

जनकपुर उपमहानगरपालिका वडा नं. ७ को शुभतारा आवासीय माध्यमिक विद्यालय पनि अनुमति बिना नै सञ्चालनमा छ । अनुमति नै नलिई १० कक्षासम्मको पठन पाठन भइरहेको भन्दै एकवर्ष अघि अनुगमन समितिले विद्यालयलाई बन्द गर्न पत्राचार गरेको थियो । तर अहिसम्म बन्द भएको छैन ।

जनकपुरको एजुकेशन प्वाइन्ट एकेडमी र शुभतारा उदाहरण मात्र हुन् । यस्ता दर्जनौँ विद्यालय जिल्लाभित्रै गैरकानुनी रुपमा सञ्चालनमा छन् । जनकपुर उपमहानगरपालिका ७ मा रहेको न्यू ज्ञान मन्दिर बोर्डिंग स्कुल र स्टार इंगलिश बोर्डिंग स्कुल, जनकपुर ८ मा सञ्चालनमा रहेको नेशनल पब्लिक स्कुल, जनकपुर १३ मा रहेको ह्वाइट हाउस इंगलिश बोर्डिङ स्कुललगायत जनकपुरका एक दर्जन विद्यालयसँग विद्यालय सञ्चालनको अनुमति नभएपछि अनुगमन समितिले एकवर्ष अघि बन्द गर्न पत्र नै काटेको थियो । अहिले पनि यी विद्यालयहरु सञ्चालनमै छन् । तर सम्बन्धित निकायबाट केही कारबाही भएको छैन ।

निजी विद्यालहरु अनुगमन गर्न २०७४ असार २३ गते धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मिहीलाल यादवको संयोजकत्वमा ७ सदस्य अनुगमन टोली गठन भएको थियो । टोलीले २०७४ असार २५ गतेदेखि साउन १ गतेसम्म जनकपुर श्रोतकेन्द्र अन्तर्गत रहेको ३७ वटा विद्यालयमा अनुगमन गर्दा १२ वटा निजी विद्यालयसंग कुनै कागजात नरहेकाले पूर्ण रुपमा बन्द गर्न र २१ वटा विद्यालयको कागजात शंकास्पद देखिएकाले छानविन गरी कानुनी कारबाही गर्न सिफारिस गरेको थियो । जसमा पूर्ण रुपले बन्द गर्न जिल्ला शिक्षा कार्यालयबाट १२ वटा विद्यालयलाई पत्र पनि पठाएको थियो ।

अनुगमनकै क्रममा गैरकानुनी रुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही गर्ने विषयमा समान्य विवाद हुँदा जिल्ला शिक्षा कार्यालयका नायब सुब्बा अनिलकुमार राय सहायक जिल्ला शिक्षा अधिकारी एवं अनुगमन टोलीका संयोजक मिहीलाल यादवलाई तथानाम गाली गर्दै चप्पलले कुटपीट गरेपछि अनुगमन एवं कारबाहीको काम रोकिएको थियो । 

रकमको चलखेल गरी फर्जी अनुमति पत्र प्रदान गरेको शिक्षा कार्यालयका कर्मचारीहरुले आफ्नो पोल खुल्ने डरले षड्यन्त्रपूर्वक अनुगमनको काम भाँडेको अनुगमन टोलीका सदस्यहरु बताउँछन् ।
  
धनुषा जिल्ला भित्र झण्डै एक सयभन्दा बढी विद्यालयहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेको छ । विगतका अनुगमन समितका सदस्य समेत रहनु भएका प्याब्सन धनुषाका अध्यक्ष विश्वलाल सिंहले राम्ररी अनुगमन भए धनुषाको ५० प्रतिशत निजी विद्यालय बन्द हुने दावी गर्नुभयो । उहाँले शिक्षा कार्यालयकै केही कर्मचारीहरु रकमको चलखेल गरी फर्जी अनुमति तयार गरेर त्यस्ता विद्यालयहरुलाई सञ्चालनमा आउन दिएको र ती कर्मचारीहरुले अनुगमनलाई रोकेको बताउनुभयो । 

यस्तै एनप्याब्सन धनुषाका अध्यक्ष तथा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समन्वय समितिको सदस्य चन्द्रनारायण मण्डलले शिक्षा क्षेत्रलाई सिस्टममा ल्याउन पहल गर्ने बताउनुभयो । विगतमा अनुगमन बन्द हुँदा र गैरकानुनी रुपमा सञ्चालित निजी विद्यालयलाई कारबाही नहुँदा गाउँ–गाउँमा च्याउ उम्रे जस्तै निजी विद्यालयहरु सञ्चालन भएको उहाँले बताउनुभयो । 

स्थानीय निकायबाट समेत अनुमति नलिइ निजी विद्यालयले भौतिक पूर्वाधारको समेत व्यवस्था नगरी जस्ताको छानामुनि र सानोकोठामा कोचिएर विद्यार्थी राखेर पढाउने गरेका छन् । 

जनकपुर उपमहानगरपालिका भित्र सञ्चालित मापदण्ड विपरीतका निजी विद्यालय माथि आगामी दिनमा कडाइ गर्ने मेयर लालकिशोर साहले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘भोलिका दिनमा स्थानीय सरकाले गर्ने निर्णयहरुमा शिक्षा क्षेत्रका विकृतिहरुलाई हटाएर सुधार गर्दै जाने नियम बनाउने हाम्रो अठोट छ ।’  
 
विगतमा अनुगमको काम किन रोकियो र यस्ता विद्यालयहरुमाथि किन कारबाही भएन भन्ने विषयमा धनुषाको सहायक शिक्षा अधिकारी मिहीलाल यादवले शिक्षा कार्यालयका केही कर्मचारीहरुकै षड्यन्त्रको कारण अनुगमन रोकिएको बताउनुभयो ।

अहिले जिल्ला शिक्षा कार्यालय शिक्षा अधिकारी विहीन छ । त्यसैले अहिलेको निमित शिक्षा अधिकारी यादव नै हुनुहुन्छ । तर आफूले अख्तियारी नपाएको कारण अनुगन गर्न नमिल्ने सहायक शिक्षा अधिकारी यादवको भनाइ छ । उहाँका अनुसार धनुषा जिल्ला भरि अहिले झण्डै साढे तीन सय निजी विद्यालय छन् । जसमा झण्डै एक सय विद्यालय शिक्षा कार्यालयकै कर्मचारीको फर्जी कागजातको भरमा चलेको सहायक शिक्षा अधिकारी यादवको भनाइ छ ।

यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफू भर्खर आएकाले सारेकारवालाहरुसँग छलफल गरी समस्याको पहिचान गरेर त्यस्ता निजी विद्यालयलाई कारबाही गर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया