सल्यानी खुकुरीकाे माग बढ्याे, अर्डर गरेको एक हप्तामा पनि पाउनै मुस्किल

 भदौ १, २०७५ शुक्रबार १४:२३:१२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ । 

सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्याधिक बढेपछि पु¥याउनै मुस्किल भएको छ । 

सल्यानी खुकुरी उपहार स्वरुप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्ने जस्ता कारणले पनि सल्यानी खुकुरीको माग बढ्दै गएको हो । 

सल्यानी खुकुरी उपहारको रुपमा लिने प्रचलन बढेकोले पुर्‍याउनै धौधौ छ,’ खुकुरी उद्यमी विष्णु विश्वकर्माले भन्नुभयो ‘अहिले त नेपालमा मात्रै नभएर विदेशमा समेत उपहारको रुपमा पठाउने प्रचलन बढेको छ ।’

सल्यानको शारदा नगरपालिका २ खलंगामा रहेको विश्वकर्मा टोलमा रहेका १० परिवार मध्ये ६ परिवारले पुख्र्यौली खुकुरी बनाउने पेशा अंगालीरहेका छन् । 

आफुहरुले विभिन्न प्रकारका खुकुरीका साथै खुँडा, चक्कु, चुलेसी लगायतका समाग्रीहरु समेत बनाउने गरेको स्थानिय जुद्ध बहादुर विकले बताउनुभयो ।

सशस्त्रद्धन्दको समयमा खुकुरी बनाउने पेशा बन्द नै भएपनि शान्तिप्रक्रिया शुरुभएसँगै यो पेशाको पुनः शुरुवात गरिएको उहाँले बताउनुभयो । 

आफुहरुसँग अहिले सल्यानी खुकरी, सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्री, जीडव्लु खुकुरी, डव्लूडव्लू वान, डव्लूडव्लू टु जस्ता एकदर्जन खुकुरी बनाउने सीप भएको उहाँले बताउनुभयो ।

माग बढ्यो युवाहरुको आकर्षण बढेन 

खुकुरीको माग अत्याधिक बढेपनि युवा पुस्ताको आकर्षण बढ्न नसक्दा यो पेशा संकटमा पर्न सक्ने देखिएको छ ।

विश्वकर्मा टोलमा रहेका युवाहरु अन्य पेशामा जान थालेको र अन्य समुदायका मानिसहरु समेत यस पेशामा नआएकोले यो पेशा संकटमा पर्न सक्ने देखिएको स्थानीय जुद्ध बहादुर विकले बताउनुभयो । 

विकले भन्नुभयो हामी जीवनभर यहि काम गरीरहेकाहरु बुढो भैसक्यौँ, अब पछाडिकाले यो पेशा रोजेनन्, हामीसँगै यो पेशा पनि हराउने पो हो कि भन्ने चिन्ता छ । 

खुकुरी अर्डर गरेको एक हप्तामा पनि पाउनै मुस्किल 

अहिले खुकुरीको माग अत्याधिक आउने तर माग अनुसारको पूर्ति गर्न नसकेको खुकुरी उद्यमी इन्द्र विकले बताउनुभयो ।

‘माग धेरै आउछ हामीले माग अनुसारको नै आपूर्ती गर्न सकेका छैनौँ, बिहान आरनमा बसेपछि साँझ निस्कन्छौ, अहिले माग धेरै भयो, तर उत्पादन भएन’ उहाँले भन्नुभयो । 

खुकुरी अर्डर गरेको कम्तीमा एक हप्तापछि मात्रै खुकुरी किन्न पाइन्छ उहाँले थप्नुभयो माग अनुसार उत्पादन गर्ने जनशक्ति नहुँदा समस्या छ । 

खुकुरी बनाएर उनिहरुले सबै खर्च कटाएर मासिक २५ हजार सम्म कमाउदैँ आएका छन् ।

तर पनि आबश्यक जनशक्ति नहुनु, विद्युतको समस्या, कोईला नपाईनु जस्ता समस्याका कारण पनि प्रयाप्त मात्रामा उत्पादन गर्न नसकिएको बिकले बताउनुभयो । 

उहाँका अनुसार सल्यानी खुकुरी देशभित्र काठमाडौं, पोखरा, बुटवल तथा देशबाहिर अमेरिका, अस्ट्रेलिया, युरोप, जापान लगायत देशमा उपहारका रूपमा पठाउने गरिएको छ ।

एक अंगुल बराबरको एक सय रुपैयामा बेच्ने गरेको खुकुरी अहिले सल्यानको चिनारीका रुपमा जाने गरेको छ । शुरुमा ५ वटा खुकुरी  उद्योग  संचालन भएपनि ति मध्ये अहिले दुईवटा बन्द भईसकेका छन् भने तीनवटा मात्रै संचालनमा छन । 

सल्यानी खुकुरी उद्योगहरुमा पहिले बन्दुकसमेत निर्माण गर्ने गरिन्थ्यो तर हाल यो काम भने बन्द गरिएको छ । खुकुरीको बढी माग सेनाका ब्यारेकहरुबाट आउने गरेको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • BirbalKc

    Aug. 17, 2018, 2:33 p.m.

    I live in chandigarh sectar 35 a house nombar 405

  •  0 Reply

तपाईको प्रतिक्रिया