साप्ताहिक शेयर समीक्षा : शेयर बजारमा यो हप्ता के-के भयो ? नालीबेलीसहित

 भदौ १, २०७५ शुक्रबार २०:१७:५७ | ज्याेति दाहाल
unn.prixa.net

शेयरबजारमा यसहप्ता अलि बेग्लै चहलपहल देखियो | कारोबार रकम, कित्ता, कारोबार संख्यार कम्पनी सबै बढेको छ | गएको साताको तुलनामा नेप्से परिसूचक पनि बढेको छ | कारोबार रकम गएको हप्ता भन्दा ५६ दशमलब १ प्रतिशतले बढेको छ |

यस हप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ |

नेपाल लाइफ इन्सुरेन्स ७ करोड ८४ लाख रुपैयाँ कारोबार भएर पहिलो भएको छ | १ लाख ७५ हजार कित्ता र १२ सय ६५ वटा कारोबारको आधारमा मेगा बैंक र आरम्भ माइक्रोफाइनान्स पहिलो भएका छन् | रकमको आधारमा नेपाल लाइफपछि नबिल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकर नबिल बैंक (संस्थापक)क्रमशः रहेका छन् |

नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डबीच आएको विवादका कारण यस हप्ता पनि सूचीकरणको पर्खाइमा रहेका सिद्धार्थ बैंक, हिमालयन बैंक, सूर्योदय लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्सका बोनस शेयर सूचीकरण हुन सकेन | बोर्डले एक्सचेन्जको अधिकारमाथि हस्तक्षेप हुनेगरी विनियममा सूचीकरण र नवीकरण शूल्क आफैले तोकेपछि एक्सचेन्जले सूचीकरण विनियम लागू गरेको थिएन |

सूचीकरण विनियमावली पुनरावलोकन गर्न बोर्डसहमत भएर पछि हटेपछि एक्सचेन्जले साउन ३० गतेबाट सूचीकरण विनियमावली लागू गरेको छ | विनियम लागू भए पनि विनियम अनुसारको ढाँचामा कम्पनीले पुन: निवेदन दिनुपर्ने हुँदा सूचीकरणमा ढिलाई भएको बताइएको छ | एनएमबी बैंकको एफपीओ, एनएडीइप लघुवित्त लगायत कम्पनीका शेयर पनि सूचीकरणको पर्खाइमा रहेका छन् |

साताभरको नेप्से सूचक र नेप्से सूचकलाई प्रभाव पार्ने समूहको उतारचढाव निम्न बमोजिम रहेको छ |

पहिलो दिन आइतबार बजार बन्द हुँदा १६ अंकले घटेर ११ सय ६३ बिन्दुमा आइपुगेको सूचक दोश्रो दिन सोमबार बजार बन्द हुँदा बढेर ११ सय ७४ पुगेको थियो | त्यसपछिका दिनमा लगातार बढ्दै गएर अन्तिम दिन बिहीबार बजार बन्द हुँदा ४६दशमलब ३८अंकले बढेर १२ सय १० दशमलब ३२ अंकमा पुगेर बन्द भएको छ | अगिल्लो हप्ताको तुलनामा २९ दशमलब ६९अंकले बढेको छ |

समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक पहिलो दिन आइतबार घटेर बन्द भए पनि बाँकी सबै दिन बढेर अन्तिम दिन ४३ दशमलब ३७ अंकले बढेको छ भने अगिल्लो साताको तुलनामा ३१ दशमलब ५ अंकले बढेको छ | सबैभन्दा बढी पूँजी भएको कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य समूह पहिलो दिनको तुलनामा ४६ र अगिल्लो साताको तुलनामा २९ अंक बढेर बन्द भएको छ |

साताको पहिलो दिन नेपाल लाइफ इन्सुरेन्सको घटेर कारोबार भएको हुँदा सूचक धेरै झरेको थियो | यस कम्पनीको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन भएको हुँदा बजारमा 'ओभर सप्लाई' हुने र मुल्य अझ घट्न सक्ने मनोविज्ञानले पहिलो दिन अधिक कारोबार घटेर भएको थियो |

यस हप्ता शेयर कारोबार ५ दिन पूरै खुलेको थियो |

सरकारले लाभकर गणना विधिको निर्णय गर्न अझसम्म सकेको छैन | यसको अन्योल कहिलेसम्म कायम रहने हो भन्न सकिने अवस्था रहेको छैन |

आर्थिक वर्ष समाप्त भएको १ महिना बितिसकेको छ | सूचिकृत अधिकांश कम्पनीले वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेका छन् |

चालु हकप्रदसम्बन्धी विवरण

लाभांश घोषणा

लाभांश घोषणा गर्ने काम सुरु भएको छ | ङादी ग्रुप पावर कम्पनी साधारणसभा आह्वान गर्ने पहिलो भएको छ | कम्पनीले भाद्र २७ गते साधारणसभा गर्ने मिति घोषणा गरेको छ | साधारणसभा प्रयोजनको लागि कम्पनीले भाद्र १४ गते बुक क्लोज गर्ने भएको छ |

भाद्र १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जबाट शेयर किन्नेले साधारणसभामा भाग लिन र नगद लाभांश पाउनेछन् | सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम म्युचुअल फण्डले भाद्र ४ गते इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ | भाद्र ३ गतेसम्म इकाई किन्नेले मात्र लाभांश पाउनेछन् |

आउँदो २०७६ साल श्रावण ६ गते यसको अवधि समाप्त हुने हुँदा वार्षिक लाभ पाउने यो अन्तिम वर्ष हो | आउँदो साउनमा परिपक्व भएपछि योजना व्यवस्थापकले कोषका सम्पत्ति बिक्री गरी मूलधनसहित रकम फिर्ता गर्नेछ | म्युचुअल फण्डसम्बन्धी कानुन आएपछि सञ्चालनमा आएको यो तेस्रो कोष हो |

यस अघि सिद्धार्थ बैंकले नै प्रवर्द्धन गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ नामक कोषको अवधि समाप्त भइसकेको छ र हालै नबिल बैंकको प्रवर्द्धकत्वमा रहेको नबिल ब्यालेन्स फण्ड १ नामक कोषको पनि अवधि समाप्त भएको छ |

घोषणा भएका लाभांश

 

राजीनामा र  नियुक्ति

उन्नति लघुवित्तले केशवप्रसाद शर्मालाई बाँकी अवधिको लागि सञ्चालकमा मनोनयन गरेको छ | साविकका सञ्चालकको राजीनामापश्चात सञ्चालक पद रिक्त रहेको थियो | एनएलजी इन्सुरेन्सका सञ्चालक रमा राज्यलक्ष्मीदेवी पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ | ग्लोबल आईएमई बैंकलेले कृष्णप्रसाद शर्मालाई सञ्चालकमा मनोनयन गरेको छ |

छिमेक लघुवित्तको अध्यक्ष भुवनेश्वरी पन्तले दिएको राजीनामा स्वीकृत भएको भएको छ | सञ्चालक विश्वमित्र श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ त्यस्तै भुवनेश्वरी पन्तको स्थानमा बाँकी अवधिको लागि रेणु कार्कीलाई मनोनयन गरेको छ | पोखरा फाइनान्सको कम्पनी सचिवले दिएको राजीनामा स्वीकृत गरि प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई तोकिएको छ | 

साधारण/विशेष सभा

मल्टीपर्पर्पोज फाइनान्सले आगामी भाद्र ११ गते विशेष साधारणसभाको आव्हान गरेको छ | साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय राजबिराजमा हुनेछ | सभामा १९औँ वार्षिक साधारणसभाले पारित गरेको हकप्रदको अनुपातलाई सच्याउन लागेको बताएको छ | हकप्रदको अनुपात भने खुलाएको छैन | हकप्रदसम्बन्धी नखुलाउने कार्य धितोपत्र कानुन विपरीत हो | सभा प्रयोजनको लागि कम्पनीले भाद्र ४ गते बुक क्लोज तोकेको छ |

ग्रामिण विकास लघुवित्त (साविक नेपाल ग्रामीण विकास बैंक) ले आउँदे असोज ५ गते बुटवलमा विशेष सभा गर्ने घोषणा गरेको छ | सभामा हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव लैजाने भएको छ | हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड ५० लाख छ |  सभा प्रयोजनको लागि आउँदो भाद्र १८ गते बुक क्लोज गर्ने भएको छ | आर्थिक वर्ष २०७४/०७५ सम्ममा कम्पनी ३७ करोड घाटामा रहेको छ | साविकका ५ वटा ग्रामिण विकास बैंक गाभिएर यो संस्था बनेको हो |

अन्य गतिविधि

नेपाल लाइफ इन्सुरेन्सले संस्थापक र सर्वसाधारणतर्फको अनुपात परिवर्तन गरेको छ | साविकमा ७० प्रतिशत संस्थापकको अनुपात रहेकोमा संस्थापकले धारण गरेको शेयरलाई संस्थापकसँगै रहने गरि समानुपातिक रुपमा१० प्रतिशत शेयर साधारणमा रुपान्तरण गरेको छ |

पूर्णिमा विकास बैंकको अध्यक्ष निधानचन्द्र श्रेष्ठको निधन पश्चात अध्यक्ष पद रिक्त रहेको छ |

अपर तामाकोशी हाइड्रोपावरको काठमाडौंबाट आवेदन गर्ने म्याद भदौ १ बाट सकिएको छ | दोलखामा तोकिएका स्थानबाट भदौ १३ गतेसम्म आवेदन गर्न सकिन्छ | कम्पनीले स्थानीय दोलखावासीको लागि १ करोड ५ लाख ९० हजार कित्ता छुट्ट्याएको छ | कम्पनीले स्थानीयवासीको लागि शेयर बिक्री गरिरहेको छ | आयोजनाले वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष राखेको छ|

नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोषसम्बन्धी नियमको मस्यौदा सुझावको लागि सार्वजनिक गरेको छ | भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड सञ्चालन गर्ने प्रयोजनका लागि यो नियम बनेको हो |

शेयर बजार घटाएको र शेयर बजारलाई नहेरेको भनेर आलोचना खाइरहेका अर्थमन्त्री युवराज खतिवडाले बजेटमा यस्तो प्रस्ताव राखेपछि बोर्डले नियम बनाएको हो | 

अन्तिम अपडेट: फागुन ३०, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया