बेसीशहर चामे सडक अवरुद्ध, हिंडडुलका लागि बनाइयो वैकल्पिक बाटो

 भदौ १, २०७५ शुक्रबार १८:३८:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमालपारीको जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक गएको चार दिनदेखि अवरुद्ध छ । 

चामे र कोतो क्षेत्रको बीचमा पर्ने त्रिचुङगला गाउँ नजिकै पहिरो खस्दा सवारी आवतजावत गर्न सकिरहेका छैनन् । 

सम्बन्धीत निकायले बाटो पन्छाउने काम गरिरहेका छन् । तर सडकमा गाडी चल्न सकेका छैनन् । 

‘त्रिचुङ्गला गाउँ नजिकै पहिरो खसेको छ । सडक अवरुद्ध छ । सडक तल मस्र्याङ्दी बगेको छ । मस्र्याङ्दीको कटान छ । सडक खुलाउन समस्या भईरहेको छ । कमजोर भुसंरचना भएका कारण पानी पर्दा माथिबाट पहिरो खसिरहेको छ,’ स्थानीय सञ्चारकर्मी नेगम परियारले भन्नुभयो ।

पहिरोकै कारण सडकमा सवारी नचल्दा स्थानीयसँगै पर्यटकलाई आवतजावतमा समस्या भएको छ । पहिरोले बाटो अवरुद्ध हुँदा कोतो, थान्चोक, तिमाङका विद्यार्थीलाई पढ्नका लागि चामेमा रहेको लोकप्रिय माविमा आउन समस्या भएको छ ।

वैकल्पिक बाटो प्रयोग गरी विद्यालय जानुपर्दा समय बढि खर्च भएको विद्यार्थीहरु बताउँछन् । जोखिम भएका कारण प्रहरीले पहिरो खसेको बाटो भएर हिँड्डुल गर्न स्थानीयलाई रोकेको छ । 

बाटो अवरुद्ध भएसँगै बुधबार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा वैकल्पिक बाटो बनाइएको छ । 

विशेष गरी बर्खाको समयमा बाढीपहिरोका कारण बेसीशहर–चामे सडक अरुवद्ध भएसँगै स्थानीयलाई आवतजावत सजिलाे बनाउन वैकल्पिक बाटो बनाईएको हो । 

झण्डै ५ सय मिटरको वैकल्पिक बाटो बनाईएको पनि नेगमले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाटो जतिसक्दो चाडो खुलाउने तयारीमा जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी लागिपरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया