भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली प्रस्थान

 भदौ १, २०७५ शुक्रबार १२:५८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतीय पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली जानुभएको छ । 

बाजपेयीप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली शुक्रबार बिहान त्यसतर्फ जानुभएको हो । बिहान ९ः५५ बजेको जेट एयरवेजको उडानबाट ज्ञवाली दिल्ली जानुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यस्तै भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न नेपाली कांग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि  परराष्ट्रमन्त्री ज्ञवालीसँगै दिल्ली जानुभएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले बाजपेयीको अन्त्येष्टि समारोहमा सहभागी हुन पार्टीका तर्फबाट उपसभापति निधिलाई नयाँ दिल्ली पठाउनुभएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

तीन पटक भारतका प्रधानमन्त्री बनेका अटल बिहारी वाजपेयीको शुक्रबार साँझ भारतीय समयअनुसार चार बजे गरिने भएको छ ।

बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ९३ वर्षको उमेरमा वाजपेयीको निधन भएको थियो । उहाँको निधनमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । दिल्लीसमेत मध्यप्रदेश, बिहार, झारखण्ड, पञ्जाबलगायतका राज्यका सरकारी विद्यालय तथा क्याम्पसमा बिदा दिइएको छ ।

दिउँसो एक बजेदेखि बीजेपीको मुख्यालयबाट वाजपेयी अन्तिम यात्रा निकालिने बीबीसीले जनाएको छ । त्यसपछि राजघाटमा महात्मा गान्धीको स्मृतिस्थलनजिकै वाजपेयीको अन्तिम संस्कार गरिनेछ । 

प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय वाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेताका रुपमा स्मरण गर्नुभएको छ । 

सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय वाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया