आफूलाई धोका दिन लागेको भन्दै प्रेमिकाको विभत्स हत्या

 भदौ १, २०७५ शुक्रबार १४:३८:३३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । 

ग्रामथान गाउँपालिका –३, सिद्राहामा दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । 

हत्यापछि भाग्दै गरेका दिनेशलाई स्थानीयले प्रहरीलाई बुझाएका थिए । नियन्त्रणमा लिने क्रममा उनैले बोकेको छुरीले उनकै हातमा लागेर उनको हातमा सानो चोट लागेको  प्रहरीले जनाएको छ ।

विराटनगर १३ घर भएका उनीहरुबीच बिहान करिब १० बजे तिर  विवाद भएकोमा दिनेशले शिखालाई धारिलो हतियार प्रहार गरी हत्या गरेकोमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताउनुभयो ।

उहाँका अनुसार दुवैजना घुम्न जाने क्रममा को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।  त्यही क्रममा  हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन । उनीहरुबीच के सम्बन्ध थियो भन्ने बारेमा केही नखुलेको भए पनि प्रेमी–प्रेमिका भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  
 
प्रारम्भिक अनुसन्धानको क्रममा युवती एकहप्ता पछि अष्ट्रेलिया जाने तयारी रहेकोले प्रेमिकाले धोका दिने ठानेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

भट्टराईले प्रहरीलाई दिएको जानकारी अनुसार, ‘केही दिनदेखि शिखा अरु नै केटाहरुसँग लागेको थाहा पाएँ, त्यसपछि मौका छोपेर एकान्त ठाउमा लगेर हत्या गरेको हुँ ।’ युवतीको अनुहार, घाँटी, पेटमा दाउ प्रहार गरेर विभत्स हत्या गरिएको केसीले जानकारी दिनुभयो । युवतीको अनुहार चिन्न नसकिने अवस्थाको रहेको प्रहरीको भनाई छ।
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया