​वृद्धभत्ताबारे बोले अर्थमन्त्री : बुवाआमाले बुझ्नुस्, अब विरामी हुँदा घरमा थन्किनु पर्दैन

 जेठ १६, २०७५ बुधबार २०:३१:३३ | अर्जुन पोख्रेल

काठमाडौं, जेठ १६ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि तत्कालीन एमाले र माओवादी केन्द्रले जारी गरेको संयुक्त घोषणापत्रमा ५ वर्षभित्र सामाजिक सुरक्षा भत्ता ५ हजार रुपैयाँ पुर्‍याउने उल्लेख थियो । 

वाम गठबन्धनले बहुमत ल्याएपछि सबै वृद्धवृद्धा र सामाजिक सुरक्षा भत्ता पाउने वर्गले भत्ता ५ हजार पुगिहाल्ने भयो भन्ने सोचेका थिए । तर मंगलबार जारी भएको आगामी वर्षको बजेटमा १ रुपैयाँ पनि वृद्धभत्ता बढेन बरु ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको एक लाख रुपैयाँसम्मको  स्वास्थ्य बीमांक रकमको बीमा शुल्क सरकारले बेहोर्ने र राज्यसँगै सन्तानले पनि अनिवार्य हेरचाह गर्ने कानुन बनाइने उल्लेख भयो । 

वृद्धभत्ता नबढेपछि सामाजिक सञ्जालसहित प्रतिपक्षी नेपाली कांग्रेसले आफैले घोषणा गरेको कुरा पनि पूरा गर्न नसक्ने सरकार भनेर आलोचना गरे । आफ्नै बुहमतमा हुँदा पनि घोषणापत्रमा भएको कुरा पूरा नगर्ने सरकारले अरु काम पनि गर्न सक्दैन भन्दै आलोचना भयो । 

तर यसबारेमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भने सरकारले घोषणापत्रमा उल्लेख गरेअनुसारकै योजना बनाएको दावी गर्नुभएको छ । उहाँले वृद्धभत्ता भन्दा धेरै लाभ मिल्नेगरी स्वास्थ्य विमा सुविधा ल्याएको दावी गर्नुभयो । ‘ज्येष्ठ नागरिकलाई ५ वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्‍याउने भनेर राम्रोसँग त्यहाँ लेखिएको छ, युवराज खतिवडा आफै घोषणापत्र बनाउने काममा सहभागी थियो, त्यसैले यसलाई कसैले गलत अर्थ लगाउने चान्स नै छैन’ पत्रकार सम्मेलनमा डाक्टर खतिवडाले भन्नुभयो, ‘मैले त्यै बेलादेखि सामाजिक सुरक्षाका विभिन्न स्किम हुन्छन्,भत्ता दिने एउटा हो, बीमा गर्ने अर्को हो, आवास दिने अर्को हो, अहिले हामी बीमाको स्किमबाट अघि बढ्न थालेका छौं, भोली आवास पनि जान्छौँ ।’

उहाँले आवास र स्वास्थ्य बीमाको सुविधा भत्ता बढाए भन्दा पनि राम्रो योजना भएको दावी गर्नुभयो । ‘एक लाख रुपैयाँको स्वास्थ्य बीमा गर्दाखेरी कमसेकम ६/७ हजार त पर्दो रहेछ नै, भनेपछि हामीले ५ हजार भत्ता भनेका थियौं, ६ हजार उपचार खर्चमा बेहोर्‍यौँ भने ५ सय वा हजार रुपैयाँ त उल्टो फाइदा नै भयो नि’ खतिवडाले भन्नुभयो, ‘वृद्धवृद्धाको सबैभन्दा धेरै खर्च हुने स्वास्थ्यमा हो, त्यो हामीले बेहोर्ने भयाैँ, खानामा त कति पो खर्च हुन्छ र, अब बुवाआमाले बुझ्नुपर्‍यो कि अब तपाईँहरु विरामी हुँदा छोराछोरीले पैसा छैन भनेर बस्दैनन्, अस्पताल लगेपछि पैसा राज्यले बेहोर्छ, यसरी बुझिदिनुहोला ।’

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया